arrow

महाकालीले पक्की तटबन्ध भत्काउँदा स्थानीय त्रसित

logo
प्रकाशित २०७४ असार २२ बिहिबार
Mahakali-River-bridge.jpeg

दार्चुला । तीन दिनदेखिको लगातार वर्षाका कारण महाकाली नदीमा पानीको बहाब एक्कासि बढेको छ । बिहीबार दिउँसो दुई बजेपछि एक्कासि नदीमा पानीको सतह बढेपछि स्थानीयवासीमा त्रास थपिएको छ । 

विसं २०७० असारको पहिलो साता आएको महाकालीको बाढीलाई झझल्को दिने गरी नदी किनारमा निर्माणाधीन तटबन्धको फाउन्डेसन भत्काउँदा बङ्गाबगड क्षेत्रका बासिन्दामा बाढी त्रास बढेको स्थानीयले बताएका छन् । महाकाली नदी नियन्त्रण आयोजनाको प्याकेज नम्बर १० मा हालेको पक्की तटबन्धको फाउन्डेशन वाल भत्काएर नदीले कटान सुरु गरेको छ । 

गत कात्तिकमा भारतपट्टी गएको सुख्खापहिरोको कारण नदीको बहाव नेपालतर्फ मोडिँदा तटबन्धको वाल धँसिएको स्थानीय प्रशासनले जनाएको छ । तटबन्धको फाउन्डेशन नदीको सतहभन्दा माथि रहेको हुनाले नदीले माटो बगाउँदा पक्की तटबन्धको वाल भत्केको प्राविधिकको भनाइ छ । उक्त क्षेत्रमा पक्की तटबन्धको १० मिटर लम्बाई, पाँच मिटर चौडाई र सात मिटर उचाई जमिनबाट छुट्टिन पुगेको छ । 

नदीले कटान सुरु गरेपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निर्माण व्यवसायी र स्थानीय मिलेर जालीमा ढुङ्गा भरिरहेका छन् । नदीले थप कटान रोक्नका लागि डोजरको प्रयोग गरी ढुङ्गा राख्न सुरु गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ