arrow

अपराध तथ्यांकः एक वर्षमा ६१७ हत्या, ११३९ बलात्कार, हरेक दिन १४ जनाले गर्छन् आत्महत्या 

logo
प्रकाशित २०७४ साउन १७ मंगलबार
crime.jpeg

काठमाडौं । देशको शान्तिसुरक्षाको अवस्था खस्कँदै गएको प्रहरी तथ्यांकले देखाएको छ । विगतमा भन्दा पछिल्लो वर्ष हत्या, बलात्कार, अपहरण, लागुऔषध कारोबार चोरी डकैतीजस्ता गम्भीर प्रकृतिका अपराध बढेका छन् । 

गत वर्ष करिब ८ प्रतिशतले अपराधका घटना बढेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७३–७४ मा ३१ हजार चार सय ६२ वटा अपराध भएका छन् । 

यो संख्या अघिल्लो वर्षभन्दा करिब दुई हजार आठ सय ९९ बढी हो । आव ०७२–७३ मा २८ हजार पाँच सय ६३ अपराधका घटना प्रहरीमा दर्ता भएका थिए ।

हत्या र बलात्कारका घटना बढे 
गत वर्ष साउनदेखि असारसम्म देशभरि ६ सय १७ जनाको हत्या भएको छ । त्यसमध्ये केही आपराधिक समूहबाट त केही आपसी झगडामा हत्या भएका छन् । 

अघिल्लो वर्ष पाँच सय ९८ जनाको हत्या भएको थियो । त्यस्तै, बलात्कारका घटना पनि बढेका छन् । यो वर्ष देशभरि एक हजार एक सय ३७ बलात्कारका घटना प्रहरीमा पुगेका छन् । 

अघिल्लो वर्ष १ हजार ८१ वटा बलात्कारका घटना भएका थिए । यो तथ्यांकले हरेक दिन देशमा तीनभन्दा धेरै बलात्कारका घटना हुने गरेको देखाउँछ । त्यस्तै, एक हजार ६ सय २७ वटा चोरी तथा डकैती भएका छन् ।

हरेक दिन १४ जनाले गर्छन् आत्महत्या 
पछिल्लो समय आत्महत्याका घटना बढ्दै गएका छन् । एक वर्षमा ५ हजार एक सय २४ ले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । 

हरेक दिन १४ नेपालीले आत्महत्या गर्छन् । आर्थिक वर्ष ०७२(७३ मा चार हजार ६ सय ७३ र ०७१(७२ मा चार हजार ३ सय ३२ जनाले आत्महत्या गरेका थिए ।

गत वर्ष ३७६९ ले झुन्डिएर आत्महत्या गरेका छन् । प्रहरीका अनुसार १२१५ ले विष खाएर, ७१ ले अग्लो स्थानबाट हामफालेर, ३४ ले खोलामा हामफालेर, २४ ले आगो लगाएर तथा चारजनाले करेन्ट लगाएर आत्महत्या गरेका छन् । 

नेपाल विश्वमै धेरै आत्महत्या गर्ने देशको सूचीमा छ । गरिबी, डिप्रेसनको समयमा उपचार नहुनु र पारिवारिक कलहका कारण धेरै आत्महत्याका घटना हुने गरेका छन् ।

त्यस्तै, प्रेम तथा पढाइमा असफलता तथा गम्भीर रोगका कारण पनि केहीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ