arrow

मन्त्री नियुक्तिकाे विषयलाई लिएर राणाको पार्टीमा असन्तुष्टी

कमल थापाकै शैलीमा चले राम्रो नहुने चेतावनी

logo
प्रकाशित २०७४ भदौ २६ सोमबार
pasupati_rana.jpg

काठमाडौं । पशुपतिशमशेर राणा नेतृत्वको राप्रपाबाट सरकारमा मन्त्री थपिएसँगै पार्टीभित्र असन्तुष्टी देखिएको छ । सरकारको सहभागिता पुरानै परिपाटीको भएको भन्दै पार्टीका सांसदहरु असन्तुष्टी जनाएका हुन् ।

उनीहरुले पशुपति शमशेरपनि कमल थापाकै शैलीबाट चल्न खोजेको भन्दै सचेत गराएका छन् । सरकारको सहभागिताबारे असन्तुष्टहरुले अध्यक्ष राणालाई पार्टीभित्र प्रजातान्त्रिक पद्धतिको अभ्यास सुरु गर्न भनेका छन् ।

सोमबार बिहान राणा निवास पुगेका रामकुमार शर्मा, सयन्द्र वान्तवा, राज्यलक्ष्मी श्रेष्ठ, कमला शर्मा, विराज विष्ट, बबिना लावती मोक्तान लगायतका सांसदहरुले सरकारमा पठाउने व्यक्तिहरु समावेशी नभएकाले केही नाम फिर्ता लिएर महिलालाई प्राथमिकता दिन भनेका थिए ।

यद्यपि, राप्रपामा हुँदा मन्त्री भएकाहरुलाई नै राणाले दोहोर्याएका छन् । राणालाई भेट्न पुगेका सांसद विराज विष्टले भने, ‘नेपाली राजनीतिमा पद बाँडफाँड गर्दा तलमाथि भएपछि असन्तुष्टी रहनु स्वभाविक हो । यद्यपि, सरकारमा सहभागि गर्दा अन्याय गरेको भन्दै सांसदहरु राजीनामा दिन तयार भएका भन्ने कुरा चैँ होइन । यो अलिक बढी प्रचार भयो ।’ सरकारमा गएको विषयलाई राजीनामा सम्म लैजाने भन्ने कुरा भएन । स्वभाविकैले पार्टी नेतृत्वलाई सजग गराउनै पर्छ ।

उनले भने, ‘नयाँलाई पठाउनु पर्ने थियो । हामीले भनेका पनि थियौँ । काम गरेर देखाउनेहरुलाई पठाउनुस् । मधेस हाम्रो महत्वपूर्ण क्षेत्र हो । त्यहाँबाट प्रतिनिधित्व होस् भनेका थियौँ । यस्तै, महिला सांसदकै संख्या १० छ । महिला पठाइनु पर्दथ्यो । यो सिफारिस समावेशी भएन । पुरानैलाई स्थान दिइयो । फेरि हाइ प्रोफाइलका व्यक्तिहरु छानियो ।’ यो व्यवहारिक भएन भन्ने हाम्रो भनाई हो ।

उनले पार्टी विभाजनका क्रममा राप्रपा नेपालमा रहेकारुले पनि समान भूमिका खेलेका छन् । राप्रपा नेपालबाट प्रतिनिधित्व गरिआएकाहरुलाई पनि सम्मान भएन, उनले अगाडि भने, ‘हिजो कमल थापाले एकलौटी गरे । पार्टीको विधान र पद्धति अनुरुप चलेनन् भनेर हामी विभाजित भयौँ । फेरि यो नेतृत्वमा पनि त्यो पूरानो स्वभाव देखियो । पार्टी पद्धतिका लागि गृहकार्य गरिनु पर्छ ।

विधान चुस्त बनाउने काम भएको छैन, उनले थपे, ‘अहिले त हामीले खुट्टा मात्रै झिकेका हौँ । एउटा पाटो त छँदै छ । अब विधान बनाउँदा युवाहरुको आकांक्षालाई ध्यान दिइनु पर्दछ । समावेशी र प्रजातान्त्रिक पद्धतिलाई अपनाउनु पर्छ । पार्टी प्रजातान्त्रिक भन्ने निर्णय एकल गर्ने भन्ने हुँदैन ।’ त्यो पहिले कै मनोवृत्ति हो ।

‘सरकारमा जाने विषयमा हामीसँग कुनै छलफल पनि भएन, छलफल नभएपनि समावेशी बनाइएको भए केही थिएन, सबै पुरुषमात्रै पठाइयो त्यो पनि एक व्यक्ति एक पदको नीति विपरीत, यो विषयमा हामीले गम्भीर छलफल गरेका छौँ, सांसद राज्यलक्ष्मी श्रेष्ठले भनिन् ‘अब हामी फरक ढंगले सोचिरहेका छौँ ।’

राप्रपा प्रजातान्त्रिकमा छलफल नगरी सुनील थापा, दीपक बोहरा र विक्रम पाण्डेलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि गराइएको बताइँदै छ । राणाको पार्टीका जम्मा १८ जना सांसद छन् । जसमा १० जना महिला सांसद छन् । राणाले कमल थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गएको साउन २२ गते पार्टी फुटाएका थिए ।  तर, पार्टी विभाजनको एक महिना बित्न नपाउँदै पार्टीभित्र उनकै कार्यशैलीको आलोचना हुन थालेको छ ।

प्रकाशचन्द्र लोहनीसँग एकता
राप्रपा प्रजातान्त्रिकले डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा राष्ट्रवादीसँग एकता गर्ने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा एउटै निर्वाचन चिन्ह लिएर लड्ने विषयमा सहमति भइसकेको छ । यद्यपि, लोहनीसँग एक भएर अघि बढ्न एउटा कार्यदल आवश्यक पर्ने सांसद विष्टले बताएका छन् ।

समानुपातिक र प्रत्यक्षको सूची बनाउन र चुनावी रणनीति बनाउन निकै गृहकार्य गर्नु पर्ने आवश्यकता रहेको उनले बताएका छन् । नेतृत्वलाई लोहनीसँग गहन छलफल गर्न कर लागिसकेको उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ