arrow

सप्तरीको सुरक्षा व्यवस्था कडा पारियो

logo
प्रकाशित २०७४ जेठ २७ शनिबार
saptari-district.png

सप्तरी । आउँदो असार १४ हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि यस जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले अहिले निर्वाचन सहज रुपमा गर्न र कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन विशेष सुरक्षा सतर्कता अपनाएको जनाएको छ ।

सुरक्षाका लागि जिल्लाका विभिन्न चोक तथा बजारमा नेपाल प्रहरी तथा म्यादी प्रहरीलाई २४ औँ घण्टा तैनाथ गरिएको प्रहरी उपरीक्षक एवम् प्रमुख अनुराग द्विवेदीले बताए ।

जिल्लामा सुरक्षाका लागि २४ औँ घन्टा प्रहरीले जाँच र निगरानी गरिरहेको छ भने प्रहरीको मोबाइल गस्तीसमेत परिचालन गरिएको छ । यस्तै, इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीमा थप जनशक्ति परिचालन समेत गरिएको छ ।

प्रहरी उपरीक्षक द्विवेदीका अनुसार प्रत्येक मतदानस्थलको निरीक्षण गरेर आवश्यकताअनुसार थप प्रहरी परिचालन गरिने छ । जिल्लाका अति संवेदनशील मतदान केन्द्रमा पाँच प्रहरी र नौ म्यादी प्रहरी तथा संवेदनशील मतदान केन्द्रमा चार प्रहरी र छ म्यादी प्रहरी खटाइने योजना छ ।

जिल्लामा २९२ मतदानस्थल राखिएका छन् जसमध्ये २०६ अति संवेदनशील र ८६ संवेदनशील मतदानस्थल रहेका छन् । त्यस्तै, ४६१ मतदान केन्द्रमध्ये ३२६ अति संवेदनशील र १३५ संवेदनशील रहेको बताइएको छ ।

यसैबीच, जिल्ला निर्वाचन कार्यालय सप्तरीले स्थानीय तह निर्वाचनको लागि सम्पूर्ण तयारी भइसकेको र प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतसमेत खटिसकेको जनाएको छ ।

तर राष्ट्रिय जनता पार्टीको आन्दोलन गर्ने घोषणाले यहाँका मतदातामा द्विविधा उत्पन्न गरिदिएको छ । जिल्लाका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता तोकिएको मितिमा निर्वाचन हुने वा नहुनेमा शङ्का व्यक्त गरिरहेका छन् ।

निर्वाचनबारे प्रतिक्रिया दिँदै राजपा सप्तरी जिल्ला संयोजक सुनिल झाले आफूहरुले उठाएको माग पूरा नभएसम्म निर्वाचन हुन नसक्ने दाबी गरे। रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ