arrow

जनप्रतिनिधिले चटक देखाउने होइन, विकासमा ध्यान दिनुपर्दछ : ओली

logo
प्रकाशित २०७४ साउन २४ मंगलबार
KP-oli-naya-news.jpeg

इलाम । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको आवश्यकताअनुसार विकास कार्यमा अघि बढ्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेका छन् । एमाले १ नम्बर प्रदेश कमिटिले मंगलबारदेखि इलामका सदरमुकाममा सुरू गरेको प्रदेशस्तरीय नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले भने, “लोकतन्त्रको संस्थागत विकासका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने भएकाले उनीहरुले जन केन्द्रित विकासमा बढी ध्यान दिनुपर्दछ ।”

चुनाव जितेपछि फूलका माला र खादासँगै जनताले कामको जिम्मेवारी दिएको बताउँदै ओलीले जनप्रतिनिधिहरुले जनताको भावना शिरोधार्य गरेर काम गर्नुपर्ने बताए । ओलीले भने, ‘रंगिला मनाउन चुनाव जितेको होइन, जनताको काम गर्न जित्नु भएको हो । चटक नदेखाई राम्रो काम गरेर देखाउनुस् ।’

यस्तै, अध्यक्ष ओलीले आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पनि एमाले पहिलो हुने दाबी गर्दै मधेशीको नाममा व्यक्तिगत स्वार्थका लागि लाग्नेहरूका कारण त्यहाँका जनता पछि परेको बताए ।

नेकपा एमालेसँग प्रतिस्पर्धा गर्ने क्षमता अन्य दलसँग नभएको जिकिर गर्दै उनले भने, –“अरूसँग स्पष्ट धारणा नभएकाले झुटको खेती गर्नु बाहेकको नीतिगत प्रतिस्पर्धा गर्ने क्षमता छैन ।”

अध्यक्ष ओलीले नीतिगत प्रतिस्पर्धा गर्न नसकेपछि एमालेले ल्याएका राम्रा एजेण्डाहरूको कुप्रचार गर्दै जनतलाई अलमलमा पारिरहेकाले निर्वाचित जनप्रतिनिधिलाई संयमित रहन अनुरोध गरे ।

साउन २५ गतेसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेललगायतले प्रशिक्षण दिन कार्यक्रम छ ।  प्रशिक्षणमा प्रदेश नम्बर १ का तीनसय बढी जनप्रतिनिधिको सहभागिता छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ