arrow

गोविन्द केसीले भने–माफियालाई संरक्षण गर्ने सांसदको कुण्डली सार्वजनिक गर्छु (विज्ञप्तिसहित)

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
govinda-k-c.jpg.jpeg

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीले माफियालाई संरक्षण गर्ने सांसदहरुको कुण्डली नै सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

डा. केसीले माथेमा प्रतिवेदनका मुख्य बुँदा हटाएर सिमित मेडिकल कलेज सञ्चालकको स्वार्थ अनुसार चिकित्सा शिक्षा विधेयक अघि बढाएको भन्दै कडा विरोध गरेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै केसीले भनेका छन्, ‘जनप्रतिनिधिहरुले आम नागरिकको स्वास्थ्यप्रति गर्न सक्ने यो भन्दा ठूलो गद्दारी केही हुन सक्दैन ।’

केसीले दलीय संरक्षणमा मौलाएको भ्रष्टाचार र लुटतन्त्र तथा शिक्षा ऐनमा भएको संशोधन अब आफ्नो निशानामा पर्ने उल्लेख गरेका छन् । डा. केसीले, ‘भ्रष्टाचार प्रमाणित भकइसकेका गोपाल खड्का, चुडामणि शर्मा र डोलिन्ऽ शर्मा लगायत कसैले पनि अब उन्मुक्ति पाउने अवस्था हुनुहुँदैन’–भनेका छन् ।

केसीले अगाडि भनेका छन्, ‘जनप्रतिनिधिको खोल ओढेर माफियाको हित संरक्षण गर्ने वा आफैं माफिया बनेकाहरुको अब नाम लिएर नंग्याउने बेला भएको हाम्रो ठहर छ ।’ केसीले माथेमा प्रतिवेदन र आफुले दिएका सुझावअनुसार चिकित्सा ऐन पारित गर्न भनेका छन् । त्यसो नगरे त्यसको परिणाम भोग्न तयार रहन समेत केसीले भनेका छन् ।

गलत नियतले जबरजस्ती उेन पारित गर्ने प्रयास गरिए र ऐन पारित गर्न ढिला गरिए पूर्वघोषणा अनुसार २० गतेदेखि आमरण अनसन बस्ने समेत केसीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
विज्ञप्ति

प्रेस विज्ञप्ति
 
आदरणीय पत्रकार मित्रहरु
 
नेपालको संसदले आम नागरिकको नभई आफ्नै वा सीमित स्वार्थ समुहको स्वार्थ अनुसार कानुन बनाउने गरेको कुरा यहाँहरुलाई विदितै छ । यही सिल्सिलामा पछिल्लो समय योग्यता नभई दलीय भागवण्डा संस्थागत हुने र सार्वजनिक शिक्षा धराशायी हुने गरी शिक्षा ऐनमा संशोधन गरिएको छ । त्यो सँगै चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि बनाउनुपर्ने भनी हामीले वर्षौंसम्म गरेको संघर्षको फलस्वरुप बन्न लागेको चिकित्सा शिक्षा ऐन सुधारको मर्मविपरीत सीमित मेडिकल कलेज सञ्चालकको स्वार्थअनुरुप हुन लागेको पुष्टि भएको छ । गुणस्तर कायम गर्नका लागि माथेमा प्रतिवेदनले सुझाएका मुख्य बुँदाहरु हटाउने मात्र नभई शुल्क निर्धारण लगायतका विषयमा अहिले कायम रहेका अराजकता संस्थागत हुने गरी कानुन बन्न लाग्नु लाजमर्दो कुरा हो । 
 
जनप्रतिनिधिहरुले आम नागरिकको स्वास्थ्यप्रति गर्न सक्ने योभन्दा ठूला गद्दारी केही हुन सक्दैन । नीति निर्माणका नाममा आफ्नो व्यवसायमा नाफाखोरी सुनिश्चित गर्ने यस्तो काम कुनै पनि हालतमा स्वीकार्य छैन । लुटतन्त्रका बाँकी सबै काममा झैं यो कानुन गलत रुपमा पारित गर्ने काममा पनि सबैजसो प्रमुख दलहरुबीच मिलिभगत भएको कुरा अहिले लुकेको छैन । दलहरु यसरी नग्न रुपमा नीतिगत लगायत सबै खालका भ्रष्टाचारका पर्याय बनिरहेको अवस्थामा अख्तियारजस्ता संवैधानिक निकाय र न्यायालयसमेत सुशासन कायम गर्ने जिम्मेवारीमा खरो उत्रन सकेका छैनन् । जसले गर्दा प्रष्ट चिनिएका भ्रष्टहरु अहिले ससम्मान समाजमा हिंडिरहेका छन् । 
 
तर जनताको हितका लागि भनेर चुनिएका राजनीतिक दलहरुले गद्दारी गरे पनि नागरिकका रुपमा हामी हाम्रो जिम्मेवारीबाट च्युत हुन सक्दैनौं । त्यसैले मेडिकल माफियाको साँठगाँठमा उनीहरुकै स्वार्थअनुरुप चिकित्सा शिक्षा ऐन ल्याउने प्रयास तत्काल रोकेर माथेमा प्रतिवेदन र हामीले दिएका सुझावअनुसार परिमार्जन गरेर ऐन पारित नभएमा हामी सत्याग्रहलगायत आन्दोलनका कडा कार्यक्रमहरु तत्काल ल्याउन बाध्य हुने जानकारी गराउँछौं । साथै हाम्रो अभियानको अबको चरणमा दलीय संरक्षणमा चौतर्फी मौलाएको भ्रष्टाचार र लुटतन्त्र तथा शिक्षा ऐनमा भएको अनिष्टकारी संशोधनलगायत सबै गलत कामहरु निशानामा पर्ने पनि जानकारी गराउँछौं । भ्रष्टाचार प्रमाणित भइसकेका गोपाल खड्का, चुडामणि शर्मा र डोलिन्द्र शर्मा लगायत कसैले पनि अब उन्मुक्ति पाउने अवस्था हुनुहुँदैन ।
 
साथै जनप्रतिनिधिको खोल ओढेर माफियाको हित संरक्षण गर्ने वा आफैं माफिया बनेकाहरु जुनसुकै दलका भए पनि अब नाम लिएर नंग्याउने बेला भइसकेको ठहर हाम्रो छ । 
 
त्यसैले तत्काल माथेमा प्रतिवेदन र हामीले दिएका सुझावअनुसार हुने गरी चिकित्सा ऐन पारित गर्न वा त्यसो नगरेमा त्यसको परिणाम भोग्न तयार रहन सबै सम्बन्धित दल र सांसदज्यूहरुलाई स्मरण गराउन चाहन्छौं । गलत रुपमा ऐन पारित गर्ने प्रयास भएमा तत्काल सत्याग्रह शुरु गर्ने तथा ऐन पारित गर्न ढिलासुस्ती गरिएको अवस्थामा यही असोज २० गतेदेखि भनेर हामीले यसअगाडि नै घोषित गरेका सत्याग्रहसहितका कार्यक्रमहरु यथावत रहेको पनि जानकारी गराउन चाहन्छौं । 
 
डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं । 
२०७४।६।७



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ