arrow

मोदीको बोलीले फेल खायो, फोन शुल्क घटाउन भारतीय कम्पनी नै अनिच्छुक

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
nepal-india-flag.jpeg

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट नेपालमा हुने टेलिफोन शुल्क घटाउने घोषणा गरेको तीन वर्ष पूरा भइसक्दा पनि यो लागू हुनसकेको छैन । 

भारतीय दुरसञ्चार सेवा प्रदायक नै नेपालमा टेलिफोन शुल्क घटाउन खासै इच्छुक नहुँदा अहिलेसम्म यो कार्यान्वयनमा आउन नसकेको नियामक नेपाल दुरसञ्चार प्राधिकरण स्रोतको भनाइ छ ।

 वि सं २०७१ साल साउनमा आफ्नो भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले भारतबाट नेपालमा हुने कल ३५ प्रतिशत घटाइने घोषणा गरेका थिए ।

नेपालको दुरसञ्चार बजार तुलनात्मक रूपमा सानो रहेकोले भारतीय सेवा प्रदायकहरूले शुल्क घटाउने सन्दर्भमा सक्रियता नदेखाएको प्राधिकरण स्रोतले जानकारी दिएको छ । 

भारतीय टेलिकम कम्पनीहरूका लागि नेपालमा हुने कलबाट आम्दानीमा खास फरक नपर्ने भएकोले पनि शुल्क घटाउन इच्छा नदेखाएको स्रोतले जनाएको छ । 

पछिल्लो तथ्याङ्क अनुसार भारतमा अहिले कुल दुरसञ्चार ग्राहकको सङ्ख्या मात्रै एक अर्ब २१ करोड पुगिसकेको छ । 

त्यहाँ ग्रामीण दुरसञ्चार ग्राहकमात्रै ५० करोड नाघिसकेका छन् । नेपालमा दुरसञ्चार ग्राहक करिब तीन करोड मात्रै छ । यद्यपि भारतीय दुरसञ्चार विनियामक प्राधिकरण शुल्क घटाउने सन्दर्भमा नेपाली नियामकसँग छलफलका लागि सकारात्मक भने देखिएको छ । 

भारतीय नियामक र त्यहाँका सेवाप्रदायकसँग छलफलका लागि नेपाल दुरसञ्चार प्राधिकरणका दीपेश आचार्यसहित यहाँका सेवा प्रदायकका प्रतिनिधि सम्मिलित कार्यदल बनेको छ । 

एक महिनाअघि बनेको उक्त कार्यदलको छिटै बैठक बस्ने र त्यसले यस विषयमा छलफल गर्ने आचार्यले जानकारी दिए ।

प्राधिकरणले यसअघि शुल्क घटाउने सन्दर्भमा नेपालका सेवा प्रदायकसँग छलफल गरेर निष्कर्ष निकाल्न परामर्शदाता नियुक्त गरेको थियो । 

परामर्शदातालाई घटेको शुल्कबाट नेपाली सेवा प्रदायकको राजस्वमा पर्ने प्रभाव र यसले जनतालाई हुने फाइदा बेफाइदाका विषयमा समेत अध्ययनको जिम्मेवारी दिएको थियो । 

करिब एक वर्षअघि पनि सार्क राष्ट्रभर नै टेलिफोन शुल्क घटाउन कार्यदल गठन गर्ने प्रक्रियासमेत अघि बढिसकेको थियो । 

कार्यदलमा सबै सदस्य राष्ट्रले चासो नदेखाएकोले एकपटक पनि त्यसको बैठक बस्न नसकेको प्राधिकरणका आचार्यले जानकारी दिनुभयो । नेपालले त्यसपछि भारतसँग मात्रै यसको छलफल अघि बढाएको थियो ।

नेपालबाट भारतमा टेलिफोन गर्दा अहिले करसहित करिब चार रुपियाँ पर्न जान्छ तर, भारतबाट नेपाल टेलिफोन गर्दा प्रतिमिनेट करसहित करिब १२ रुपियाँ तिर्नुपर्ने हुन्छ । 

भारतमा बसोबास गरिरहेका लाखौं नेपाली आफ्नै देशमा टेलिफोन गर्दा महँगो शुल्क तिर्न बाध्य छन् । भारतबाट नेपाल हुने टेलिफोन कलमा ‘टर्मिनेसन’ शुल्क बढी हुँदा पनि यो महँगो हुन पुगेको छ । 

सेवा प्रदायकहरूले विदेशबाट प्राप्त हुने कलमा आफ्नो नेटवर्क प्रयोग भएबापत त्यस किसिमको ‘टर्मिनेसन’ शुल्क लिने गर्छन् । भारतबाट अहिले प्रतिमिनेट टर्मिनेसन शुल्क सरदर आठ रुपियाँ छ । 

यसैमा त्यहाँका कम्पनीको नाफासमेत जोडेर प्रतिमिनेट शुल्क करिब १२ रुपियाँ पुग्न जान्छ । 

नेपालका सेवा प्रदायकले विदेशबाट आफ्नो नेटवर्कमा कल ल्याइदिने ‘क्यारियर’ लाई पनि निश्चित शुल्क तिर्नुपर्ने हुँदा शुल्क घट्ने विषय भने अन्योलमा रहेको छ । (गोरखापत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ