arrow

स्वास्थ्य बीमा कार्यक्रम सुरु

logo
प्रकाशित २०७४ असार १ बिहिबार
health-ministry.jpeg

चितवन । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम बिहिबारबाट सुरु भएको छ । 

भरतपुर अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरी सदस्यता दर्ता शुभारम्भ गरिएको हो । कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले वार्षिक रु दुई हजार ५०० बिमा शुल्क भुक्तानी गरेपछि रु ५० हजारसम्मको उपचार सेवा पाउने छन् । 

पाँचजनाभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति रु ४२५ थप भुक्तानी गरेपछि प्रतिव्यक्तिको रु १० हजार उपचार सेवा थपिने छ । पाँचजनासम्मका लागि रु ५० हजार अनिवार्य गरिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकी प्रबन्धक सिर्जना पौडेलका अनुसार सो कार्यक्रमको अधिकतम सीमा रु एक लाख तोकिएको छ । सरकारले निःशुल्क तोकेका औषधि र उपचार सेवा भने यसमा समावेश नहुने उनले बताए । 

जिल्लामा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, खैरहनी, जुटपानी, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र, रत्ननगर बकुलहर अस्पताल र बघौडा अस्पतालबाट उक्त सेवा लिन सकिने उनको भनाइ छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर आँखा अस्पतालसहित देशका अन्य तोकिएका ठूला अस्पतालमा पनि रिफरल सेवा पाइने पौडेलले बताए। 

कार्यक्रममा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका डा भुवन पौडेलले थपिँदै गएका नयाँ नयाँ रोगको जोखिमबाट सर्वसुलभ रुपमा उपचार पाउनका लागि सो कार्यक्रम प्रभावकारी हुने बताएका छन् । आउँदो असार मसान्तसम्ममा देशका १५ जिल्लामा उक्त कार्यक्रम लागू गरिने उनले बताए । 

आर्थिक वर्ष २०७२ ७३ मा कैलाली, बागलुङ र इलामबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम आजबाट चितवनमा पनि सञ्चालनमा आएको हो । बिहिबारबाटनै भक्तपुर, जुम्ला र तनहुँमा पनि सो कार्यक्रम सुरु भएको उनले जानकारी दिए । असारमा जाजरकोट, मकवानपुर र गोरखामा कार्यक्रम सुरु हुँदैछ । हालसम्म ८४ हजारभन्दा बढीले बिमा गरेका छन् भने करिब २५ प्रतिशतले सेवा लिइसकेका पौडेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ