arrow

४१ हजारले गरे 'स्वास्थ्य बीमा'

logo
प्रकाशित २०७४ साउन २६ बिहिबार
swasthya_bima.jpg

चितवन । सरकारले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लामा उत्साहजनक सहभागिता देखिएको छ । 

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमार्फत असार १ गतेबाट जिल्लामा स्वास्थ्यबीमा कार्यक्रम शुरु गरिएको थियो । हालसम्म आठ हजार परिवारका ४१ हजारले बीमा गराएको जिल्ला प्रबन्धक सिर्जना पौडेलले बताए । 

अन्य जिल्लाको तुलनामा छोटो समयमा चितवनमा धेरैले बीमा गराएको पौडेलको भनाई छ । जिल्लामा १३५ जना अभिकर्तामार्फत बीमा गराउने काम भइरहेको छ । पौडेलका अनुसार अभिकर्ताले एक महिनामा रु ५० हजारसम्म आम्दानी गरेका छन् । पाँचजनासम्मको परिवारलाई वार्षिक रु दुई हजार ५०० र त्योभन्दा बढी सदस्य भएमा प्रतिव्यक्ति रु ४२५ थप गर्नुपर्ने हुन्छ । 

संकलित रकममध्ये अभिकर्ताले १० प्रतिशत पाउँछन् । बीमा गरेका परिवारले पाँचजनाको वार्षिकरुपमा रु ५० हजारसम्मको उपचार गर्दा रकम तिर्नु पर्दैन । त्यसैगरी व्यक्ति थप भएमा प्रतिव्यक्ति रु १० हजारसम्मको बीमा रकम थपिने छ । जसमा स्वास्थ्य परीक्षण, प्रयोगशाला, शल्यक्रिया, औषधिलगायत बीमाले समेट्ने गर्छ । 

जिल्लाको भरतपुर अस्पताल, दुई मेडिकल कलेज, बकुलहर अस्पताल रत्ननगर, गुञ्जमान सिंह अस्पताल टाँडी, बघौंडा अस्पताल माडी, शिवनगर, जुटपानी र खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र प्रथम सेवा बिन्दु हुन् भने रिफर अस्पतालका रुपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर आँखा अस्पताल रहेका छन् । 

थोरै रकमबाट ढुक्कसँग रु ५० हजारसम्मको उपचार पाउने भएपछि यसको आकर्षण बढेको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ