arrow

७ राजनीतिक दल एकै ठाउँमा : के पाक्यो खिचडी ?

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
seven_dal.jpg

काठमाडौं । प्रमुख सात राजनीतिक दल काँग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरमका शीर्ष नेताहरुको बैठकले दोस्रो चरणको निर्वाचन गर्ने विषयमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राजनीतिक सहमतिबाटै निष्कर्षमा पुग्नुपर्नेमा जोड दिँदै छलफललाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।

बैठकमा तराई–मधेशमा स्थानीय तहको संख्या थप, सरकारद्घारा संसदमा पेश गरेको संविधान संशोधन विद्येयक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन, बजेट लगायतका विषयमा छलफल भएको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो चरणको निर्वाचन सम्पन्न हुनु देशकै लागि गौरवका विषय भएको बताउँदै निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक दल र मतदातालाई धन्यवाद दिए ।

प्रधानमन्त्री दाहालले दोस्रो चरणको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनको प्रक्रियालाई पूर्णतामा लैजान राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिँदै दोस्रो चरणको निर्वाचन, तराई–मधेशमा स्थानीय तहको संख्या थप, संविधान संशोधन विद्येयक र बजेटबारे सहमति जुटाएर अघि बढ्न दलहरुलाई आग्रह गरे ।

संविधान कार्यान्वयन नै सबैभन्दा ठूलो एजेण्डा र जिम्मेवारी भएको कुरामा जोड दिँदै प्रधानमन्त्री दाहालले निर्वाचनको सहज वातावरणका लागि राजनीतिक दलहरुको एकता र सहकार्य आवश्यक भएकोमा जोड दिए ।

बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले र मधेश केन्द्रीत दलका नेताहरुले प्रधानमन्त्रीको प्रस्तावमाथि आ–आफ्ना धारणा राखे । प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधान एवं स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदार, एमाले उपाध्यक्षद्वव सुवास नेम्वाङ, भीम रावल, काँग्रेस नेता रामचन्द्र पौडेल, माओवादी नेता नारायणकाजी श्रेष्ठ, राप्रपा नेताहरु विक्रम पाण्डे, सुनिलबहादुर थापा, राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, संघीय समाजवादी फोरमका नेता अशोक कुमार राई लगायत सहभागि भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ