arrow

राजपा सांसदले संसद हल्लाए, हामीलाई हल्का रुपमा नलिइयोस्

logo
प्रकाशित २०७४ साउन ९ सोमबार
rajapa_neta.JPG

काठमाडौँ । राष्ट्रिय जनता पार्टीले सरकार र राजनीतिक दललाई आफुहरुसँगको सहमति कार्यान्वयनलाई हल्का रुपमा नलिन भनेको छ । सोमबार बसेको व्यवस्थापिका संसद बैठकमा बोल्दै राजपा सांसद महेन्द्र राय यादवले यथास्थितिमा आफुहरु निर्वाचनमा जाने अवस्था नरहेको बताए ।

उनले भने, ‘यथास्थितिमा राजपा निर्वाचनमा जाने पक्षमा छैन । निर्वाचनलाई सरकारले हल्का ढंगले हेरिरहेको छ । हक्का ढंगले नलिइयोस् । हाम्रो मागलाई पनि हल्का ढंगले नलिइयोस् ।’

राजपाको अध्यक्ष मण्डलको सदस्य समेत रहेका यादवले संविधान संशोधन प्रस्ताव अघि बढाउन, राजनीतिक मुद्दा फिर्ता तथा घोषणा हुन बाँकीलाई शहीद घोषणा गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

यादवले अगाडि भनेका छन् , ‘राजपाले निर्वाचनमा भाग नलिए यो संविधान कार्यान्वयन हुन सक्दैन ।’ यो संविधान संशोधनमा आफुहरुको सहमति र समर्थन रहेको समेत यादवले प्रस्ट्याए ।

राजपालाई निर्वाचनमा सहभागी गराउन भन्दै सरकारले प्रदेश नम्बर २ को निर्वाचन असोज २ लाई सारेपनि राजपाले सरकारले गर्नु पर्ने काम तत्काल गर्नु पर्ने र संविधान संसोधन विधेयक अघि बढ्नु पर्ने अडान यथावत राखेको छ ।

नेता यादवले सरकारले हामीसँग भएका सम्झौता पूरा गर्छ कि गर्दैन ? भन्दै प्रशन गरे । सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयन, संविधान संसोधन लगायत आफुहरुसँग विगतमा भएका सहमति कार्यान्वनहुनु पर्ने बताउँदै उनले  सरकार र राजनीतिक दलहरु गम्भीर नबनेको आरोप लगाए ।

राजपालाई हल्का ढङ्गले लिए भविष्यमा त्यसले गम्भीर परिणाम निम्त्याउने राजपा सांसदहरुले चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ