arrow

उच्चशिक्षालाई व्यावहारिक शिक्षा अनुकूल बनाउनुपर्छः प्रधानमन्त्री

logo
प्रकाशित २०७४ साउन ३२ बुधबार
pokhara_university.JPG

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले उच्चशिक्षाको पाठ्यक्रमलाई रोजगारी र उत्पादन अभिवृद्धि तथा प्राकृतिक जोखिम न्यूनीकरण गर्ने व्यावहारिक शिक्षा अनुकूल बनाउनुपर्ने बताएका छन् ।  

पोखरा विश्वविद्यालयको अठारौँ साधारणसभालाई बुधबार  सम्बोधन गर्दै देउवाले वैज्ञानिक, व्यावहारिक र रोजगारमूलक शिक्षाको पठनपाठन तथा विस्तारमा जोड दिएमा मात्र विश्वविद्यालयका उद्देश्यहरू हासिल हुने बताए ।

पोखरा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले देशको प्रमुख पर्यटकीयस्थल, कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थल एवम् सात तालको वाटिका शहर लेखनाथमा अवस्थित सो विश्वविद्यालयको नवनिर्मित केन्द्रीय प्रशासनिक भवनको उद्घाटन तथा प्राज्ञिक भवन कम्प्लेक्सको शिलान्यास कुलपतिको हैसियतमा आफूले २०५८ साल माघ ७ गते गरेको स्मरण गर्दै अहिले विश्वविद्यालयले गरेको विकास, विस्तार र दायरा फराकिलो भएको पाइएकोमा खुशी व्यक्त गरे।

उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले लगभग ३० हजार विद्यार्थीले अध्ययन गर्ने र बर्षेनी लगभग पाँच हजार दक्ष एवम् सीपयुक्त जनशक्ति उत्पादन गरेको यो विश्वद्यालयको थप विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे।

सभामा उपकुलपति प्रा चिरञ्जीवी शर्माले प्रस्तुत गरेको वार्षिक नीति र कार्यक्रममा प्राप्त सुझाव समेटेर १० दिनभित्र कुलपतिले पारित गर्ने निर्णय भएको जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ