arrow

सप्तरीमा सीडीओकै कन्तविजोग, क्वार्टरभित्र बाढी पस्दा बाहिरै बास, स्थानीय भोकभोकै

logo
प्रकाशित २०७४ साउन २८ शनिबार
saptari-badhi.jpg

काठमाडौं । लगातारको वर्षाले सप्तरीमा दुई हजार बढी घर डुबानमा परेका छन् । बाढीका कारण पाँच सय घरपरिवार विस्थापित भएका छन् । पानी परिरहेकाले उद्धारमा कठिनाई भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले बताए ।

उनले भने, ‘मेरै क्वार्टरमा पानी पसेर विजोग भएको छ । कसरी अनुगमन निरीक्षण गर्नु । क्वार्टरमा पानी पानी पसेपछि हाम्रो पनि बाहिरै बास भएको छ ।’ कयौँ मानिस सडकमा खान नपाएर भोकभोकै बसिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी कट्वालले भने, ‘पानी नरोकिएका कारण उद्धार र राहतको काममा वाधा पुगेको छ । हामी धेरै पटक बाहिर निस्नि खोज्यौँ भएन । बल्ल थोरै टेन्ट र ड्राइफुड बोकेर बस्तितिर जाँदै छौँ ।’

२०४४ साल पनि अहिले मात्रै यस्तो वितण्डा भएको सुनेको प्रमुख जिल्ला अधिकारी कटवालले बताए । खाँडो, जिता, बिहुल, त्रियुगालगायतका नदीहरुमा आएको बाढीका कारण नगर तथा गाउँका बस्ती डुबानमा परेका हुन् । तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्वर–५ कुशहा र बनरझुलाको बस्तीमा जिता नदीको बाढी पस्दा ३ सय ५० परिवार घर छाडेर सडक तथा सुरक्षित स्थानमा बसेका छन् ।

कोशी नदीको पानी पसेर हनुमाननगर योगिनीमाई नगरपालिकाको वडा नम्बर ७ र १४ मल्हनियाँ टोलका ३ सय १० घर डुबानमा परेका छन् । मल्हनियाँमा ५० परिवार विस्थापित भएका छन् । तिलाठी कोइलाडी, सकरपुरा र बेल्हीमा ४ सय बढी घरमा पानी पसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढीले खाँडो नदीको बाँध पौवाँ, बिरौल र देउरीभरुवामा भत्काउँदा डुमरी, शिवथान, फर्सैठ पकरी, पौवाँ, पिपराही, मलेठ, राजविराज नगरपालिकाको वडा नम्बर ४, ५, ६, ७, ८ र १५ को देउरी भरुवासहितका बस्ती जलमग्न छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ