- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लागूऔषध दुरुपयोगमा मुछिएका दुई कम्पनी तथा तिनका सञ्चालकको करोडौं रुपैयाँको कारोबारको उजुरी र सूचनामा प्रहरीको लागूऔषध अनुसन्धान ब्युरो निष्क्रिय बनेको खुलेको छ ।
पुतलीसडकस्थित प्रिमो सेक्युरिटिजबाट गत वर्षको भदौ १४ मा करिब ५७ लाख रुपैयाँको सेयर खरिद भयो । विभिन्न ३ कम्पनीका झन्डै ५ हजार कित्ता सेयर ५३८९५ ग्राहक नम्बर उल्लेख गरी पुष्पा अग्रवालको नाममा खरिद भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेड उच्च स्रोतले बतायो ।
गत वर्षको असार २ देखि असोज २७ गतेसम्म पुतलीसडकको त्यही ब्रोकर कम्पनीबाट २ करोड ७८ लाख रुपैयाँको सेयर खरिद भएको छ । ग्राहक नम्बर ५२११० उल्लेख गरिएको उक्त सेयर श्रुति अग्रवालको नाममा खरिद भएको छ ।
स्टक एक्सचेन्जबाट भएको कारोबारको अभिलेख पछ्याउँदै जाँदा केही महिनाअघि चर्चामा रहेको विवादास्पद लागूऔषध प्रकरणमा मुछिएको औषधि कम्पनीको नाम भेटियो ।
प्रिमो सेक्युरिटिजबाटै एसआर ड्रग ल्याबरोटरीले २०७२ चैतदेखि २०७३ असारसम्म विभिन्न कारोबार गरेको देखिन्छ । उसले दुईवटा बिमा कम्पनीको ५६ सय कित्ता सेयर बेचेर झन्डै एक करोड रुपैयाँ आर्जन गरेको स्टक एक्सचेन्ज स्रोतबाट प्राप्त अभिलेखमा देखिन्छ ।
प्रिमो सेक्युरिटिजबाट नै सुधा अग्रवालको नाममा विभिन्न मितिमा ४ करोड ६४ लाख रुपैयाँको सेयर बिक्री भएको छ । शंकाको घेरामा रहेको सन ग्लो इन्भेस्टमेन्ट नामको अर्को कम्पनीबाट ५४ लाख ४६ हजार रुपैयाँ सेयर बिक्री भएको देखिन्छ ।
त्यसैगरी अर्का ‘शंकास्पद व्यक्ति’ भिवान अग्रवालका नाममा २ करोड ५८ लाख रुपैयाँको सेयर खरिद भएको छ ।
गतवर्ष प्रहरीको लागूऔषध अनुसन्धान ब्युरोले काठमाडौंको एसआर ल्याबरोटरी, ललितपुरको आर्या फर्मास्युटिकल्स र धादिङको टौरस फर्मास्युटिकल कम्पनीमा एकसाथ छापा मार्यो ।
त्यस क्रममा उनीहरूले औषधि बनाउन आयात गरेको लागूऔषधको कच्चा पदार्थ अन्यत्र बिक्री गरेको पत्ता लाग्यो ।
ब्युरोका अनुसार औषधि बनाउने भन्दै नेपाल भित्र्याइएको प्रिक्रसर केमिकल्स लागूऔषध कारोबारीलाई बेचेर औषधि उत्पादक कम्पनीहरूले चार अर्बभन्दा धेरै अवैध आर्जन गरेको देखिन्छ ।
यति गम्भीर मुद्दामा ब्युरोले उनीहरूको खातामाथि समेत सतही अनुसन्धान गरेर औपचारिक प्रक्रिया त पूरा गर्यो, तर उजुरीमै समावेश भएको उनीहरूको ठूलो कारोबारको विवरण नष्ट गरियो ।
मुद्दा कमजोर बनाएको आरोपमा सरकारी वकिलहरू कारबाहीमा परे । तर मिलेमतोमा प्रहरीकै अनुसन्धान निकै फितलो भएको हाल खुल्दै गएको छ ।
कारोबार नै हेरिएन
एउटै सेयर ब्रोकर कम्पनीबाट बारम्बार कारोबार गरेका व्यक्तिमध्ये केहीको नाम गतवर्ष लागूऔषध विवादमा मुछिएको कम्पनी र सञ्चालकको नामसँग हुबहु मिल्छ ।
औषधि उत्पादक एसआर ड्रग आफैं सेयर कारोबारमा संलग्न भएको देखिन्छ । श्रुति अग्रवाल एसआर ड्रगकी सञ्चालक हुन् । प्रहरीको लागूऔषध अनुसन्धान ब्युरो स्रोतका अनुसार पुष्पा, सुधा लगायतसमेत एसआरकै सञ्चालकका नजिकका नातेदार हुन् ।
सेयर कारोबारमा नाम जोडिएकी पुष्पा सञ्जय अग्रवालकी श्रीमती र सुधा मधुसूदन अग्रवालकी श्रीमती हुन् । अर्का कारोबारी भिवान श्रुति तथा अमित अग्रवालका छोरा हुन् । ठूलो संख्यामा सेयर लगायतका लगानी र कारोबार हुँदासमेत मिलेमतोमा यो तथ्य लुकाएको भेटिएको छ ।
यीबाहेक आयाम, आशिष तथा स्वातीको नाममा समेत सेयर रहेको प्रहरी स्रोतले बतायो । लागूऔषधको विवादमा मुछिएपछि यी सञ्चालकले आफ्नो र कम्पनीका नाममा भएका सबै सेयर बेचिसकेका छन् ।
अनौठो त के छ भने औषधि उत्पादक कम्पनीहरूले आफ्नो आम्दानी सेयरमा लगानी गरेको सूचना प्रहरीको अनुसन्धान ब्युरोलाई नभएको होइन । स्रोतका अनुसार ब्युरोले आफूले पाएको यस्तो सूचना लुकाएकै कारण यो मुद्दा कमजोर हुन पुग्यो । (कान्तिपुर दैनिक)