arrow

विश्वभर चिनीको मूल्य घट्यो, नेपाली उद्योगमाथि संकट

logo
प्रकाशित २०७४ साउन १ आइतबार
sugar.jpg.jpeg

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा ४० प्रतिशतले गिरावट आएपछि यसको प्रत्यक्ष प्रभाव नेपालको चिनी उद्योगमा पनि पर्नसक्ने विज्ञहरूले आकलन गरेका छन् । 

विश्वभर उखुको उत्पादनमा आएको वृद्धिका कारण चिनी ठूलो परिमाणमा उत्पादन भएको हो । तीन साताअघि ६१ हजार आठ सय नौ रुपैयाँ (६ सय डलर) प्रति मेट्रिक टन रहेको चिनीको मूल्य विश्वबजारमा अहिले ४७ हजार नौ सय दुई रुपैयाँ ९चार सय ६५ डलर० पुगेको छ।

नेपाल चिनी उद्योग संघका अनुसार यसरी नै अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा कमी आइरहने हो भने नेपालको स्वदेशी उद्योग धराशयी हुने अवस्थामा पुग्नेछ । 

अन्तर्राष्ट्रिय बजारमा घटेको मूल्यका कारण नेपालमा अनियन्त्रित रूपमा चिनी आयात हुने हो भने स्वदेशी उद्योगसहित नेपाली उखु किसानले पनि प्रत्यक्ष रूपमा नोक्सानी उठाउनुपर्ने अवस्था आउन सक्ने व्यवसायीले औंल्याएका छन् ।

सरकारले चिनी आयात गर्दा भन्सार शुल्क १५ प्रतिशत मात्रै तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य घट्दा आमउपभोक्ताले भने सस्तोमा चिनी खरिद गर्न पाउनेछन् । 

उपत्यकाका उपभोक्ताले अहिले साल्ट ट्रेडिङ कर्पोरेसनबाट भारतबाट आयातित चिनी प्रतिकिलो ८२ रुपैयाँ ५० पैसामा खरिद गर्न पाएका छन् । व्यवसायीले बजारमा भने ९० रुपैयाँसम्म प्रतिकिलोमा चिनी बिक्री गर्दै आएका छन् ।

कर्पोरेसनले भारतबाट भन्सार शुल्क एक प्रतिशतमा मात्रै चिनी आयात गरेको छ । भन्सार छुटमा ल्याइएको चिनी कर्पोरेसनले उपभोक्तालाई सस्तोमा बिक्री गर्न सुरु गरेपछि लागत मूल्य बढी भएर स्वदेशी उद्योगको चिनीले बजार पाउन समस्या आएको छ । 

विश्वबजारमै सबैभन्दा ठूलो परिमाणमा चिनी उत्पादन हुने ब्राजिल, मरिसस, चीन, थाइल्यान्ड, भारतसहित अफ्रिकी मुलुकमा पर्याप्त मात्रामा चिनीको उत्पादन भएकाले यसको मूल्यमा ठूलो कमी आएको हो ।

संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा घटेको मूल्य र भन्सार शुल्क थोरै भएको अवस्थाको फाइदा उठाएर व्यवसायीले सस्तो चिनी आयात गर्दा उद्योगीसँगै किसानले उचित मूल्य नपाउने अवस्था सिर्जना हुन्छ । समय सापेक्ष भन्सार शुल्क निर्धारण नगर्दा प्रत्यक्ष रूपमा उद्योगी र किसान डुब्ने व्यवसायी बताउँछन् । 

अनौपचारिक तथ्यांकअनुसार नेपालमा वार्षिक २० हजार मेट्रिक टन चिनी अवैध रूपमा भारतीय सहरबाट नेपाली बजारमा चोरी निकासी भएर भित्रिने गरेको छ । नेपालमा वार्षिक दुई लाख ४० हजार मेट्रिक टन चिनीको माग छ जसमध्ये स्वदेशी उद्योगले डेढ लाख मेट्रिक टन उत्पादन गर्दै आएको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनले ५० हजार मेट्रिक टन हाराहारीमा एक प्रतिशत भन्सार शुल्कमा भारतबाट आयात गर्दै आएको छ ।

संघका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार विश्व बजारमा आएको चिनीको कम मूल्यका कारण नेपालमा पनि सोही सस्तो चिनी अनियन्त्रित रूपमा भित्रिने हो भने घाटा खाएर चिनी उद्योग सञ्चालन गर्न सकिँदैन । सस्तो भन्सार शुल्कमा सस्तो चिनी आयात हुँदा नेपालमा तिहारदेखि सुरु हुन लागेको क्रसिङको समयमा उद्योगीले ठूलो नोक्सानी व्यहोर्ने अग्रवालले बताए ।

सस्तो चिनी आयातका कारण किसानले लागत मूल्य नपाउने र उद्योगीले बढी मूल्य दिएर उखु खरिद गरी क्रसिङ गर्न नसक्ने अवस्था आउन सक्ने अग्रवालले जानकारी दिए ।

स्वदेशको मागअनुसार चिनी उत्पादन नहुँदा बर्सेनि १५ अर्बभन्दा बढी मूल्य बराबरको चिनी आयात हुँदै आएको छ । नेपालमा सुनसरी, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सा, नवलपरासी, कपिलवस्तु र कञ्चनपुरमा करिब ६१ हजार आठ सय हेक्टरमा २६ लाख ९७ हजार आठ सय मेट्रिक टन उखु उत्पादन हुन्छ । उखुखेतीमा करिब पाँच लाख ५० हजार किसान आबद्ध छन् । (अन्नपूर्ण पोष्ट दैनिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ