arrow

राजपा नेपाल निर्वाचनमा नआएपनि अब चुनाव रोकिँदैन : रमेश लेखक

logo
प्रकाशित २०७४ जेठ २९ सोमबार
ramesh-lekhak.gif.gif

काठमाडौं। प्रमुख दल नेपाली कांग्रेसका नेता एवम् निवर्तमान मन्त्री रमेश लेखकले राजपा नेपाल निर्वाचनमा सहभागी नभएपनि असार १४ गतेको दोस्रो चरणको निर्वाचन नरोकिने स्पष्ट पारेका छन्। साक्षात्कारमा बोल्दै नेता लेखकले राजपा नेपालपनि चुनावमा आउनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताएका छन्। यद्धपी उनले राजपालाई चुनावमा सहभागी गराउनको लागि अथाह प्रयास गर्ने तर लाख कोशिश गर्दापनि चुनावमा सहभागी नभए दोस्रो चरणको निर्वाचन कुनैपनि हालतमा नरोकिने जिकिर गरे।

उनले भने,‘उहाँहरु अझैपनि निर्वाचनमा आउनुहुन्छ भन्नेमा हामी पूर्ण विश्वस्त छौं, यदि उहाँहरु आउनुभएन भने पनि चुनाव रोकिँदैन्, चारवटै प्रदेशमा एकै चरणमा निर्वाचन हुन्छ, त्यसैले जेठ १४ गतेको निर्वाचन कुनैपनि हालतमा रोकिँदैन्।’

साक्षात्कारमा बोल्दै नेता लेखकले अहिलेको राष्ट्रिय एजेण्डा भनेको संविधान कार्यान्वयन भएकोले यसको लागि चुनाव अनिवार्य आवश्यकत्ता रहेको बताए। उनले भने,‘अहिलेको राष्ट्रिय एजेण्डा भनेको नै संविधानको स्विकार्यता बढाएर जाने र संविधान कार्यान्वयन गर्नु हो, यसको लागि निर्वाचन सबैभन्दा ठूलो माध्यम हो, त्यसैले निर्वाचनमा सबै दलहरु सहभागी हुनुपर्छ।’ संविधान कार्यान्वयन र संविधानको स्विकार्यता सबैको संयुक्त एजेण्डा भएकोले यसमा सबैको उतिकै प्रयत्न हुनुपर्ने उनको भनाई थियो।

लेखकले कुन कुन विषयमा संविधान संशोधन गर्ने भन्ने विषयमा सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाले संयुक्त रुपमा संशोधन प्रस्ताव पेश गरेको उल्लेख गर्दै भने,‘के–के विषयमा संशोधन गर्ने भन्ने विषयमा हामीले संयुक्त रुपमा प्रस्ताव पेश गरेका छौं, तर यसलाई पारित गराउनको लागि त दुई तिहाई मत चाहिएको छ।’ उनले निर्वाचनपछि संविधान संशोधन पारित गराउने भनेर एमालेले सार्वजनिक रुपमै भनिसकेकोले निर्वाचन सकिएलगत्तै संशोधन प्रस्ताव पारित गराउन सरकारले पहल गर्ने विश्वास दिलाए। 

राजपालाई निर्वाचनमा सहभागी गराउने उद्देश्यले नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यसअघि नै स्थानीय तहको संख्या बढाएको उल्लेख गर्दै नेता लेखकले थपे,‘संख्या बढाउने निर्णय पनि हामीले गरेका हौं, बढेको संख्यामा पनि निर्वाचन गराउने भनेर निर्वाचन आयोगले भनिसकेको छ, तर सर्वोच्च अदालतले रोकिदिएको छ, कानूनी प्रक्रियाहरु जे छन्, त्यसको लागि हामी भ्याकेटको लागि अदालतमा गएका छौं।’ उनले अदालतको निर्णय सबैले मानेर जानुपर्ने बताए।

त्यस्तै उनले राजपा नेपालले माँग गरे बमोजिम सहिद घोषणा गर्न, घाईतेहरुको लागि क्षतिपूर्ति, झुठा मुद्दा फिर्ता लगायतका कामहरु सरकारले निरन्तर रुपमा गरिरहेको छ, निर्णय गरिसकेको छ, केही प्रक्रियामा छन्, झुठा मुद्दा फिर्ताको पनि एउटा कार्यविधि छ, संशोधन गरेर निर्णय गर्नुपर्छ।’ उनले स्थानीय तहको संख्या बढाउने र संविधान संशोधनको लागि सरकार प्रतिबद्ध छ। यही ०७४ माघ ७ गतेभित्रसम्म तीन तहकै निर्वाचन सम्पन्न गर्नुपर्ने भएकोले त्यतातिरपनि ध्यान दिनुपर्ने उनको भनाई थियो।

लेखकले निर्वाचनको मिति पटक पटक सारिएको प्रसंग निकाल्दै अब पनि निर्वाचन सार्ने काम गर्न नहुने बताए। उनले भने,‘निर्वाचनको मिति सार्दा अरु निर्वाचनलाई असर गर्छ।’ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले राजपा नेपालले निर्वाचन विथोल्नेगरि घोषणा गरेको आन्दोलन स्वयम् राजपा नेपालको लागि प्रतित्युपादक रहेको स्पष्ट पारेका छन्। ज्ञवालीले भने,‘राजपा नेपालको निर्वाचन बहिष्कार गर्ने निर्णय दुःखद् छ, उहाँहरुको निर्णयले उहाँहरुलाई नै स्वयम घाटा छ, प्रत्यिुपादक छ।’ 

ज्ञवालीले मधेशका जनताले समयमै निर्वाचन चाहेको र जनप्रतिनिधि चाहिएको बताउँदै भने,‘असार १४ गतेको दोस्रो चरणको निर्वाचनलाई प्रभावकारी बनाउनुपर्छ, उहाँहरुपनि असन्तुष्टिहरुको बावजुद चुनवमा जानुपर्छ।’ विगतमा संविधान सभाको निर्वाचन बहिष्कार गर्दा मोहन बैद्यले दुःखान्त नियती भोगेको उदाहरण पेश गर्दै भने,‘राजपा नेपाललेपनि पाठ सिक्नुपर्छ, त्यसैले राजपाको निर्णय स्वयम् जनताबाट टाढिने बाहेक अरु केही हुँदैन्।’

उनले राजपा नेपालपनि चुनावमा आउनुपर्ने बताए। उनले थपे,‘उहाँहरु चुनाव आउन अझै संभव छ, आउनुहोस्।’ ज्ञवालीले भने,‘अब एकैचोटी अर्थात एकै चरणमा निर्वाचन हुनुपर्दथ्यो, तर भएन अब असार १४ गतेको निर्वाचन कुनैपनि हालतमा सार्नुहुँदैन्।’ उनका अनुसार दोस्रो चरणको निर्वाचनमा पनि केही सुरक्षा चूनौतिहरु रहेका छन्। उनले भने,‘सरकारले प्रभावकारी रुपमा सुरक्षाको प्रबन्ध मिलाउनुपर्छ।’ उनले चार वटै प्रदेशमा एकैचरणमा निर्वाचन हुनुपर्नेपनि जनाए।

उनले आफूहरु संविधान संशोधनको कहिल्यैपनि विरोधी नभएको जिकिर गरे। उनले भने,‘हामी संविधान संशोधनको विरोधी होईनौं, तर के मुद्दामा संशोधन गर्ने ?’ उनले संशोधनमा उल्लेख भएका नागरिकता र भाषाको सवालमा आफूहरुको गम्भिर कन्र्सन रहेको स्पष्ट पारे । उनले भने,‘हतारमा अर्थात शर्तको रुपमा संविधान संशोधन गर्नुहुँदैन्।’ उनले यही संविधान अनुसार प्रधानमन्त्री निर्वाचन चयनमा मतदान गर्ने अनि फेरि यो संविधान संशोधन गर्नुपर्छ भनेर आन्दोलन गर्ने राजपा नेपालको तरिका आफूहरुलाई मन नपरेको भन्दै दुई खाले कुरा नगर्न सुझाव दिए।

ज्ञवालीले राजपाका नेताहरुलाई स्वार्थबाट माथि उठ्नको लागि पनि आग्रह गरेका छन्। उनले आफूहरु प्रतिकार गर्ने पक्षमा नरहेको समेत जिकिर गरे। उनले भने,‘सुरक्षाको सम्पूर्ण प्रत्याभुति सरकारले गर्नुपर्छ।’ ज्ञवालीले ब्यालेट बक्सको रक्षा गर्ने जिम्मा सरकारको भएको बताए। 

फरक प्रसंगमा उनले चितवनको भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घट्नाबारे टिप्पणी गर्दै भने,‘चितवनको हकमा निर्वाचन आयोले लाचारपन देखायो, तर हामी अदालतको फैसला कुरिरहेका छौं, गलत नजिर नबसोस् भन्ने पक्षमा हामी छौं।’ त्यस्तै नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले निर्वाचन निर्धारित मितिमै गर्नुपर्ने भएकोले निर्वाचनमा हुनेमा कुनै शंका नगर्न आग्रह गरे । गजुरेलले भने,‘निर्वाचन असार १४ गतेभित्रै हुन्छ, गर्नुपर्छ, यसमा कुनै दुई मत छैन्।’

उनले राजपा नेपालले चुनाव विरोधी आन्दोलन घोषणा गरेर गल्ती गरेको समेत टिप्पणी गरे। उनले भने,‘उहाँहरुले चुनाव बहिष्कार गर्नुभएको छ, यो निर्णय भनेको आफ्नो खुट्टामा आँफै बञ्चरो हान्ने काम हो।’ उनले निर्वाचन बहिष्कार गरेर आन्दोलनमा जाँदा मधेशका मुद्दा कमजोर हुने समेत चिन्ता व्यक्त गरे । उनले भने,‘संविधान संशोधन निर्वाचनपछि गर्नुपर्छ, त्यसैले निर्वाचनको मुखमा आन्दोलनमा जानु भनेको जनताको सहानुभुति गुमाउनुमात्रै हो।’

गजुरेलले असहमतिका बावजुदपनि निर्वाचनमा जानुपर्ने धारणा राख्दै राजपा नेपाललाई अझैपनि समय भएकोले निर्वाचनमा सहभागी हुन आग्रह गरे। उनले निर्वाचन अघि स्थानीय तहको संख्या बढाउने कुरा अहिले संभव नभएको समेत स्पष्ट पारे। उनले अब चुनाव कुनैपनि बहानमा सार्न नसकिने स्पष्ट पारे। गजुरेलले प्रश्न गरे,‘चुनाव कति सार्ने ? अब चुनाव सर्दैन्, राजपा नेपाल नआएपनि चुनाव हुन्छ, रोकिँदैन्।’ चुनाव सार्दा जनतामा संविधान कार्यान्वयनप्रति आशंका पैदा हुनेतर्फ समेत उनले सचेत गराए।

राजपा नेपालका अध्यक्ष मण्डलका नेता महेन्द्रराय यादवले आफूहरुले बाध्य भएर आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको स्पष्ट पारे। उनले भने,‘बाध्य भएर हामीले आन्दोलन घोषणा गरेका छौं, हाम्रा माँग पूरा भएनन्, यो ११ महिनामा संविधान संशोधनको लागि सरकारले प्रयास गरेको थियो तर असफल भयो।’

यादवले राजपा नेपाललाई बाहिर राखेर चुनाव हुनै नसक्ने समेत दाबी गरे। उनले भने,‘अब उहाँहरुले नै हामीलाई चुनावमा सहभागी नगराउन चाहनुभएको छ भने अर्को कुरा, नभए हामी चुनाव विरोधी होईनौं।’ राजपा नेपाल लोकतान्त्रिक व्यवस्थाप्रति पूर्ण प्रतिबद्ध रहेको समेत उनको भनाई थियो।

उनले संविधान संशोधन अहिले हुन नसकेपनि जनसंख्याको आधारमा स्थानीय तहको संख्या बढाउने, झुठा मुद्दा फिर्ता लिनुपर्ने, अपाङ्गता भएकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने, सहिद घोषणा गर्नुपर्ने जस्ता माँगहरु सरकारले पूरा गर्नुपर्ने बताए। यी माँगहरु पूरा भए आफूहरु निर्वाचनमा जान तयार रहेको नेता यादवको भनाई थियो। उनले भने,‘हामी मुद्दामा आधारित पार्टी हौं।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ