arrow

भरतपुर अस्पतालको गुरुयोजना मन्त्रालयबाट स्वीकृत

logo
प्रकाशित २०७४ जेठ २५ बिहिबार
bharatpur-aspatal-news.jpeg

चितवन। स्वास्थ्य मन्त्रालयले यहाँको भरतपुर अस्पताललाई शैक्षिक प्रतिष्ठानसँगै अति विशिष्ट सेवासहितको एक हजार शै्ययाको शिक्षण अस्पतालका रुपमा विकासका लागि प्रस्तावित गुरुयोजना स्वीकृत गरेको छ। गुरुयोजना स्वीकृत भएपछि अस्पताल सञ्चालक समिति, चिकित्सक, कर्मचारी र जिल्लावासी उत्साहित भएका छन्। देशकै मध्यभागमा रहेकाले तराई र पहाडका बासिन्दालाई स्वास्थ्य सेवा पुर्‍याउन यो अस्पताल प्रभावकारी हुने विश्वास लिइएको छ।

अस्पताल परिसरमा हाल दुईवटा ठूला भवन निर्माण भएको र तेस्रो भवन निर्माणका लागि सम्झौता हुने क्रममा छ। रु २४ करोडको लागतमा सो भवन निर्माण गर्न लागिएको हो। अस्पताल क्षेत्रभित्र टिनका छाना भएका पुराना भवनमा पनि बिरामी राखिएका छन्। तेस्रो भवन बनेसँगै अस्पतालमा दिइने सेवा भूकम्प प्रतिरोधी नयाँ भवनबाट दिइनेछ ।

अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार गुरुयोजनाअन्तर्गत १४ बिगाहा १० कट्ठा जग्गामा छुट्टाछुट्टै अस्पताल भवन, शैक्षिक भवन, आवास, बिरामी कुरुवा स्थल, पार्किङ, फूलबारीलगायतका संरचना निर्माण गरिनेछ। शुद्ध खानेपानीसँगै अस्पताल आफैँले अक्सिजन प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन गर्नेछ। फोहर व्यवस्थापनका लागि इन्सिनेटर नामक उपकरण जडान गरिनेछ। छ अर्ब ५४ करोडको लागतमा गुरुयोजनाअनुरुपको काम सम्पन्न गर्न सकिने प्रारम्भिक प्रस्ताव पेस गरिएको थियो।

भरतपुर आँखा अस्पतालको नजिकको क्षेत्रमा आवास, सोही क्षेत्रमा व्यावसायिक भवन, हाल मुख्य प्रवेशद्वार रहेको पूर्वी क्षेत्रमा शैक्षिक भवन निर्माण गरिने गुरुयोजनामा उल्लेख छ। अस्पतालको आफ्नै ३१ बिगाहा जग्गा रहे पनि अन्य सङ्घसंस्थालाई भाडामा र भोगचलनका लागि दिएकाले हाल ११ बिगाहामात्र बाँकी रहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले उपयोग गर्दै आएको तीन बिगाहा १० कट्ठा जग्गासमेतलाई समेटेर गुरुयोजना निर्माण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले जानकारी दिए।

गुरुयोजना पारित भएसँगै आर्थिक र जनशक्तिका लागि प्रस्ताव तयार गरेर स्वास्थ्य विभागमा बजेटका लागि पेस गरिने र सो प्रस्ताव दाताहरु समक्ष पनि पेस गरिने डा मरासिनीले बताए । सरकारले बजेट उपलब्ध गराए पाँच वर्षभित्रमा गुरुयोजनाअनुरुपको काम हुने अनुमान गरिएको छ।

गुरुयोजनमा अस्पताललाई शैक्षिक प्रतिष्ठानका रुपमा विकास गरिने उल्लेख छ । शैक्षिक प्रतिष्ठान बनेसँगै अस्पतालमा एमडिएमएस, डिएमएमसिएच, नर्सिङलगायतको पढाइ गरिनेछ। हाल अस्पतालमा प्रविणता प्रमाणपत्र तह र स्नातक तहमा नर्सिङ विषयको पढाइ हुँदै आएको छ।

भरतपुर अस्पतालमा चितवन र छिमेकी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्छन्। गत आवमा एक लाख ५३ हजार बिरामीले बहिरङ्ग सेवा लिएका, ३३ हजार बिरामीले आकस्मिक सेवा लिएका थिए भने ३८ हजार बिरामी भर्ना भएर उपचार गराएका थिए। सो क्रममा ११ हजार महिलाले प्रसूति सेवा लिएका थिए। राजधानी बाहिर ठूलो सङ्ख्यामा बिरामीलाई सेवा दिने अस्पतालका रुपमा भरतपुर अस्पताललाई लिइन्छ।

अस्पतालमा हाल ३०० शै्यया सरकारी र ३०० शै्यया अस्पताल विकास समितिको स्रोतमा सञ्चालनमा रहेको छ। यद्यपि बिरामीको चाप उच्च भएकाले भुइँमा सुतेर पनि उपचार लिन बाध्य छन्। शैक्षिक प्रतिष्ठानसँगै अस्पताल एक हजार शै्ययाको अस्पताल बन्दै गर्दा यो अस्पताल केन्द्रीय अस्पतालका रुपमा विकास हुनेछ।

विसं २०१३मा महेन्द्र आदर्श चिकित्सालयका नाममा स्थापना भएको यो अस्पताललाई हाल प्रादेशिक रिफरल अस्पतालका रुपमा राखिएको अध्यक्ष राजभण्डारीले बताए। उनले भने – “तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापा राजधानी बाहिरको भरतपुर अस्पताललाई नमुना अस्पतालका रुपमा विकास गर्न चाहन्थ्ये।” उहाँकै सहयोगले अस्पतालको गुरुयोजना पारित भएको अध्यक्ष राजभण्डारीले जानकारी दिए। रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ