arrow

ओली–मोदी टेलिफोन, मोदीको जवाफ: ‘आपूर्ति व्यवस्थामा भारतबाट कुनै रोकटोक छैन’

logo
प्रकाशित २०७२ पुष १६ बिहिबार
Modi-Oli.jpg.jpeg
काठमाडौं । अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार विहान भएको २० मिनेटको टेलिफोन वार्तामा भारतीय प्रधानमन्त्री मोदीले आपूर्ति व्यवस्थामा भारतबाट कुनै रोकटोक नभएको बताएका छन् ।   प्रधानमन्त्री ओलीले आपूर्ति व्यबस्था सहज नभएकोमा ध्यानाकर्षण गराउँदै रक्सौल–बीरगन्ज नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गर्दा मोदीले उक्त जवाफ दिएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मोदीले रक्सौल वीरगन्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलहरुले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असहज भएको उल्लेख गरेका छन् ।

टेलिफोन वार्तामा प्रधानमन्त्री मोदीले औषपधको अभाव भएकाबेला आफूले विदेशमन्त्री सुष्मा स्वराजलाई एयरलिफ्ट गरेर भएपनि औषधि आपूर्ति गर्न भनेको स्मरण गरेको विज्ञप्तिमा जनाइएको छ । वार्तामा प्रधानमन्त्री मोदीले छिट्टै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्विकार गरेको र परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका मागलाई सम्वोधन गरेर नेपाल सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारतले स्वागत गरेकोमा मोदीलाई धन्यवाद समेत दिएका थिए ।

प्रेस नोटको पूर्ण पाठ 
प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता 
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज विहिबार विहान १०.३५ बजे टेलिफोनमा संवाद भएको छ । करिव २० मिनेट भएको वार्तामा दुबै प्रधानमन्त्रीले अंग्रेजी नयाँ बर्ष २०१६ को शुभकामना आदानप्रदान गर्नुभयो ।  प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका मागलाई सम्वोधन गरेर नेपाल सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गर्नु भयो । 

नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर बनाउनेबारे समेत उहाँहरुबीच कुराकानी भयो । प्रधानमन्त्री ओलीले आफुले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतका प्रधानमन्त्रीलाई बताउनुभयो । 

प्रधानमन्त्री ओलीले आपूर्ति व्यबस्था सहज नभएकोमा  भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल–बीरगन्ज नाकाबाट आपूर्ति व्यबस्था सहज बनाउन आग्रह गर्नुभयो । जवाफमा प्रधानमन्त्री मोदीले आफु सदैब आपुर्ति व्यबस्था सहज होस भन्ने पक्षमा रहेको र त्यसका लागि भारतको तर्फबाट कुनै रोकटोक नभएको बताउनुभयो । 

भारतका प्रधानमन्त्री मोदीले रक्सौल बीरगन्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलहरुले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असजह भएको बताउनुभयो । प्रधानमन्त्री मोदीले औषधीको अभाव भएका बेला आफुले विदेशमन्त्री सुष्मा स्वराजलाई एयरलिफ्ट गरेर भएपनि औषधी आपूर्ति गर्न भनेको स्मरण गर्नुभयो । 

प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच द्धिपक्षीय हितका बिषयमा समेत कुराकानी भयो । प्रधानमन्त्री मोदीले छिटै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्विकार गर्नुभयो । छिटै परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । 

प्रमोद दाहाल
प्रेस सल्लाहकार
२०७२ पुष १६
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ