arrow

बिहेलगत्तै  ‘तलाक’, बेहुलासहित जन्ती स्थानीयको कब्जामा

logo
प्रकाशित २०७४ जेठ १२ शुक्रबार
Divorce-or-Dissolution.jpeg

काठमाडौं । बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक (सम्बन्ध–विच्छेद) दिएका छन् ।

भारतको बिहार बेतियानजिकै रहेको मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन् ।

मुस्लिम परम्पराअनुसार बुधबार राति निकाह (विवाह) सम्पन्न भइसकेपछि बिहीबार बिहान दुलाहाले दुलहीको अनुहार देखेपछि मन नपरेको भन्दै सबैको सामुन्नेमै तीन तलाक (मुस्लिम परम्पराअनुसार सम्बन्ध–विच्छेद) गरेका थिए । 

मुस्लिम समुदायमा तीनपटक तलाक भनेपछि सम्बन्ध–विच्छेद हुने धार्मिक कानुन छ । 

भारतमा सो कानुनलाई लिएर अहिले चर्को बहस भइरहेको छ ।

दुलाहासहित जन्ती गाउँलेको कब्जामा

विवाह गरिसकेपछि दुलही नलैजाने भनेपछि गाउँलेले भने दुलाहासहित जन्तीलाई मदरसाको कोठामा थुनेर राखेका छन् ।

केटी आफूलाई मन नपरेकाले बिहे गरे पनि घर नलैजाने निर्णयमा पुगेको दुलाहा रुस्तम आलमको भनाइ छ । 

जन्तीलाई स्थानीयले घेराउ गरेपछि भद्र–भलादमीले सार्वजनिक भेलाबाट केटा पक्षले लिएको दाइजोसहित विवाहको सम्पूर्ण खर्चबापत २ लाख ७५ हजार दिने सहमति गरेको प्रहरी चौकी गन्जभवानीपुरले जनाएको छ ।

केटाका अभिभावकले रकम नदिएसम्म केटी पक्षले दुलाहा, उनका भाइ र दुईवटा भारतीय गाडी नछाड्ने निर्णय गरेका छन् । 

बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले घटनाबारे आफूलाई कुनै जानकारी नआएको बताए । ‘केटा पक्ष वा केटी कसैले उजुरी गरेका छैनन् ।

मैले पनि पत्रकारहरूबाटै जानकारी पाएको हो,’ उनले भने, ‘उजुरी नआएपछि कारबाही गर्ने कुरा पनि भएन ।’ 

उनले स्थानीय प्रहरी चौकीलाई गाउँमा झैझगडा हुन नदिनु भनेर आफूले निर्देशन दिएको बताए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ