arrow

आन्दोलन उद्गमस्थलमै मधेसी दललाई सकस, उम्मेदवारलाई नै हप्काएर पठाइयो

logo
प्रकाशित २०७४ भदौ २५ आइतबार
siraha1.png

लहान । सिरहा, सुखीपुर नगरपालिकाका संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार लक्ष्मण चौधरी शुक्रबार मत माग्दै कृष्णबहादुर यादवको घर पुगे । यादव परिवारले उनलाई हप्काएर पठाए ।

साँझ घर फर्केका यादवले चौधारी मत माग्न आएको परिवारले जानकारी दिएपछि थप आक्रोशित भएका थिए ।

यादवले भने–‘कुनै बेला ममाथि २८ ओटा मुद्दा लगाउने यी पूर्वपञ्चलाई म कसरी फोरम हो भनेर मत दिने ।’

०६३ माघको पहिलो मधेस विद्रोहका बेला यादव लहानमा आन्दोलनको नेतृत्व गर्नेमध्येका एक हुन् । ५ माघ ०६३ मा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएपछि पहिलो मधेस आन्दोलन चर्किएको थियो । आन्दोलनको कृष्णबहादुरले नै लहानमा नेतृत्व गरेका थिए ।

उपेन्द्र यादवको कार्यशैलीप्रति असहमति जनाउँदै पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामै फोरम छाडेका यादव त्यसयता स्वतन्त्रपूर्वक जीवन बिताइरहेका छन् ।

पहिलो मधेस आन्दोलन तथा गौरकान्डपछि उनीमाथि अझै ५ ओटा मुद्दा चलिरहेको छ ।

‘आन्दोलन गरी फोरमलाई राजनीतिक शक्ति बनाउने हामी आज त्यतिकै बरालिएका छौं । जिन्दगीभर राप्रपामा रहेका लक्ष्मण चौधरी हाम्रो नगरपालिकामा फोरमबाट मेयरको टिकट पाएका छन्–यादवले आक्रोशयुक्त टिप्पणी गर्दै भने ।

चौधरी पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राप्रपाबाट फोरम प्रवेश गरेका थिए ।

लहान आन्दोलनबाटै राजनीतिक हैसियत पाएको फोरम नेपालको अवस्था चित्रित गर्दै यादवले भने–‘फोरम टिक्दैन भनेर पहिलो संविधानसभालगत्तै मैले गरेको भविष्यवाणी अहिले मिल्दै गएको छ ।’

दुईओटा मधेस विद्रोहपछि ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल सिरहा र सप्तरीका ९० प्रतिशत सिटमा विजयी भएको थियो ।

६ ओटा निर्वाचन क्षेत्र भएको सिरहाबाट ५ ओटामा फोरम विजयी भएको थियो भने सप्तरीका ६ मध्ये ४ सिटमा फोरमकै उम्मेदवार विजयी भएका थिए ।

०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा फोरम नेपाल सिरहा र सप्तरी दुवै जिल्लाबाट एक सिट पनि ल्याउन सकेन ।

पुनःसंरचना आयोगले सिरहामा १७ र सप्तरीमा १८ स्थानीय तह बनाएको छ । मधेस आन्दोलनको उद्गमस्थलमा स्थानीय तहको निर्वाचनमा फोरम नेपालले आफ्नो पुरानो हैसियता फर्काउन सक्ला ? प्रश्न जटिल बनेको छ । स्थानीय बुद्धिजीवी भन्छन्–‘त्यो गाह्रो देखिन्छ ।’

सिरहा गोलबजार क्याम्पसका प्राध्यापक प्रदीप साह भन्छन्–‘सिरहामा मुख्यगरी कांग्रेस र एमालेबीचमै प्रतिस्पर्धा देखिन्छ ।’

सिरहामा कांग्रेस र एमाले दुवैको संगठन बलियो मानिन्छ । यद्यपि, केही ठाउँमा माओवादीसमेत मुख्य प्रतिस्पर्धीकारूपमा देखिएको छ ।

यहाँका १७ स्थानीय तहमध्ये अहिलेसम्म तीन ठाउँमामात्रै फोरम नेपालका मेयर उम्मेदवार मुख्य प्रतिस्पर्धीकारूपमा देखिएका छन् भने अर्को मधेसी पार्टी राष्ट्रिय जनता पार्टी नेपाल दुई स्थानमा प्रतिस्पर्धीकारूपमा देखापरेको छ ।

लहानमा एमालेका उम्मेदवार मुन्नी साहको जितलाई सुनिश्चितजस्तै ठान्छन् स्थानीय जानकार । सदरमुकाम सिरहा बजारमा कांग्रेस, एमाले र फोरम नेपालका उम्मेदवारबीच कडा प्रतिस्मर्धा हुने अनुमान गरिएको छ ।

उम्मेदवारी मनोनयनका दिनमा कांग्रेस सिरहाभित्र देखिएको विवादपछि एमाले यहाँ थप हौसिएको अधिकारकर्मी दुर्गा महतो बताउँछिन् ।

महतो भन्छिन्–‘टिकट वितरणकाक्रममा सिरहा कांग्रेसभित्र देखिएको विवाद अन्तिम समयसम्म कसरी सल्टिछ, त्यसले यहाँको नतिजालाई प्रभाव पार्न सक्छ ।’

सप्तरीलाई पनि मधेस आन्दोलनको अत्यधिक प्रभाव क्षेत्र मानिन्छ । सप्तरीमा पहिलो संविधानसभामा ६ मध्ये चार सिट फोरमले जितेको थियो भने १ सिट सद्भावना र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्र नारायणसिंहको गृहजिल्ला भएकाले सप्तरीलाई मधेसको कोर क्षेत्र मानिन्छ ।

तर, पहिलो संविधानसभापछि लगातार आरोलो लागेका मधेसी शक्ति स्थानीय तहमा पुनःस्थापित हुन्छन् कि हुँदैन भन्ने अझै द्विविधा छ ।

दुई वर्षअघि भएको संविधानविरुद्धको आन्दोलनमा सप्तरी एउटा प्रमुख केन्द्र नै बनेको थियो । सप्तरीको भारदहमा आन्दोलनकारी मारिएपछि आन्दोलन झनै चर्किएको थियो ।

सप्तरीका वरिष्ठ पत्रकार शिवहरि भट्टराई भन्छन्– ‘सप्तरीमा राजपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा होला भन्ने हाम्रो आँकलन थियो । तर, उम्मेदवार मनोयनसँगै कांग्रेस र राजपा दुवैभित्र व्यापक असन्तुष्टि सुनिएको छ । एमाले र माओवादी विस्तारै बलियो ढंगले आउन खोज्दै छन् ।’

भट्टराईकाअनुसार दलहरूले उम्मेदवार छान्दा पैसा र जातलाई मुख्य आधार बनाएपछि पार्टीभित्र भाँडभैलोको देखिएको छ । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ