arrow

जथाभावी बाटो काटे दुई सय जरिवाना, पैसा नभए रातभर कठघरामा बास

logo
प्रकाशित २०७४ वैशाख ४ सोमबार
Kathamndu_road_traffic.jpeg

काठमाडौं । काठमाडौंलाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारवाही गर्ने तयारी गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैशाखको अन्तिमदेखि यो नियम लागू गर्न लागेको हो । 

नियम उल्लंघन गर्ने पैदल यात्रुलाई पनि कारवाही गर्ने तयारी भइरहेको महाशाखाका डिआइजी मिङमार लामाले जानकारी दिए ।

जथाभावी बाटो प्रयोगले ४० प्रतिशतको मृत्यु

जथाभावी बाटो काट्दा सडक दुर्घटना बढी हुने गरेकोले यो नियम लागू गर्न लागिएको ट्राफिक प्रहरीको भनाइ छ ।

उपत्यकामा मोटरसाइकल र स्कुटी गरी ६ वर्षको अवधिमा १८ हजार ८ सय ९१ वटा दुर्घटना भएको छ । 

ती घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत जथाभावी बाटो प्रयोग गर्ने रहेको डिआइजी लामाले बताए ।

उल्लंघन गर्नेलाई दुईसय जरिवाना

नयाँ नियम लागू भएपछि अब पैदल यात्रुले निर्धारित ठाउँबाट मात्र हिँड्नु पर्ने हुन्छ । 

अबदेखि जेब्राको प्रयोग, ओभरहेड तथा तोकिएको बाटोबाट मात्र पैदल यात्रुले हिँड्नु पर्छ । सो नियम उल्लंघन गर्ने पैदल यात्रुलाई पनि कारवाही हुने ट्राफिक प्रहरीले जनाएको छ ।

यो नियम उल्लंघन गर्ने पैदल यात्रुलाई दुई सय रुपैयाँ जरिवाना गरिने डिआइजी लामाले बताए ।

 ‘पैसा नभए उल्लंघनकर्ताले छुट भने पाउने छैनन्,’ उनले भने, ‘उनीहरु त्यसको साटो रातभरी प्रहरी कठघरामा बस्नुपर्ने हुन्छ ।’ (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ