arrow

झलनाथ खनाल, सुवास नेम्बाङ र केवी गुरुङको इलाममा गुट गुटको तानातान , उम्मेदवार चेपुवामा

सबै नगर र गाउँपालिकामा काँग्रेस र एमाले बीचमै मूल भीडन्त

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
four_party.jpeg

इलाम । दुई दशक पछि हुन लागेको स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै इलाममा पनि चुनावी सरगर्मी बढेको छ । काँग्रेस तथा एमालेमा केन्द्रीय राजनीतिमा समेत दख्खल राख्ने नेताहरु इलाम जिल्लाका भएका कारण समेत चुनावी माहोल तातिएकाे हाे ।

केन्द्रीय नेताहरुकै प्रभावले जिल्लामा समेत गुट उपगुटमा स्थानीय नेताहरु बाँडिएका छन् । ४ वटा नगरपालिकाको मेयर तथा ६ वटा गाउँपालिकामा प्रमुखमा दावी गर्नेहरुकाे भीड छ । काँग्रेसका केन्द्रीय नेता कुल बहादुर (केवी)गुरुङले आफ्ना कार्यकर्तालाई स्थानीय तहको टिकट दिलाउन कम चासो दिएको बताइएको छ । यद्यपि, जिल्लामा रहेका विभिन्न गुटमा भने आफ्नो गुटका स्थानीय तहका नेतालाई टिकट दिलाउन जिल्ला तहका नेताहरु मरि मेटेर लागेका छन् ।

काम गर्न सक्ने, पार्टीप्रति वफादार र स्थानीयस्तरमा विश्वास जित्न सक्ने भन्दा पनि गुटका नेताहरुलाई तल्लो तहबाटनै सिफारिस गर्न सबैतिर नेताहरुले दबाब दिएका कारण समेत वडाहरुमा स्वतन्त्र सिफारिस गर्न नपाएको गुनासो बढेको छ । वडाहरुमा अनावश्यक दबाब दिएका कारण सिफारिसमा कतिपय पपुलर   नेताहरु ओझेलमा पर्ने देखिएको काँग्रेसका स्थानीय एक नेताले बताए । यस्तो स्थिति आए चुनावमा पार्टीलाई नाेक्सानी हुने अड्कल काटिदै छ ।

एमालेभित्र पनि इलाम जिल्लाभरीका ४ नगरपालिका तथा ६ गाउँपालिकामा गुट गुटका नेताहरुले नै टिकट पाउने देखिएकाे छ । पार्टीकाे अध्यक्ष र प्रधानमन्त्री समेत भइसकेका झलनाथ खनाल र सभामुख एवं संविधान सभाको अध्यक्ष समेत भइसकेका सुवासचन्द्र नेम्वाङबीचमा समेत आफू नजिकका स्थानीय नेतालाई टिकट दिलाउन होडवाजी नै चलेको एक नेताले बताए । जसका लागि उनीहरु आफ्ना गुटका उम्मेदवारलाई वडाहरुबाट सिफारिस गराउन लागि परेका छन् ।
चार नगरपालिकामा काँग्रेसका को-को ?
इलाम नगरपालिकामा कांग्रेसबाट मेयरमा जिल्ला पार्टी सभापतिमा हिमालय कर्माचार्य नै उठ्ने सम्भावना छ । उनीसँगै महासमिति सदस्यहरु केदार थापा, खगेन्द्र देवान, राजेन्द्र शर्मा र विष्णु लिम्बू उठ्ने चर्चा चलेपनि पार्टी सभापति कै नाममा सहमति हुनसक्ने देखिएको छ । इलाम नगरपालिका काँग्रेसको पकड भएको ठाउँ हो ।

देउमाई नगरपालिकामा मेयरकाे दावीमा मुख्य रुपमा पूर्व पार्टी जिल्ला सचिव होम दुलाल, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोविन्द गिरी तथा जिल्ला सदस्य मेघ प्रसाद चम्लागाईको दावी छ । सुर्योदय नगरपालिकाको मेयरका लागि दुर्गा बराल, प्रेम चाम्लिङ र मिलन क्षत्रीको चर्चा बढी छ । यस्तै, माई नगरपालिकामा जिल्ला कोषाध्यक्ष विष्णु कार्की तथा कृष्ण खाकीको नाम चर्चामा छ । कार्की युवा नेता हुन् भने खाकी पुराना नेता हुन् ।
एमालेका को-को चर्चामा इलाममा चार नगरपालिकामा ?
इलाम नगरपालिकामा २०५४ सालमा जितेका पूर्व मेयर महेश बस्नेतको नै बढी चर्चा छ । उनी एमालेका जिल्ला सचिव पनि हुन् । उनी राजनीतिक रुपमा सुवासचन्द्र नेम्वाङसग नजिक छन् । उनीसँगै कृष्ण श्रेष्ठ, धिरेन चेम्जुङ र गणेश राईको समेत कार्यकर्ता बीचमा चर्चा छ । तर, निर्णय नभए पनि महेश बस्नेतको नाममा सर्वसम्मत हुने बताइएको छ । 

देउमाई नगरपालिकामा एमाले जिल्ला अध्यक्ष राम रानाको नाम बढी सुनिदै छ । उनीसँगै सूर्य पोख्रेल र गणेश बरालको नाम पनि उतिकै चर्चामा छ । अध्यक्ष राम रानाले चासो नदेखाएकले सूर्य प्रोख्रेल नै देउमाईको मेयरको टिकट पाउने निश्चित प्राय: रहेकाे एमालेका एक नेताले बताएका छन् ।

सूर्योदय नगरपालिकाको मेयरमा भने म्यानपावर व्यवसायी आरबी राईको नाम नै बढी चर्चामा छ । उनी झलनाथ खनालमा नजिकका विश्वासिला पात्र हुन् । उनी अधिकाशं समय काठमाडौं बस्ने गरेकै कारण  उनीसँगै चर्चामा रहेका क्षेत्र १ का अध्यक्ष काजिमान कागतेको नाम अगाडि छ । सम्भवत कागतेले मेयरको टिकटको बाजी मार्ने आंकलन गरिएको छ । माई नगरपालिकाको मेयरका लागि एमालेबाट रत्न अधिकारीको बढी चर्चा छ भने उनीसँगै दिपक थेबे, धुब्र श्रेष्ठ तथा मेघनाथ गिरी र मुखराज आङदम्बेको समेत चर्चा भइरहेको छ ।
माओवादीबाट को-को छन त चर्चामा ?
इलाम नगरपालिकाको मेयरमा माओवादी केन्द्रका नगर इन्चार्ज प्रभाष शर्मा र कार्यालय सचिव जीवन शर्माको बढी चर्चा छ । देउमाई नगरपालिकामा राम राईको चर्चा छ भने माई नगरपालिकामा मेयरका लागि भक्त लुङ्गेली र उर्मिला तामाङकाे चर्चा चलिरहेकाे छ ।
६ वटा गाउँपालिकामा कुन-कुन पार्टीका क-कसको छ दावी ?
माङ्सेबुङमा नेपाली काँग्रेसबाट डिकेन्द्र इन्दिङ्गोको नाम मात्र सिफारिस भएर आएको छ,भने एमालेबाट हेमन्त राई बढी चर्चामा छन् । उनीसँगै एमालेबाट पूर्ण बस्नेत, किरण राईको नाममा समेत चर्चा छ ।  चुलाचुलीमा काँग्रेसबाट अध्यक्षको दावी गर्नेहरुमा गणेश फागो र राजेन्द्र केरुङको नाम छ । एमालेबाट ओमनारायण खनाल र प्रदिप चन्द्र राईको नाम चर्चामा छ । फाकफोकथुममा काँग्रेसबाट रामकुमार श्रेष्ठ र केवी समालले दावी गरिरहेका छन् । एमालेबाट दिपेन्द्र खनाल, देबेन्द्र रेग्मी, प्रेम लिम्बू र नरेन्द्र केरुङ नाम चर्चामा छ । माईजोगमाई गाउँपालिकामा काँग्रेसबाट सिटी शेर्पा र रमेश सुवेदी नाम सिफारिस भएर आएको छ । एमालेबाट जीत बहादुर राई, याम सुवेदी  र शिखर सापकोटाको नाम चर्चामा छ ।

रोङ गाउँपालिकामा शमशेर राई र लक्ष्मीकान्त घिमिरेको नाम चर्चामा छ । एमालेबाट मेहेरमान तामाङ, बुद्ध ढकाल, बृहस्पति खतिवडाको नाम चर्चामा छ। सन्दकपुर गाउँपालिकामा धनबहादुर खाम्वाङ, देबेन्द्र सुवेदी, तुलाराम गुरुङ चर्चामा छन् । एमालेबाट मेयरको लागि उदय राई र उमेश गुरुङको नाम बढी सुनिएको छ ।
मतदाता र निर्वाचन केन्द्र
इलाममा एक लाख ९३ हजार ६ सय ४० मतदाता रहेका छन् । हाल तीन वटा निर्वाचन क्षेत्र रहेको इलाममा संविधानसभाको निर्वाचनमा दुई वटा क्षेत्रमा एमाले र एउटामा काँग्रेस विजयी भएको थियो । स्थानीय निर्वाचनमा इलाम जिल्लाभरीमा १४४ निर्वाचन केन्द्र तोकिएको छ । जसमध्ये इलाम नगरपालिकामा २४ वटा, सूर्योदय नगरपालिकामा २१ वटा, माई नगरपालिकामा ११ वटा र देउमाई नगरपालिकामा १८ वटा मतदानस्थल निर्धारण गरिएको छ । 

गाउँपालिकातर्फ चुलाचुलीमा ९ वटा,  फाकफोकथुममा १४ वटा, रोङ गाउँपालिकामा १३ वटा, माङसेबुङ गाउँपालिकामा १० वटा, माइजोगमाई गाउँपालिकामा ११ वटा र सन्दकपुर गाउँपालिकामा १३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

चैतको पहिलो साता देखी नै केन्द्रीय नेताहरु समेत जिल्लामा पुगिरहेका छन् । कार्यकर्ता प्रशिक्षण भन्दै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शशांक कोइराला समेत इलाम पुगेका थिए भने एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ समेत जिल्लामा बाक्लै पुग्न थालेका छन् ।
मुख्य प्रतिश्पर्धा काँग्रेस र एमालेका उम्मेदवार कै हुने  
इलामको अधिकाशं नगरपालिका तथा गाउँपालिकामा काँग्रेस र एमालेका उम्मेदवारबीचमै मूल भीडन्त हुने देखिएकाे छ । अधिकाशंमा काँग्रेस एमालेपछि माओवादी केन्द्रले पछ्याउने अड्कल काटिँदै छ । राप्रपा र अन्य दलहरु भने उम्मेदवारी दिए पनि उल्लेख्य मत नल्याउने धेरैको अनुमान छ । इलाममा १५ वटा पार्टीले निर्वाचनमा भाग लिने निर्वाचन समितिले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ