arrow

निर्वाचनले निम्त्याएको अस्थिरता

logo
जीवन भण्डारी
प्रकाशित २०७४ भदौ ३ शनिबार
refugeecango.jpg.jpeg

काठमाडौं । निर्वाचन स्थिरताका लागि गरिन्छ । कुनै राजनीतिक अस्थिरता छ भने पनि निर्वाचनको जनमतले त्यसको व्यवस्थापन गरिन्छ र यस समय अल्पमतले स्वीकार्नुपर्ने प्रजातान्त्रिक नियम नै छ । त्यसको पालनाले कुनै देशको राजनीतिक र द्वन्द्व समाधान पनि हुन्छ । 

पूर्वी अफ्रिकाको धनी देशका रुपमा रहेको केन्यामा भने त्यसो भएन । निर्वाचन कस्तो भयो, अर्थात् प्रजातन्त्रको स्थापित मूल्य र मान्यता बमोजिम नै भयो वा विपरीत भन्ने बारे दलका आआफ्नै दाबी छन् । मुख्य कुरा के हो भने निर्वाचनले स्थायित्व दिएन, बरु देशलाई अनिश्चय र अस्थिरतातर्फ बढी उन्मुख गरायो । आवश्यक मुद्दामा र सही ढंगले निर्वाचन नहुँदा स्थिरता होइन, अस्थिरता ल्याउछ भन्ने यथार्थ केन्यामा पुष्टी हुनआएको छ । जुन देशलाई अस्थिरतातर्फ धकेल्न बढी सहयोगी हुने देखिएको छ । 

करिब दुई हप्ता अघि भएको राष्ट्रपतीय आमनिर्वाचनपछि तनावपूर्ण अवस्था सृजना भएको छ । सत्तामा राष्ट्रपति उहुरु केन्याटाको नै विजय भएपछि सो तनाव उत्पन्न भएको छ । निर्वाचनमा धाँधली गरेको र फेरी पनि आफूलाई विजयी घोषणा गराएको भन्दै प्रतिपक्षीहरु प्रदर्शनमा उत्रिएपछि तनावको अवस्था उत्पन्न भएको हो । 

राष्ट्रपति केन्याटाले केन्याको आमनिर्वाचनको आह्वान गरेलगत्तै अर्कै थियो त्यहाँको त्रास । निर्वाचन र त्यस लगत्तैका हिंसाहरुमा कैयौँ नागरिकको ज्यान जाने डर थियो स्वदेशी र विदेशीहरुमा पनि । यसअघिको निर्वाचनमा जस्तो निर्वाचनकै कारण नागरिकको मृत्युको तथ्यांकले सय त नाघेको छैन । तर पनि यो निर्वाचनले अर्को हिंसा भने निम्त्यायो, राजनीतिक हिंसा । जसलाई अस्थिरताले साथ दिएको छ र यहाँको राजनीतिमा स्थिरताको संकेत नदिने देखाएको छ । 

परिणाम घोषणा भएसँगै विपक्षीको पकड मानिएको बहुल किसुमु सहर र राजधानी नैरोबीका किबेरालगायतका क्षेत्रमा विरोध प्रदर्शन भइरहेका छन । कैयौं ठाउँमा प्रहरीले प्रदर्शनकारी माथि अश्रुग्याँस तथा गोली चलाएको बताइएको छ । मतपरिणामलाई लिएर विपक्षीले गरेको प्रदर्शनमा आठजनाको मृत्यु भएको छ । तर विपक्षीले सरकारी दमनमा २४ जनाको मृत्यु भएको दाबी गरेका छन । प्रदर्शनका क्रममा १५० जनाभन्दा बढी घाइते भएका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । 

केन्यामा अहिलेको राष्ट्रपतीय निर्वाचनका दुई प्रतिश्पर्धी वर्तमान राष्ट्रपति उहुरु केन्याटा र विपक्षी उम्मेदबार राइला ओडिङ्गाको राजनीतिक प्रतिश्पर्धा आफ्नो पुस्तामा मात्रै नभई बाबुको पाला देखिको हो । सन् १९६० को दशकमा उनीहरुका बुवाहरु पनि राजनीतिक प्रतिस्पर्धी थिए । विपक्षी नेता ओडिङ्गा ७२ वर्षको भएका छन् । उनले तीन पटक राष्ट्रपतिको निर्वाचन लडेपनि सवै निर्वाचनमा पराजित भएका छन् । वर्तमान राष्ट्रपति केन्याटा ५५ वर्षका भए । उनि केन्याका संस्थापक राष्ट्रपतिका छोरा हुन् । सन् २०१३ मा उनले ओडिंगालाई झिनो मत अन्तरले पराजित गरेका थिए । 

निर्वाचनमा पनि प्रारम्भीक नजितामा तत्कालिन राष्ट्रपति उहुरु केन्याटाले अग्रता कायम गरेपछि विपक्षीहरुले नतिजा अस्विकार गर्ने वताउदै प्रर्दशन सुरु गरेका थिए । उनीहरुको प्रदर्शनका कारण केही दिन मतगणना र मतपरिणाम सार्वजनिक गर्न समेत रोकिएको थियो । तर प्रतिपक्षीहरुले मतपरिणामलाई कुनैपनि हालतमा स्विकार गर्न नसकिने अडान राखेपछि निर्वाचन आयोगले मत परिणाम घोषणा गरेको थियो । करिव ९६ प्रतिशत मत गण भएर तत्कालिन राष्ट्रपति उहुरु केन्याटाले ५४ प्रतिशत र उनका निकटतम प्रतिद्वन्द्वी राइला ओडिङ्गाले भने ४४.७ प्रतिशत मत प्राप्त गरेपछि विपक्षीहरुले प्रदर्शन सुरु गरेका हुन् । अन्तिम मत गणनामा दुई उम्मेदवारबीच १३ लाख मतको फरक रहेको बताइएको छ । 

आयोगले राष्ट्रपति उहुरु केन्याटालाई नै विषयी भएको घोषणा गरेपछि प्रदर्शनकारी थप उत्तेजित भएर प्रदर्शन चर्को बनाउदै लगेका थिए । विपक्षी उम्मेदवार राइला ओडिङ्गा पक्षले निर्वाचनको मत परिणाम नक्कली भएको दावी गर्दै जनतालाई मतपरिणाम अस्विकार गर्न आह्वान गरेको छ । देशका विभिन्न मतदान केन्द्रहरुमा ९० प्रतिशत गणना सकिएको बताईरहेका बेला विपक्षी उम्मेदबार ओडिङ्गाले पत्रकार सम्मेलन गरेर निर्वाचन परिणाम नक्कली र धाँधलीपूर्ण भएको आरोप लगाएका थिए । मतगणना मतदान भएकै दिनको रातिबाट सुरु भएको थियो । तर त्यसको भोलीपल्ट अपराह्नबाट केन्याली वर्तमान राष्ट्रपति उहुरु केन्याटाले अग्रता कायम गरेपछि विवाद सुरु भएको थियो । मतगणना जारी नै रहेका बेला विपक्षीहरुले मतगणना प्रक्रियाको विरोध गरेका थिए । उनीहरुले निर्वाचन प्रक्रिया नै बहिस्कार गरेका छन् । 

केन्यामा चुनावको प्रमुख मुद्दा जातीयता रहने गरेको पाइन्छ । धेरै मतदताले साम्प्रदायिक आधारमा मतदान गर्ने गरेका छन् । आदिवासी किकुयु जातिका नेता एवम् राष्ट्रपति उहुरु केन्याटाले मतदान सुरु हुनुभन्दा केही घन्टा अगाडि नै राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै मतदातालाई धम्की र हिंसाको दबाबमा नपर्न सुझाव दिएका थिए । यस निर्वाचनमा जसले जित हात पारे पनि एकवद्ध हुनुपर्ने भन्दै उनले निर्वाचनमा संयमता अपनाउन बारम्बार आग्रह गरेका थिए । यस निर्वाचनमा भाग लिनका लागि एक करोड ९० लाखभन्दा बढी मतदाताले मतदान नामावलीमा नाम दर्ता गराएका थिए । 

साम्रदायीक विभाजन हुने भएकाले केन्यामा निर्वाचनका बेला हिंसात्मक घटनापनि बढी हुने गरेको पाइएको छ । निर्वाचनका क्रममा यसअघिको तुलनामा भने धेरै हिंसा भएको छैन । यस निर्वाचनमा चार जनाको निधन भएको छ । त्यो पनि मतदानका क्रममा नभएर निर्वाचनपछि मतगणनाको क्रममा भएको हिंसाका क्रममा चार जनाको मृत्यु भएको हो । अफ्रिकी राज्य केन्यामा सन् २०१३ मा भएको विवादित निर्वाचनको क्रममा भएको हिंसा हत्यामा परी कम्तीमा पनि एक हजार ३०० व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ लाख विस्थापित हुनुपरेको थियो । 

निर्वाचनमा धाँधली भएको प्रमाण आफूहरुले भेटेको भन्दै विपक्षी उम्मेदवार राइलाका समर्थकहरुले आन्दोलन गरिरहेका छन् । कम्प्युटर प्रणालीमा ह्याकरहरु घुसेर मतपरिणाम प्रभावित पारेको उनीहरुको आरोप रहेको छ । राष्ट्रपतीय निर्वाचनमा विपक्षी उम्मेदवार ओडिंगाले मतपरिणाम प्रभावित हुने गरी चुनाव आयोग प्रणाली ह्याक भएको आरोप लगाएका हुन् । गत साता मारिएका एक वरिष्ठ निर्वाचन अधिकारीको पहिचान प्रयोग गरेर त्यस्तो ह्याक गरिएको पनि उनले आरोप लगाए । तर विपक्षीहरुको आरोपको केन्याको निर्वाचन आयोगले छानबिन गर्दा त्यस्तो प्रभाव नपरेको जनाएको छ । निर्वाचन आयोगका प्रमुखले प्रणालीप्रति आफ्नो पूर्ण विश्वास रहेको भन्दै छानविन गर्दा पनि मतपरिणाम प्रभावित पार्न भने नसकेको जनाएका थिए । 

अन्तरराष्ट्रिय निर्वाचन पर्यवेक्षकले पनि चुनाव पारदर्शी र विश्वसनीय रुपमा गरिएको जनाएका छन् । पूर्वअमेरिकी विदेशमन्त्री जन केरीले निर्वाचन प्रक्रियाको विश्वसनीयता कायम रहेको बताएका छन् । प्रजातान्त्रिक प्रतिष्पर्धामा पराजित हुनु प्राकृतिक भएको भन्दै युरोपेली संघले पनि उम्मेदवारहरुले हार स्वीकार्नु पर्ने बताएको छ । तर ओडिंगाले निर्वाचन आयोगको कम्प्युटर प्रणाली ह्याक गरिएको र केन्याको इतिहासमै सबैभन्दा खराब मतदाता चोरीको घटनाको साक्षी बनेको बताउने गरेका छन् । 

मतपरिणामबारे ओडिंगाले टिप्पणी गरे लगत्तै पश्चिमी नगर किसुमुमा उनका समर्थकहरुको प्रहरीसंग झडप भएका छन् । प्रहरीले अश्रु ग्यास प्रयोग गरेको छ । तर ओडिंगाले भने पत्रकार सम्मेलनमा बोल्दै आफ्ना समर्थकहरुलाई संयमित हुन आग्रह गरेका छन् । विपक्षीको गढ रहेको किसुमुमा उनका सयौं समर्थकहरुले राइला ओडिंगा विना शान्ति हुँदैन भन्ने नाराबाजी गरेका थिए । पछिल्लो घटनापछि कतिपयले एक दशक अगाडी भएको निर्वाचन हिंसाका घटना पुनः दोहोरिने चिन्ता व्यक्त गरेका छन् । 

केन्याको राष्ट्रपतीय निर्वाचनमा पराजित राइला ओडिंगाले आफ्ना समर्थकलाई सोमबार राष्ट्रभर आमहडताल गर्न गरेको अनुरोधका बाबजुद केन्याका अधिकांश नागरिक काममा फर्किएका छन् । निर्वाचनको विरोधस्वरूप ओडिंगाले सबै नागरिकलाई सोमबार एक दिन आमहडताल गर्दै कोही पनि काम नगर्न अनुरोध गरेका थिए । ओडिंगाले उहुरु केन्याटाको समूहले निर्वाचनमा धाँधली गरेको विरोधमा चरण चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताएकाछन्  । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ