arrow

आपत्कालीन कार्य सञ्चालन केन्द्रले काम थाल्यो

logo
प्रकाशित २०७४ भदौ ९ शुक्रबार
nuwakot-district.png

नुवाकोट । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र नुवाकोटले कार्य शुरु गरेको छ । एक वर्षअघि स्थापना भएर पनि निष्क्रिय रहेको केन्द्रलाई पछिल्लो समय विपत्का घटनामा भएको वृद्धिसँगै सूचना सम्प्रेषणमा देखिएको कठिनाइलाई अन्त्य गर्न बिहीबारदेखि केन्द्र सञ्चालनमा ल्याइएको हो । 

जिल्ला प्रशासन कार्यालय नुवाकोट परिसरस्थित जिल्ला दैवीप्रकोप उद्धार समितिको भवनबाट सञ्चालनमा आएको केन्द्रले जिल्लामा भएका विपत्सँग सम्बन्धित घटनाको सूचना संकलन गरी जिल्ला र केन्द्रमा जानकारी गराउन शुरु गरेको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिए ।

“तत्कालका लागि केन्द्रलाई नेपाल प्रहरीमार्फत सञ्चालन गरिएको छ ।” प्रजिअ बरालले भने, “विपत्को सूचना सम्प्रेषण प्रभावकारी बनाउन आगामी दिनमा सुरक्षा निकायका सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारीसमेत संलग्न गराउन लागेका छौँ ।” 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा अत्याधुनिक सञ्चार उपकरण र बन्दोबस्तीको सामग्रीसहित सञ्चालनमा ल्याइएको केन्द्रले जिल्लामा प्राकृतिक तथा मानव सिर्जित विपत्का घटनासँग सम्बन्धित सूचनाको संकलन र विश्लेषण गरी जिल्लास्थित सरोकारवाला कार्यालयदेखि गृह मन्त्रालयमा रहेको केन्द्रीय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा समेत सम्प्रेषण गर्ने जिम्मेवारी दिइएको छ । 

केन्द्र सञ्चालनले विपत्का घटनाको सूचनालाई तथ्यपरकरुपमा समयमै संकलन गरी सम्बन्धित निकायमा सम्प्रेषण गर्दै घटना हुनुपूर्व हुनै नदिन र भएमा पनि ठूलो जनधनको क्षति हुनबाट रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ