arrow

बेनी अस्पतालमा पाठेघर बाहिरको गर्भको दुर्लभ शल्यक्रिया

logo
प्रकाशित २०७४ जेठ २८ आइतबार
doctor-operation.jpeg

बेनी । म्याग्दीको बेनी अस्पतालमा चिकित्सा क्षेत्रमा नै दुर्लभ मानिएको पाठेघर बाहिर नफुटेको अवस्थामा रहेको गर्भको सफल शल्यक्रिया गरिएको छ ।

मङ्गला गाउँपालिका बरञ्जाकी ३० वर्षीया एक युवतीको पाठेघर बाहिर रहेको गर्भ अस्पतालका डा घिरेन मल्लसहितको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेर बाहिर निकालेको हो । 

तीनवर्ष अगाडि विवाह गरेकी युवतीको पाठेघरभित्र रहेको गर्भ गत चैत ३० गते खेर गएपछि निराश भएर घरमै बसेको अवस्थामा तीनदिनदेखि लगातार दाहिने कोखो दुख्न थालेपछि बेनी अस्पतालमा भर्ना भएकी थिइन् । 

एपेन्डिक्स भएको अनुमान गरिएपनि भिडियो एक्स–रेको क्रममा पाठेघर बाहिर १३ हप्ताको गर्भ देखिएपछि तत्कालै चिकित्सकको टोली इमर्जेन्सी बैठक बसेर सफल शल्यक्रिया गर्न सफल भएको डा मल्लले बताए । 

“पाठेघर बाहिर नफुटेको अवस्थामा गर्भ भेटियो । यस्तो केस चिकित्सा क्षेत्रमै दुर्लभ मानिन्छ” – डा मल्लले भने । 

तेह्र हप्तासम्म पाठेघर बाहिर बच्चा हुर्किरहेको अवस्थामा भेटिएको र शल्यक्रियाका क्रममा पनि बच्चाले केही समय खुट्टा चलाइरहेको थियो, डा मल्लले भने । 

पाठेघर बाहिर १३ हप्तासम्म जीवित अवस्थामा बच्चा भेटिने विश्वकै ३० हजार गर्भवती महिलामा एकजनामा हुने उनले जानकारी दिए । 

विश्वभरका अनुसन्धानअनुसार चिकित्सा क्षेत्रमा ठूला र दुर्लभ शल्यक्रियाभित्र पर्ने यस्तो शल्यक्रियामा सफलता प्राप्त गरेपछि बेनी अस्पतालका प्रमुख एवम् वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ड डाक्टर रोशन न्यौपानेले शल्यक्रियामा खटिएका टोलीलाई बधाई दिए । “ठूला अस्पतालमा समेत यस्ता घटना भेटिँदैनन्” – डा न्यौपानेले भने । 

बेनी अस्पतालमा दुईवर्षको अन्तरालमा चिकित्सा क्षेत्रमै जटिल र ठूला मानिएका करिब एक दर्जन शल्यक्रिया गरिएको छ । 

पाठेघर बाहिर आन्द्रामा बच्चा बसेको, योनीभित्र कण्डम, पाठेघरमा मासु पलाएको, चक्कु प्रहारबाट फोक्सोमा रगत र हावा जमेर गम्भीर घाइते, पिसाबको थैलीमा भएका ढुङ्गा, अण्डकोष तल नझरेकोलगायतका शल्यक्रिया बेनी अस्पतालमा सम्पन्न भएका डा न्यौपानेले जानकारी दिए । 

निक साइमन इन्स्टिच्युट अमेरिकाले अनुभवी चिकित्सक, शल्यक्रियामा प्रयोग हुने जनरल एनेस्थेसिया जिए मेसिनसमेत उपलब्ध गराएकाले शल्यक्रियामा सहज भएको छ । 

अस्पतालमा शल्यक्रियासहितको प्रसूति सेवा लिने बिरामीको समेत चाप धेरै छ ।

 रु ४० हजार देखि ७० हजारसम्म खर्च हुने शल्यक्रिया बेनी अस्पतालमा निःशुल्क हुन थालेपछि छिमेकी जिल्लाबाट समेत बिरामी आउन थालेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ