arrow

परराष्ट्र नीति पुनरावलोकन गर्ने तयारी, सुझाव दिन कार्यदल गठन

logo
प्रकाशित २०७४ वैशाख ८ शुक्रबार
foreign-ministry.jpeg

काठमाडौं । बदलिँदो विश्व परिवेश सुहाउँदो गतिशील परराष्ट्र नीतिको दस्ताबेज तयार गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि ठोस सुझाव दिन सरकारले उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदल गठन गरेको छ । 

 

परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतको संयोजकत्वमा मन्त्रिपरिषद्द्वारा गत चैत २९ गते गठित सो कार्यदलमा उनीसहित अर्थ, कूटनीति, श्रम, कानुन, सुरक्षालगायतका विभिन्न क्षेत्रका १६ जना विज्ञ रहेका छन् ।   

 

नेपालको संविधानका निर्देशक सिद्धान्त तथा परराष्ट्र नीतिका आधारभूत मूल्य र मान्यताहरुलाई कायम राख्दै नेपालको सर्वाेपरी राष्ट्रिय हितलाई सम्बर्धन र प्रवद्र्धन गर्न गतिशील परराष्ट्र नीतिको दस्ताबेज तयार पारी कार्यान्वयनका लागि ठोस सुझाव दिने यसको कार्यादेश तोकिएको छ । 

 

नेपालको परराष्ट्र नीतिका निर्धारक तत्वहरुको बदलिँदो आयामको पहिचान गर्ने, सामन्जस्यपूर्ण र विस्तृत परराष्ट्र नीति एवम् छिमेक नीतिका लागि देशले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रुपमा अपनाउनुपर्ने प्राथमिकताहरु तय गर्ने तथा द्विपक्षीय, उपक्षेत्रीय, क्षेत्रीय एवम् बहुपक्षीय कूटनीति लगायत परराष्ट्र नीतिका विभिन्न आयामहरुका क्षेत्रगत नीतिहरुको पुनर्मूल्यांकन गर्ने कार्यादेश यस कार्यदलको रहेको छ । 

 

बिकास कूटनीतिलाई थप प्राथमिकता दिने, परराष्ट्र मन्त्रालय र विदेशस्थित नियोगहरुको संस्थागत सबलीकरण गर्न उपयुक्त उपायहरु सिफारिश गर्ने लगायतको कार्यादेश सो कार्यदलको रहेको छ ।

 

यसैगरी आर्थिक, सामरिक, रणनीतिक र नेपालको द्विपक्षीय कूटनीतिक, सांस्कृतिक र जनस्तरको समस्याका हिसाबले महत्वपूर्ण मित्र राष्ट्रहरुसँगको सम्बन्धका प्राथमिकता र कार्ययोजनासहित देशीय रणनीतिहरुको आवश्यकता पहिचान गर्नुपर्ने कार्यादेश मन्त्रिपरिषदले सो कार्यदललाई तोकेको छ ।   

 

सो कार्यदलमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार एवम् पूर्व राजदूत डा.ऋषिराज अधिकारी, पूर्वमन्त्री विद्याधर मल्लिक, पूर्व राजदूत एवम् अर्थविद् डा.शंकरप्रसाद शर्मा, अन्तर्राष्ट्रिय व्यापारविद डा.पोषराज पाण्डे, श्रम कूटनीति विज्ञ डा.गणेश गुरुङ, पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य, पूर्व राजदूत शम्भुराम सिम्खडा, पूर्व सचिव तथा कानुनबिद् मोहन बन्जाडे, अवकासप्राप्त रथि एवम् सुरक्षाविद् पवन बहादुर पाण्डे रहेका छन् । 

 

त्यसैगरी सो कार्यदलमा सुरक्षा तथा परराष्ट्रविद् प्रा.डा.श्रीधर कुमार खत्री, सुरक्षाविद् दीपकप्रकाश भट्ट, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक डा.इन्द्र कुमारी अधिकारी, नेपाल विश्व सम्बन्ध परिषदका प्रतिनिधि डा.राजेन्द्रबहादुर श्रेष्ठ, परराष्ट्रविद् निश्चलनाथ पाण्डे रहेका छन् । उक्त कार्यदलको सदस्य सचिवमा परराष्ट्र सचिव शंकरदाश बैरागी रहेका छन् । यस कार्यदलको अवधि चार महिनाको हुनेछ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ