arrow

साउदीमा नारकीय जीवन वितार्इरहेका ५० जनाले दशैमा पनि नेपाल फर्कन नपाउने 

logo
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
saudi_arab.png

साउदी अरब । कम्पनी आफैँले तोकिदिएको तलब समेत नौ महिनासम्म नदिएपछि लेबरकोर्ट गुहारेर न्यायका लागि संघर्ष गरिरहेका नेपालीहरुलाई मानवोचित खानेबस्ने व्यवस्था गर्न नेपाली महावाणिज्य दुतावास उदासिन भइदिँदा १७ जना नेपालीहरुको जीवन नर्कमय भएको र दशैं लागिसक्दा पनि घर फर्कन पाउने अवस्था बन्न सकेको छैन ।

नेपाल सरकारले वैदेशिक रोजगारका क्रममा पीडित भएका नेपालीहरुका लागि खानबस्ने र न्यायिक प्रक्रियामा सहयोग गर्ने नीति सहित आर्थिक व्यवस्था गरे पनि दुतावासले पहल र आवश्यक सहयोग नगर्दा ती पीडित नेपालीहरुको जीवन नर्कमय भएको हो । 

पीडितहरुका अनुसार विगत ५ महिनाअघिदेखि लेबरकोर्टमा मुद्दा खेपिरहेका उनीहरुलाई बसेको कोठाबाट हटाउन कपिलले पटकपटक बिना कसुर पुलिस लगाइ पक्राउने, दुःख दिने गर्नुका साथै ढलको निकास थुनेर फोहर पानी कोठामा छिराइ दिने, धम्काउने गर्दै आएको थियो । सबै सहेर साँघुरो एसी बिग्रेको कोठामा बस्न बाध्य भएका थिए । यसैबीच भाद्र २१ गतेबाट कोठाको बिजुली पनि काटिदिएपछि साउदी अरबको गर्मिमा ती नेपालीहरुको जीवन थप कष्टकर बनेको छ । 

उनीहरुलाई मानवोचित बासस्थानको दुतावासले व्यवस्था गराउन अनुरोध गर्दा उनीहरु बसिरहेको स्थानबाट सारिए कम्पनीले भागेको आरोप लगाउन सक्ने र लेबरकोर्टको मुद्दा कमजोर हुने भएकाले उनीहरुलाई बाध्यतावश त्यही बस्न लगाईएको कार्यबहाक महावाणिज्यदुत रेवतीरमण पौडेलले बताए । लेबरकोर्टकै आदेश अवज्ञा गरेको त्यस कम्पनीले उनीहरुलाई राम्ररी खानबस्न दिने कुनै सम्भावना नभएको र लेबरकोर्टलाई नै सूचित गरेर आफ्ना नागरिकहरुलाई दुतावासले व्यवस्थित बसोबासको व्यवस्था गर्नपर्नेमा तीन सय रियाल एक पटक दिएर झारो टारेको छ । पीडितहरु भन्छन् “एम्वेसीको सरहरु आएर एक पटक तीन सय रियाल दिनु भयो । हामीले हाम्रो बसाई कष्टकर रहेको पीडा सुनाएका हौ, उल्टो उहाँले कोठा नछाड्नु मुद्दा कमजोर हुन्छ भन्नु भयो ।”

वैदेशिक रोजगार कल्याण कोषले यस्ता पीडितहरुलाई उद्धार गर्ने र नेपाल सरकारले विशेषतः साउदी अरबका पीडित नेपालीहरुको उद्धारमा सहयोग पुर्याउन साउदीको आममाफीकै बेला ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । अर्को तर्फ वैदेशिक रोजगार ऐन मुताबुक उनीहरुलाई वैदेशिक रोजगारमा पठाउने कम्पनीहरु मार्फत पनि उचित खानेबस्ने व्यवस्थाका लागि पहल गर्नु पर्नेमा १७ महिना अघिदेखि समस्याका बारेमा जानकारी भएको भएपनि दुतावासले वेवास्ता गरेको छ । पीडितका परिवारहरुले नेपाली साझा मंचलाई गुहार्ने कुरा गरेपछि नाइल ओभरसिजले एक हजार रियाल र वैदेशिक रोजगार विभागमा मंचको सहयोगमा उजुरी दर्ता गरेपछि ईमास्को नेपाल प्रा.लि.ले भदौको पहिलो साता एक हजार रियाल खान खर्च पठाइदिएका थिए । 

पीडितहरुका अनुसार नेपालबाट एक हजार साउदी रियाल र खानबस्न दिने सम्झौतामा साउदी अरबको यान्बुस्थित सादअल अल अमिद कम्पनीले ल्याएर तीन महिनासम्म २ सय रियाल र त्यसपछि मासिक आठ सय रियाल र खान बस्न दिने शर्तमा काम लगाएको थियो । तर नौ महिनासम्म पनि तलब नदिएपछि उनीहरु पाँच महिनाअघि लेबरकोर्ट गुहार्न पुगेका थिए । यान्बु लेबोरकोर्टले कम्पनीलाई चार पटकसम्म बोलाउदा पनि नआएपछि कारोबार रोक्का गरेर मुद्दा माथिल्लो कोर्ट मदिनामा पठाएको छ । उनीहरुका अनुसार सो कोर्टले सेप्टेम्बर २७ तारिखमा बोलाएको छ । साउदी लेबरकोर्टले न्याय दिनेमा आसावादी रहेका उनीहरु त्यसअवधिसम्म उनीहरुलाई खान भन्दा नि बस्नकै ठुलो समस्या हुने भएको छ । न्याय पाउने प्रवल सम्भावना भएपनि उनीहरु यही अवस्थासम्म रहन बस्न नसक्ने उनीहरु बताउछन् । मानसिक र शाररिक रुपमा गल्दै गइसेका उनीहरु दशै नजिक आइरहेका बेला नेपाल फर्कन भिसा र टिकट मात्रै पाए नि फर्कन्छौ भन्न थालेका छन् । 

यसै कम्पनीमा यी १७ जना पीडितहरु सहित एक सय ५० बढी नेपालीहरु रहेका छन् । उनीहरुलाई विभिन्नस्थानमा छुट्टाछुट्टै काममा लगाएर उनीहरुको पनि श्रमशोषण गरिएको छ । ती नेपालीहरुको अवस्था के कस्तो छ, हालसम्म कतैबाट खोजी गरिएको छैन । तीनै पीडितहरुको अवस्था देखेपछि नै उनीहरुले आफूहरुलाई फसाइएको थाहा पाएर तत्कालै दुतावासमा सम्पर्क गरेर जानकारी गराउनुका साथै नेपालमा महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी समेत पठाएका थिए । प्रहरीको वैदेशिक रोजगार पिल्लरमा रहेको उनीहरुको मुद्दा उल्लेखमा गरिएका मध्ये ५ जनाको उद्धार गरेर बाँकी उनीहरुलाई आलेटाले गर्दै झुलाइयो । बरु उल्टो प्रहरीको डिएसपी, श्रम विभागको कर्मचारी हुँ भन्दै धम्काउने गरेका थिए । यता महावाणिज्य दुतावासले भने त्यसबेला चुप लागेर काम गरिरहन सुझाव दिएको थियो ।  थुप्रै पटक समाचारको शीर्षक बनेका उनीहरुको समस्या ज्युँका त्युँ रहदा यो दशै सोही कोठामा नर्कमय रुपमा वित्ने भएको छ ।

उनीहरुलाई ईमास्को नेपाल, नाइल ओभरसिज र आर.पि. इन्टरनेशनल मेनपावर कम्पनीले साउदी अरबको याम्बुस्थित सादत अल अमिद कम्पनीमा १००० रियाल तलब र खानबस्न, आवास अनुमति पत्र अनि स्वास्थ्य विमा उपलब्ध गराउने सम्झौतामा १७ महिनाअघि वैशाखमा पठाएको थियो । क्लिनिङ वर्करका लागि भनेर त्यहाँ पुगेकाहरुमा उदयपुर, सिरहा, सप्तरी, मोरङ, सुनसरी, लमजुङ, कास्की र धादिङ जिल्लाका रहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ