arrow

समानुपातिक निर्वाचन : ३३५ सिटको लागि ५५ दल, ११० सिटको लागि ८८ दल !

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ भदौ २८ बुधबार
samanupatik_nirwachan.png

काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको लागि निर्वाचन आयोगले मंगलबारको लागि तोकेको समयावधिभित्र समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुनको लागि ८८ दलले निवेदन दर्ता गराएका छन् ।

यस अघि दल दर्ता गराएका ९४ दलमा ४ दलले यस अघि नै एकीकरण भएको पत्र निर्वाचन आयोगमा बुझाईसकेकोले अहिले कूल ९१ दलमात्रै रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । उनका अनुसार मंगलबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म ३ दलले दर्ताका लागि निवेदन दिएनन्। यसरी समानुपातिक निर्वाचन प्रणालीमा भाग नलिने दलहरूमा मधेश तराई फोरम, मधेश समता पार्टी र नेपाली ग्रीन पार्टी रहेका छन् । तोकिएको समयमा दर्ता नभएसँगै उनीहरुले अब समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हनु नपाउने भएका छन् । 

यो पटकदेखि निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीमा पनि थ्रेस होल्डको व्यवस्था गरिएको छ । त्यसैले पनि यो पाली केही दलहरुको काँटछाँट हुने अनुमान लगाउन सकिन्छ । कूल सदर मतको ३ प्रतिशत ल्याउन पर्ने भएकोले यस पटक पार्टीहरुको संख्या केही कम हुने अनुमान त गरिन्छ । तर, यस अघिका दुई निर्वाचनहरुमा समानुपातिक प्रतिनिधित्वको आधारमा दर्ता भएका दल र उनीहरुले पाएको सिट संख्यालाई आधार मान्ने हो भने त यसपाली समेत धेरै दलहरुले समानुपातिक निर्वाचन मार्फत् प्रतिनिधि सभामा सहभागी हुन जाने देखिन्छ । 

पहिलो संविधान सभाको निर्वाचन २०६४ मा कूल २५ दलले समानुपातिक प्रतिनिधित्वको आधारमा सिट प्राप्त गरेका थिए । जसमध्ये ६ वटा पार्टीले सबैभन्दा थोरै १ सिट पाएका थिए । कूल ३३५ सिटमा माओपादी पार्टी एक्लैले १०० सिट जितेको थियो । यसरी एक सिट जित्ने पार्टीहरुमा समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपाल, दलित जनजाति पार्टी, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी दल र चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल रहेका छन् ।  

सो समयमा काँग्रेसको ७३ र एमालेले ७० सिट जितेको थियो । त्यसपछि मधेशी जनाधिबमर फोरम नेपालको २२ सिट जितेको थियो । सो समयमा कूल ५५ पार्टीले दर्ता गरेकोमा ५४ पार्टीले मात्रै बन्दसूची पेश गरेका थिए । त्यस्तै, दोस्रो संविधान सभाको निर्वाचनमा १३० दलले दल दर्ता गरेको भएपनि १ सय २२ दलले निर्वाचनमा भाग लिएका थिए । १ सय २२ दलहरु मध्ये कूल ३१ दलले मात्रै संविधान सभामा प्रतिनिधित्व गर्न पाए । जसमा सबैभन्दा धेरै पाउने नेपाली काँग्रेसले त्यतिबेला ९१ सिट जित्यो । त्यसपछि दोस्रो ठूलो दल एमालेले ८४ सिट जित्यो । 

त्यस्तैm कूल ९ दलले एक सिट मात्र्र जितेका थिए । त्यतिबेला २३ हजार मत ल्याउने दलले पनि एक सिट जितेका थिए भने ३६ हजार मत ल्याउने दलले पनि एक सिट मात्रै जितेका थिए । यसरी एक सिट मात्रै जित्ने दलहरुमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, नेपाली जनता दल, मधेशी जनाधिकार फोरम गणतान्त्रिक, नेपाः राष्ट्रिय पार्टी, संघीय सद्भावना पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी नेपाल र मधेश समता पार्टी नेपाल रहेका छन् । 

यस पटकको निर्वाचनमा कूल ११० समानुपातिक सिटको लागि निर्वाचन हुँदैछ । त्यसको लागि कूल ८८ दल मध्ये धेरै ल्याउने दलले कति पाउलान् र कति दल थ्रेसहोल्डको सीमाबाटै बाहिरिएलान् ? भन्ने सवाल चासोको विषय बनेको छ । थ्रेसहोल्डले धेरैलाई बाहिर्याउने अपेक्षा धेरैको छ । तर यसको नतिजाको लागि भने निर्वाचनको मतपरिण्णाम आउन्जालसम्म कुर्नुपर्ने हुन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ