arrow

अन्तरघात नभए अबका सबै निर्वाचनमा काँग्रेसको जित निश्चित छ – प्रम देउवा

अन्तरघातलाई अब सहिन्न, कडा कारबाही हुन्छ

logo
प्रकाशित २०७४ भदौ २५ आइतबार
deuba1.JPG

सुन्दरीजल । प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइरालाले देखाएको बाटोमा हिँडे राष्ट्रियता, प्रजातन्त्र र समाजवाद सबल हुने बताएका छन् ।  

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०४ औँ जन्मजयन्तीका अवसरमा बिपी संग्रहालय समितिले सुन्दरीजलमा आयोजना गरेको बिपी कोइराला प्रजातान्त्रिक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले प्रजातन्त्रको सुदृढीकरणका लागि नेपाली काँग्रेसले सबै निर्वाचन जित्नु आवश्यक रहेको बताए । 

“अन्तरघात नभए अबका सबै निर्वाचनमा काँग्रेसको जित निश्चित छ, अन्तरघातलाई अब सहिन्न, कडा कारबाही हुन्छ”–उनले भने । बिपीले विश्व समुदायमा साना देशका ठूला नेताको छवि बनाएको प्रधानमन्त्री देउवाले बताए । 

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कृषि, पर्यटन र जलस्रोतका सम्भावनालाई यथार्थतामा परिणत गर्नसके बिपीले देख्नुभएका सपना साकार हुने बताए । “बिपीको नाममा धेरै संस्था खुलेका छन्, तिनले उपलब्धिमूलक काम गर्न सक्नुपर्छ, बिपी विचार केन्द्रको अभैm आवश्यकता छ”–उनले भने । 

कार्यक्रममा प्रधानमन्त्री देउवाले ‘बिपी कोइराला प्रजातान्त्रिक पुरस्कार’ सांसद एवं समाजवादी चिन्तक प्रदीप गिरीलाई प्रदान गरे । यसैगरी, ‘प्रजातन्त्र सेनानी सम्मान’ पूर्वसांसद लेखनाथ न्यौपानेलाई प्रदान गरे । दुवै पुरस्कारको राशि नगद रु एक–एक लाख र सम्मानपत्र छ । 

पुरस्कारबाट सम्मानित सांसद गिरीले नेपाली काँग्रेसले अघि सारेको राष्ट्रियतामा सबै दल र विचार राख्ने समूह अटाउने भएको बताए ।

“चार महिना सारेर भए पनि २ नं प्रदेशको निर्वाचनमा सबै दल सहभागी भएका छन्, सरकारले स्वास्थ्य र शिक्षामा हस्तक्षेप गरी रोजगारीमा ध्यान केन्द्रित गर्नुपर्छ”–उनले भने । 

कार्यक्रममा सांसद दीपक खड्का, सम्मानित व्यक्तित्व पूर्वसांसद न्यौपाने, पूर्वसांसद एवं नेपाली काँग्रेसको इतिहासका लेखक पुरुषोत्तम बस्नेत, नेबि संघका अध्यक्ष नैनसिंह महर, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल र संग्रहालयका अध्यक्ष परशुराम पोखरेल लगायतले बिपीको प्रजातान्त्रिक समाजवादी विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । 

सो अवसरमा नेकपा माआवादी केन्द्रका गोकर्णेश्वर नगर कमिटी अध्यक्ष सीता तामाङलगायत २९ कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ