arrow

अमेरिकामा थपियो  विवाद, ट्रम्प-पुटिन गोप्य भेटवार्ता भएको होः ह्वाइटहाउस

logo
प्रकाशित २०७४ साउन ४ बुधबार
news-trump-badhai-putin.jpeg

वासिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच जर्मनीमा भएको जी२० बैठकमा एक्लाएक्लै भेटवार्ता भएको भनी आएका समाचार ह्वाइटहाउसले स्वीकार गरेको छ । 

यो महिनाको शुरुतिर जर्मनीको ह्याम्बर्गमा भएको जि२० बैठकका क्रममा उहाँहरुबीच पहिला घोषित रुपमा नै भेटवार्ता भएको मात्र समाचार आएको थियो । तर पछि भएको दोश्रो बैठकको समाचारलाई भने अहिलेसम्म पनि गोप्य राखिएको छ। उक्त भेटवार्ताको समाचार मङ्गलबारका अमेरिकी पत्रिकाले सार्वजनिक गरेका छन् । 

उनीहरुबीच सुरुमा भएको घोषित वा औपचारिक बैठकको घण्टौँ पछि एकजना रुसी दोभाषे मात्रको उपस्थितिमा राष्ट्रपतिद्वयको वार्ता भएको ती समाचारमा जनाइएको छ । तर दुईजनाबीच केकस्ता विषयमा छलफल भएको थियो भन्ने बारेमा भने केही बताइएको छैन । यस वार्ताको औपचारिक रेकर्ड पनि नराखिएको पाइएको छ । 

अमेरिकी छापामा यो समाचार आएपछि यस विषयमा अमेरिकामा व्यापक विवाद थपिएको छ । रुस र ट्रम्पको चुनाव अभियानसँग जोडिएर आएका पछिल्ला समाचारहरुपछिको यो अर्का खुलासाले अमेरिकी राजनीतिलाई फेरि एकपटक तताइदिएको छ । सुरुमा होइन भनिएको सो भेटघाटको समाचार आएपछि मङ्गलबार ह्वाइटहाउसले स्वीकार्न बाध्य भएको बताइएको छ । 

ह्वाइटहाउसले सो वार्तालाप सञ्चारमा आएजस्तो व्यापक र लामो समयको नभएर बेलुकाको खाना खानेबेलामा उनीहरुबीचमात्र तर छोटोवार्ता भएको बताएको छ । तर अमेरिकी पत्रिकाले सो भेटमा अरु कोही नभई दोभासेमात्र राखिएको र एक घन्टासम्म यो भेटवार्ता भएको बताएका छन् । दोभासे पनि रुसी नागरिक रहेको सो समाचारमा उल्लेख गरिएको छ । 

अमेरिकी गुप्तचर निकायले गत वर्षको राष्ट्रपतीय चुनाव अभियानमा रुसले ट्रम्पलाई राष्ट्रपति बन्नका लागि सघाएको आरोप लगाउदै आएको छ । तर राष्ट्रपति ट्रम्पले उक्त साँठगाँठको अस्वीकार गर्दै आएका भएपनि गत हप्तामात्र सो विषय पनि सार्वजनिक भएको थियो । त्यस समयमा राष्ट्रपति ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीको खुलासा पनि गतहप्ता नै भएको थियो । उनले सो समाचारको स्वीकार गरेका छन् । 

ह्यामबर्गको जी२० बैठकका समयमा राष्ट्रप्रमुखहरुको निजी रात्रिभोजका बेला दोश्रो बैठक भएको थियो । भेटमा अमेरिकी राष्ट्रपति एक्लै र रुसी राष्ट्रपतिसँग आफ्ना दोभाषे रहेका थिए ।एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ