arrow

अनुदान आउने भएपछि ९० दिनमै रिजल्ट !

logo
प्रकाशित २०७४ जेठ २८ आइतबार
tribhuvan-university.jpg

काठमाडौं । विश्व बैंकको सहयोगमा सञ्चालन भएको उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच करोड अनुदान पाउने भएपछि नौ विषयको नतिजा ९० दिनमा सार्वजनिक गरेको छ ।

तर, परियोजनाबाहिरका वार्षिक तथा प्रणालीकै विषयमा पनि ११ महिनासम्म नतिजा आउन सकेको छैन ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका नवनियुक्त परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातकोत्तर तहका नौवटा विषयमा ९० दिनभित्रै परीक्षाको नतिजा सार्वजनिक भएको छ । 

जनसंख्या, नेपाली, संस्कृति, राजनीतिशास्त्र, मैथिली, लैँगिक संकाय, समाजशास्त्र, मानवशास्त्र र शिक्षा संकाय विषयको नतिजा ९० दिनमै सार्वजनिक भएको हो ।

यी विषयहरूको गत चैत महिनामा परीक्षा सञ्चालन भएको थियो । 

अहिले सबै विषयको नतिजा सार्वजनिक भइसकेको छ । केही समयअघि परीक्षा नियन्त्रकमा नियुक्त भएका जोशीले आठ विषयको नतिजा सार्वजनिक गरे पनि एउटा विषयको नतिजा उनी आउनुभन्दा पहिले नै आइसकेको थियो ।

उनले यसअघिको चार करोड रुपैयाँ समयमै काम गर्न नसक्दा पनिकालाई नआएको बताए ।

 ‘यसपटक तोकिएको समयभित्रै नतिजा सार्वजनिक गरेर अनुदान रकम सुरक्षित गरेका छौं,’ जोशीले भने ।

सेमेस्टरको रिजल्ट ११ महिनासम्म भएन

त्रिविले सेमेस्टर प्रणालीमा सञ्चालन भएको बिएस्सी सिएसआइटी विषयको नतिजा ११ महिनासम्म आएको छैन । 

गुणस्तर सुधार गरी समयमै नतिजा सार्वजनिक गर्ने उद्देश्य राखेर सेमेस्टर प्रणालीको परीक्षा र नतिजा डिन कार्यालयबाट हुने गरे पनि वार्षिक प्रणालीभन्दा पनि ढिला भएको छ ।

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन कार्यालयबाट ०७३ असारमा सञ्चालित बिएस्सी सिएसआइटीको पाँचौं सेमेस्टरको नतिजा अहिलेसम्म सार्वजनिक भएको छैन ।

 विद्यार्थीहरू छैटौ सेमेस्टरको समेत परीक्षा दिएर सातौ सेमेस्टरमा अध्ययन गरिरहेका छन् । तर डिन कार्यालयले काम गर्न सकेको छैन ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा डा रामप्रसाद खतिवडाले बिएस्सी सिएसआइटीको नतिजा ढिलाइ हुनुमा धेरै कारण रहेको बताए । 

सो विषयका क्याम्पस धेरै छरिएको र नम्बर आउन समय लागेको, जनशक्ति कम हुनुका साथै भूकम्पपछि अरु विषयको विभागमा बसेर काम गर्नुपरेकाले चुस्त गतिमा काम गर्न नसकेको बताए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ