arrow

ढोरपाटन शिकार आरक्षमा झारलको संख्या बढ्यो

logo
प्रकाशित २०७४ भदौ २२ बिहिबार
Dhorpatan.jpg.jpeg

बागलुङ। छ वर्षअघिको तुलनामा ढोरपाटन शिकार आरक्षमा झारलको संख्या बढेको छ । आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा ३८८ वटा झारल भेटिएका छन् ।

विसं २०६८ मा भएको गणनामा २८५ झारल आरक्षमा थिए । पाँच वर्षको अन्तरमा गणना हुनुपर्नेमा यो वर्ष प्राविधिक कारणले ढिलो भएको जनाइएको छ । गत जेठ–असारमा कार्यालयले आरक्षका सातवटै शिकार ‘ब्लक’ मा झारल गणना गरेको थियो ।

गणना वर्षलाई तुलनात्मकरुपमा हेर्दा झारलको संख्या बढेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । “पछिल्लो गणनामा ४२ समूहमा झारल भेटिएका थिए” अधिकृत बरालले भने, “सबैभन्दा ठूलो समूहमा ५१ वटा झारल देखिए ।” जसमध्ये ३२७ झारलको लिङ्ग पहिचान भएको र बाँकी ६१ को पहिचान गर्न नसकिएको उनको भनाइ छ । पहिचान भएकामा १६२ भाले र बाँकी पोथी झारल थिए ।
 
आरक्षमा झारलको वृद्धिदर वार्षिक १ दशमलव ७८ प्रतिशत रहेको कार्यालयले जनाएको छ । गणनापछि भेटिएका झारलको संख्याका आधारमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले शिकारका लागि ‘कोटा’ निर्धारण गर्ने गरेको छ । आरक्ष कार्यालयले गणनाको विस्तृत प्रतिवेदन विभागमा पठाइसकेको जनाएको छ ।

बाख्रा प्रजातिमा पर्ने झारल ढोरपाटन पुग्ने विदेशी शिकारीको पनि पहिलो रोजाइमा पर्ने गरेको छ । संख्याका आधारमा हेर्दा वर्षेनी ८ दशमलव ५ प्रतिशतले झारलको शिकार हुने गरेको पाइएको छ । “झारल शिकारमा आकर्षण बढ्दो छ, अघिल्लो शिकारयाममा एउटा झारल शिकार गरेबापत शिकारीले रु १३ लाख पाँच हजार तिरेका थिए” प्रमुख संरक्षण अधिकृत बरालले भने । वर्षेनी झारल र नाउर दुवैको शिकार दर घटबढ हुने गरेको छ । विभागले केही दिनमै यो वर्षको पहिलो शिकार यामका लागि नाउर र झारलको शिकार कोटा निर्धारण गर्नेछ ।

तीन हजारदेखि चार हजार मिटरको उचाइमा पाइने झारल नाउरको तुलनामा कम भएपछि शिकारको कोटा पनि कम छुट्याउने गरिएको छ । विभागले अधिकांश वर्षमा २६ नाउर र १२ वटा झारलको शिकार कोटा निर्धारण गर्ने गरेको छ ।

आरक्ष कार्यालयले अघिल्लो वर्ष गरेको नाउरको गणनामा दुई हजार २०२ वटा नाउर भेटिएका थिए । नाउर र झारल दुवैको पाँच÷पाँच वर्षको फरकमा गणना गर्ने गरिएको छ । ढोरपाटन साहसिक यात्रा र शिकार अनुभवका लागि आकर्षक गन्तव्य हो । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ