arrow

पृथ्वी अर्थतन्त्र नेपाल बदल्ने मुलमन्त्र

पृथ्वीमन्त्र नेपालका सबै विचारको माउविचार

logo
खगेन्द्र राज सिटौला,
प्रकाशित २०७२ पुष २५ शनिबार
PrithviNarayan-Shah.JPG.jpeg
के हुनसक्छ नेपाल बदल्ने मुलमन्त्र? यो मुल सवालको जवाफ हुन्छ पृथ्वीअर्थतन्त्र हुन सक्छ नेपाल बदल्ने मुलमन्त्र। अब अर्को सवाल अघि सर्छ के हो पृथ्वीअर्थतन्त्र र यो कसरी हुनसक्छ नेपाल बदल्ने मुलमन्त्र ? अब हामी छलफलको मुल बिषय यही सवालको जवाफलाई बनाऔं। तर्कपूर्ण निष्कर्ष सहित व्यबहारबाटै नेपाल बदल्ने मुलमन्त्र पृथ्वीअर्थतन्त्र हो भन्ने तथ्यलाई पुष्टि र प्रमाणित गरौं।
 
पृथ्वीअर्थतन्त्र भनेको नेपाल राष्ट्रका निर्माता एवं वडानेता पृथ्वीनारायण शाहले अघि सारेको स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्रलाई बुझ्नु पर्दछ। परशक्तिमा आश्रित नहुने, परशक्तिबाट स्वसित निर्देशित र सञ्चालित नहुने स्वदेशी साधन, मन, जन, धन, उत्पादन र सीपलाई संगठित एवं विकसित गरेर दिगो र छिटो विकसित मुलुक बनाउने मन्त्र स्वदेशवादी पृथ्वीअर्थतन्त्र नै हो। परतन्त्र र भ्रष्टतन्त्र बिरोधी स्वच्छ, सम्पन्न स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्र, सामाजिक न्यायमा आधारित योग्यहरुले नेतृत्व गरेको राष्ट्रिय एकताको लोकतन्त्र पृथ्वीविचारको गुदी मन्त्र हो।
 
अब यही मुलमन्त्र माथि उभिएर स्वदेशवादी अर्थतन्त्रको खाका कोरौं र योजना बनाऔं। सबभन्दा पहिला अर्थतन्त्रलाई ध्वस्त पार्ने अर्थतन्त्रका धमिरा र किरोरुपी भ्रष्टाचारलाई निर्मुल पार्नको लागि भ्रष्टाचार विरोधी पृथ्वीमन्त्रलाई साचै खरोसँग लागु गरौं। ' घुष दिन्या र घुष खान्या राज्यका शत्रु हुन इनको धन जिव लिया पनि पाप छैन ' मा आधारित भ्रष्टाचार विरोधी कडा कानुन र संयन्त्र खडा गरी काम थालीहालौं। यसलाई समग्र आर्थिक विकास र सुशासनको पहिलो शर्त बनाऔं।
 
माथि भनिएको स्वदेशी साधन, मन, जन, धन, उत्पादन र सीपलाई संगठित, विकसित, उपयोग र परिचालित गरेर आत्मनिर्भर एवं दिगो स्वदेशवादी अर्थतन्त्रको आधार खडा गर्न सकिन्छ । यसो गर्नको लागि पृथ्वीअर्थतन्त्रका दुई मुलमन्त्रलाई मार्गदर्शक सिध्दान्त बनाउनु पर्दछ। ति दुई मन्त्र हुन ' यसो भए नगत विदेश जादैन र नगत षैचनु ' (खैचनु तान्नु)पर्दछ । अर्थात आत्मनिर्भर र निर्यातमुलक सम्पन्न स्वदेशवादी अर्थतन्त्र।
 
कसो भए नगद विदेश जादैन त? नेपालका हिमालबाट पग्लेर बग्ने पानी नेपाली साधन हो। नेपाली मन र धनलाई संगठित गरेर सीपयुक्त नेपाली जनलाई परिचालित गरेर विद्युत उत्पादन गरौं। विद्युत उत्पादन गर्न नेपाली मात्रको लगानीलाई संगठित गरेर परिचालन गर्नको लागि पनि हामीसंग बिषे.पृथ्वी मन्त्र छ। बिषे.पृथ्वीमन्त्र भनेको नेपाल एकिकरण अघि बढाउन बिषे नगर्चीको सुझाब अनुसार राजा पृथ्वीनारायण शाहले गोर्खा राज्यका प्रत्येक घरधुरीबाट तत्कालिन मुल्यको रु १ संकलन गराएका थिए। त्यसरी नै बिषे पृथ्वी विद्युत बिकास राष्ट्रिय कोष खडागर्ने नियमसहितको विश्वासिलो संयन्त्र बनाउनु पर्दछ। देश बिदेशका हरेक नेपालीहरु संघ संस्थाहरु सबैबाट नाफमुलक कोष खडा गरौं। अरबौंको यो नेपाली लगानी नेपाली पानीमा लगाऔं। र नेपाली श्रम र सीपले नेपालीको लागि बिजुली बालौं। यो ' यसो भए नगद विदेश जादैन ' को मूख्य कडी हो । कसरी हो त ?
 
नेपाली जन, धन, सीप र श्रमले नसकेमा बाहिरको धन र सीप समेतले छिटो र दिगो पर्याप्त बिजुली उत्पादन गर्नु पर्दछ। उत्पादित बिजुलीलाई काम दिनको लागि पूर्व पश्चिम तराई, पहाड र उत्तर दक्षिण तिनैतिर रेलमार्गका बृहत योजना अघिसार्नु पर्दछ । सबैतिर विद्युतले मात्र चल्ने रेलसेवा सन्चालन गर्नुपर्दछ। सबैखाले साना ठूला सवारी साधन बिजुलीले चल्ने मात्र सडकमा कुदने चाँजो मिलाउनु पर्दछ। धरतिमा मात्र होइन आकासमा पनि रोपवे र केवलकारका तारका सन्जाल बनाउनु पर्दछ।
 
यसरी यातायात क्षेत्र बिजुलीको मात्र क्षेत्र भएपछि स्वभाविकरुपमा डिजेल, पेट्रोल विस्थापित भएर अरबौंको ब्यापारघाटामा सुधार आएर विदेशी मुद्रा बच्छ। बिजुलीले कलकारखानाबाट पनि डिजेल, पेट्रोल विस्थापित गर्छ। यसरी नै सबै घर, होटल रेस्टुराका चुलाहरुबाट पनि ग्यास विस्थापित भएपछि स्वत अरबौं नगद विदेश जानबाट रोकिन्छ। बिजुलीले अगेनाबाट दाउरा पनि विस्थापित गरेपछिको अर्को फाइदा हो बन जोगिनु र प्रदुषणमा सुधार आउनु। यो यसो भया नगत विदेश जादैन भन्ने पृथ्वीमन्त्रको पहिलो शर्त हो पहिलो उपाया हो। बिजुली बेचेर होइन बिजुली उपयोग गरेर धनी हुने योजना बनाउ।  
 
दोस्रो उपाय पनि पृथ्वीमन्त्रकै वरिपरि छ। कृषियोग्य जमिनमा बस्ति नबसाल्न र घर बस्तिले कुलो सिचाई नछेक्न भनि कृषिलाई प्राथमिकता दिने पृथ्वी कृषिमन्त्र अर्को बलियो स्वदेशवादी अर्थतन्त्रको आधार हुने छ। नेपाली चुलो, खाना, खाजामा नियमित चाहिने दाल, चावल, पिठो, साग, तरकारी, अचार, गुलियो, पिरो, अमिलो, मसला, भुटुन, दुध, दही, घिउ, माछा मासु, अण्डा फलफूल चीयाकफीमा मात्रै आत्मनिर्भर हुने हो भने अरबौंको जनशक्ति र धनशक्ति विदेश जादैन। अझ पर्याप्त बिजुलीको मुलुकमा प्रांगारिक मल कारखाना स्थापना गरेर प्रांगारिक कृषि उत्पादनको मुलुक बनाउन सकेमा र अन्तराष्ट्रिय गुणस्तरका निर्यातयोग्य कृषि उपजका लागि कारखाना स्थापना र उत्पादन बढाउने हो भने नगद बचाउने मात्र होइन कि नगत षैंचने पनि हुन्छ कृषि ब्यवसाय। यसरी यसोभए नगत विदेश जादैन भन्ने पृथ्वीमन्त्रलाई बिजुलीले र ब्यवसायिक कृषिले साकार पार्छन। साथै पशु मल र मानव मलको ग्यासबाट खाना पकाउने ग्यास उत्पादन गरेमा पनि नगद विदेश जाँदैन ग्यासमा।
 
जडीबुटी निर्यातगरी नगत षैंचनु भन्ने यो पृथ्वीमन्त्रलाई विदेशी मुद्रा आर्जन गर्ने प्याकेज आर्थिक नीति विचारको रुपमा बुझ्नु पर्दछ। विदेशी मुद्रा षैचन केलाई प्राथमिकता दिने त? धुवारहित स्वच्छ बिजुलीको नेपाल र रासायनिक मल र बिसादी रहितको स्वस्थ खाद्यान्नको नेपालको नया परिचयले अबस्य विश्वको ध्यान तान्ने छ। हिमचुलीको शिर, हिन्दुको शिर पशुपतिनाथ र बौध्दको शिर लुम्बिनी समेतको विविध प्रकृति र संस्कृतिको सुन्दर नेपालको पुरानो परिचय माथि थपिएको नयाँ परिचयले तान्नसक्छ धेरै पर्यटकहरु नेपालमा। यो नगद षैंचने प्रमुख माध्यम हुने छ। व्यवस्थित पर्यटनको गुरु योजना बनाउन ढिला नगरौं। 
 
जानेमा नेपालको पानी नेपालीको डलरको खानी हुन्छ। तर अनेक संझौताको नाममा नदीहरु विदेशीलाई दिदै राष्ट्रलाई हानी पार्ने बानीमा सुधार आउनु पर्छ नेपाली नेताहरुमा। उच्च गुणस्तरको खानेपानी बेचेर पनि नेपालले करोडौं कमाउन सक्छ। प्रकृतिले दिएको पानी नेपालको सवभन्दा ठूलो राष्टिय खेति हो। यो वा त्यो बाहनामा यो खेतिमा क्षति पार्ने काम बन्द हुनुपर्छ। जडीबुटी खेति, जंगल खेतिले पनि धेरै नगद तान्न सक्छ। स्तरीय शिक्षा र स्वास्थ्यको खेतिले पनि धेरै विदेशीसगै नगद तान्न सक्छ। रेमिटेन्स खेति कुनै विकासे खेति होइन। ढिलो चाडो यो राष्ट्रको विनासे खेति नै साबित हुन्छ। नेपाली जन स्वदेशमा, नेपाली धन स्वदेशमाको दिगो र दीर्घकालिन विकासे रणनीति तयार गरौं। यो भनेको नै विदेशमा नगद जान नदिने र स्वदेशमा नगद तान्ने बृहत रणनीति हो।        
 
नगद तान्ने र नगद थाम्ने पृथ्वीमन्त्रलाई मुर्तरुप दिन राष्ट्रिय योजना आयोगले विज्ञहरु समेत सामेल गरी ठोस योजना र नीति बनाउने काममा लागि हालोस। सुशासन र बिकास मात्र चाहने राजनीति दल छन भने नेपालमा पृथ्वीमन्त्रलाई मुल गुरुमन्त्र मानेर आजैबाट काममा लागुन। सीप सिकाउनु भन्ने पृथ्वीनारायणको मन्त्रलाई पक्रदै राष्ट्रिय सीपकेन्द्र खोलीहाल। जताततै सीपको आवश्यकता छ। जगै देखि सीप शिक्षाको नारामा आधारित व्यवसायिक शिक्षा नीतिले स्वरोजगार,  विकास र रोजगारको आधार तयार गर्छ।
 
नेपाल बदल्ने मुलमन्त्र पृथ्वीमन्त्र हो । वीपीवादी, माक्र्सवादी, राष्ट्रवादी, मधेशवादी अनेक पहिचानवादी आदि इत्यादि सबैलाई विकासवादी र नेपालवादी बनाउने मन्त्र नै पृथ्वीमन्त्र हो। नेपाली जनतालार्इं मूर्ख बनाउने र ठग्ने नियतले विदेशीले बोकाइदिएका अनेक चर्का नारा नउराल। तिमी इमान्दार छौ र नेपाल र नेपालीको हितमा जे गर्न चाहन्छौ त्यो पृथ्वीमन्त्रमा पाउछौ। पृथ्वीमन्त्र आफैमा नेपालका सबै विचारको माउविचार हो। कस्तुरीले आफ्नो नाभीमा भएको विन्दा थाहा नपाएर बास्ना खोज्दै भड्के जस्तै नेपाली राजनीति भड्केको छ।
 
आर्थिक बिकास र एकताको लागि नेपाली राजनीति भुलमन्त्रबाट मुलमन्त्रमा फर्किनु पर्छ। यो आफैमा नेपालको लागि नेपालीले गर्छौं नेपालीको लागि नेपालीले नै सक्छौंको राष्ट्रिय अठोट हो । राष्ट्रिय चिन्तनधारको जगमा खडा भएको यो नै साँचो अर्थको नेपालशक्ति हो । आउनुहोस् विकास सुशासन र एकताको लागि सबै नेपालीले पृथ्वीविचारको झण्डा उठाऔं । साँचो अर्थको नेपाल शक्तिको पहिचान स्थापित गरेर सबै जातको फूलबारीमा सच्चा माली भएर रमाऔं। सबैमा चेतना भया ।
(सिटौला तेह्रथुमका पूर्व जिविस सभापति हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ