त्रासद यात्रा, बेखबर राज्य

प्रकाशित मिति : २०७४ असार १० शनिबार
तस्बिर: फाइल

मुग्लिङ। ‘जाम हुनसक्छ, खाना खाएर जानुस् है’, मलेखुको एउटा होटलमा गाडी रोकिनासाथ होटल सञ्चालकले भने । ‘तीन वर्षदेखि यही डर देखाएर व्यापार चलाइरहनुभएको छ है’, गाडीका एक यात्रुले सञ्चालकलाई छेड हाने। 

ती यात्रुको विश्वास जाम छैन केही बेरमै घरै पुगेर खाउँला भन्ने थियो होला । हामी चढेको गाडी कटारीसम्म पुग्ने भए पनि धेरै यात्रु, चितवन, पर्सा र भण्डारातिरकै थिए । ‘अब एकडेढ घन्टामा आइपुगिन्छ, खाना बनाउने सुरसार गरे हुन्छ’, एक यात्रुले राति १० बजेतिर कुरिनटारबाट घरमा फोन गरे। ‘कुहिएको खाना खानुभन्दा घरमा पुगेर फ्रेस खाने नि’, उनले भने।

मुग्लिङ कट्दा रातिको १०.२० जति बजेको हुँदो हो । नारायणगढतर्फ लाग्नासाथ बायाँतिर भीमकाय पहाड र दायाँतर्फ त्रिशूली खोला पारेर बस गुडाउनुपर्छ । त्यसमाथि ठाउँठाउँमा झरिरहने साना पहिरा र विस्तारका लागि काटिएका डाँडाले यो बाटो झन् डरलाग्दो बनाएको छ । यात्रु पनि केही नभई पुग्न पाए भन्दै भगवान् पुर्काछन्।  मुग्लिनबाट नारायणगढतर्फ २ किलोमिटर अघि बढ्दा खहरे खोला आउँछ । त्यो खोला नजिक पुगेपछि हाम्रो गाडी अचानक रोकियो । पहिरो झरिरहेको छ भन्दै केही गाडी फर्किन थाले । कोही यात्रु गाडी छोडेर आएको भन्दै दौडिँदै थिए।

पानी परेर भर्खरै रोकिएको खाल्टाखुल्टीमा जमेको पानीबाट सहजै अनुमान गर्न सकिन्थ्यो । पानी परेको थाहा पाएपछि  यात्रुमा झन् त्रास बढ्यो । गाडी रोकिएका कारण हेडलाइटको उज्यालोसमेत थिएन । ठूला डाँडाको बीचको सडक पुरै अन्धकार थियो । 

हाम्रो गाडी रोकिएको ठाउँबाट पहिरो गएको स्थल टाढा नभए पनि वर्षासँगै पहाडबाट ढुंगा खसिरहेकाले बुझ्न जाने सम्भावना थिएन् । अधिकांश गाडीका यात्रुले चालकलाई मुग्लिन बजार वा अन्यत्र सुरक्षित स्थलमा लगेर छाडिदिन अनुनय गरे तर चालक डराए । ‘झन् माथिबाट पहिरो झरेर किचे के हुन्छ कम्तीमा माथि रुख त छन् । यही नै बच्ने सम्भावना बढी हुन्छ’, चालकले गाडी नफर्काउने संकेत गर्दै भने । पहिरो हेरेर फर्किएका केही यात्रुले चारकिलो र कालीखोलामा पनि पहिरो गएकाले कम्तीमा पनि भोलिपल्ट (शुक्रबार) १२ बजेसम्म सडक नखुल्ने अनुमान सुनाए । त्यसपछि केही यात्रु सुरक्षित गन्तव्यको खोजीमा लागे भने केही जोखिम मोलेरै गाडीमा बसे । 

बिरामी बोकेका एम्बुलेन्स पनि अगाडी बढ्ने सम्भावना थिएन । धेरै यात्रु रोकिएका गाडीमा बसेर बाटो खुल्ने पर्खाइमा बसे । यात्रुमा तत्काल डोजर आउला र पहिरो पन्छाउला भन्ने आस थियो । एउटा बिग्रिएको डोजर लरीमा हालेर मर्मतका लागि लैजाने तयारी अवस्थामा थियो तर त्यहाँ पहिरो खुलाउने डोजर थिएन् ।  

केहीबेर थामिएको वर्षा फेरि दर्कन थाल्यो । यात्रु भगवान् सम्झिँदै गाडीमै उक्लिए । पानीसँगै माथिबाट ढुंगा खस्न थाले । तल त्रिशूली नदी, सडक भासिने डर पनि त्यत्तिकै थियो । मध्यरात भइसकेको थियो । गाडी मुग्लिङतिर फर्काउने अवस्था र ठाउँसमेत थिएन । चालकले न परिस्थितिलाई  गम्भीरतापूर्वक लिए न चालकलाई सुरक्षित स्थानमा पुर्‍याएर राख्नुपर्छ भन्ने संवेदनशीलता देखाए । 

गाडीमा भएका यात्रु डराइरहेका थिए । राति १२ः३० बजेतिर एउटा प्रहरीको गाडी साइरन बजाउँदै पहिरो स्थलतिर बढ्यो । चालकसहित चार प्रहरी गएको गाडी पहिरोमा पुरिएछ । यो खबर अलि ढिला मात्रै थाहा भयो । प्रहरीको गाडी हराएपछि डोजर र सुरक्षाकर्मी घटनास्थल पुगे । गाडीका यात्रु यी सबै घटनाप्रति बेखबर थिए । ‘ढुंगा आयो, पहिरो झर्यो, भासियो भागभाग’ भनेको मात्रै कानमा दोहोरिरहन्थ्यो । दुई वा समूहमा बसेकाहरू भगवान् सम्झिँदै ‘साइत बिग्रिएछ’, ‘कस्तो दशा’ जस्ता शब्द दोहोर्‍याउँदै राति यात्रा गरेकोमा पश्चाताप साटासाट गरिरहेका थिए । कोही प्लास्टिक ओडेर ओत लाग्ने ठाउँको खोजीमा देखिन्थे । कोही खाने कुराको खोजीमा । नजिकै भएका साना पसल केही बन्द भइसकेका थिए भने खुलेकामा पनि खानेकुरा सकिइसकेको थियो । खाना पाइए पनि छोइनसक्नु महंगो । फोनको टावर पनि कमजोर भयो । त्यत्तिकैमा कसैले भन्यो– एउटा टावर पहिरोमा पुरियो रे। मध्यरातमा पहिरो पन्छाउन डोजर चलाउन पनि सम्भव थिएन । निरन्तर पहिरो  झरिरहेको थियो । गाडीभित्रका साना ननीहरू भोक र गर्मीले रोइरहेका थिए।  ‘रातभर त्रासमै बित्यो,’ १ बजेतिर भेटिएका आकाश पालले भने । 

धेरै यात्रु स्थानीय निर्वाचनमा मत हाल्न जान लागेका थिए । केही विवाहमा जान लागेका त केही राजधानीबाट घर फर्कंदै थए । ‘दिनभरि सडक जाम हुन्छ, राति हुन्न भनेर आएको त झन् फसियो,’ चितवनको रमेश श्रेष्ठले भने। अलि सुरक्षित लाग्ने जस्तो ठाउँमा यात्रु जम्मा भएर बसेका थिए। राति साढे १  बजेतिर पानी केही रोकिएपछि केही यात्रु ढुंगा छल्दै मुग्लिनतिर लागे। मुग्लिनमा एउटै कोठामा १२ जनासम्म बसेर रात काट्नुपर्‍यो। 

शुक्रबार बिहान पानी कम भए पनि सानासाना पहिरो खस्ने क्रम रोकिएको थिएन् । घाम चर्किन थालेपछि चारवटा डोजरले ठूला दुईटा पहिरोलाई दुईतिरबाट पन्छाउन थाले पनि माथिबाट खस्न रोकिएको थिएन् । एक हुल प्रहरी र सैनिक नदी किनारामा भेटिएका शव सेतो कपडामा बेर्दै थिए । हराएको प्रहरीको गाडीको कुनै निसानासमेत थिएन् । 

सुरक्षाकर्मीले पहिरो पन्छाउन दिनभर लाग्ने बताए पनि नजिक घर भएका यात्रुले हिँडेरै बाटो छिचोल्न खोजे । पहिरो क्षेत्र कटे पनि अर्कोतर्फ गए केही न केही उपाय लाग्ला भनेर थुपै यात्रु झोला र बालबालिका बोकेर कालीखोलाको चेपाङ गाउँ उक्लिएर पहिरो क्षेत्र पार गर्दै थिए । भिरालो र अप्ठेरो बाटो थियो, भासिएर पहिरो रहेको ठाउँसम्मै खसिने त्रास रहे पनि यात्रु भगवान् भरोसा राखेर लम्किरहेका थिए । 
पहिरोको जोखिमकै कारण दासढुंगा, जलवीरे, टिकौलीबाट गाडी अगाडी बढाउन सुरक्षाकर्मीले रोकेका थिए । ‘रातभर निद्रा लागेन दुईदिन भयो खाना नखाएको अब मर्नुभन्दा बहुलाउनु निको भनेजस्तै’ ट्रकमा खाना बनाउँदै गरेका सुरेन्द्र दासले भने । 

राजमार्गको यात्रा अनिश्चित हुन थालेपछि अधिकांश ट्रकका चालकले ग्यासचुलो, पकाउने भाडा र अन्न बोकेर हिँड्न थालेका छन् । पहिरोमा फसेका यात्रुले बिहान १२ बजेसम्म पानीसमेत खान नपाएको सुनाए रातिदेखि उद्धारमा खटिएको सुरक्षाकर्मी र कर्मचारीको पनि उही हाल थियो । 

यात्रुको आक्रोश सरकारप्रति 
अढाई वर्षअघि थालेको नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार कार्य नसकिनुमा यात्रुले सरकारलाई दोषी बताइरहेका थिए । ‘न नेता यो बाटो हिँड्छन न अरु ठूला मान्छे, उनीहरूलाई पब्लिकले पाएको हैरानीमा ध्यानै छैन’, बझाङमा निर्वाचन गराउन हिँडेका बताउने एक कर्मचारीले भने ।  ‘यस्तो महत्वपूर्ण सडकमा २०-२५ जना मात्रै कामदार कार्यरत देखिन्छन्’। सप्तरीका ध्रुवप्रसादले प्रधानमन्त्री र गृहमन्त्रीलाई कम्तीमा एकपटक यो सडक अवलोकन गरिदिन आग्रह गर्दै भने, ‘हजाराैं यात्रुलाई रोकेर दुईतीन जनाले एउटा ढुंगा धकेलिरहेका हुन्छन् । यसैले काम सुस्त छ ।’

ती कर्मचारीको नजिकै रहेका अर्का युवक सौजन्य शर्माले थपे, ‘त्यो संसद्को विकास समिति भन्ने छ नि, त्यसका मान्छे पनि यहाँ आएको पाइएको छैन ।’ उनले यति ठूलो विपत्तिमा यात्रु पर्दासमेत राज्यले निश्चित गन्तव्यमा पुर्याउन सहयोग नगरेको भन्दै दुःखेसो पोखे। नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिरोले घन्टौं सडक अवरुद्ध भएपछि ट्रकमै खाना बनाउँदै  सुरेन्द्र दास । (नागरिक दैनिकका, दीपक दाहाल)

नयाँ