arrow

प्रदेश २ : पुरानो लयमा फर्किन सकेन काँग्रेस, एमालेको हालत खराब

logo
प्रकाशित २०७४ असोज ७ शनिबार

काठमाडौं । दुई नम्बर प्रदेशमा काँग्रेसले पहिलेको साख जोगाउन नसकेको टिप्पणी भएको छ । दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा काँग्रेस पहिलो स्थानमा देखिएपनि पकड क्षेत्रहरु फुत्किएको टिप्पणी भएको हो ।

चुनावी अवस्था बुझ्न मधेस झरेका जानकार सुमित शर्माले हाम्राकुरासँग भने, ‘काँग्रेसले पहिलेका पकड क्षेत्रहरु जोगाउन सकेन । पुरानो लयमा फर्किन सकेन ।  अहिले पहिलो स्थानमा काँग्रेस देखिएपनि समग्रमा हेर्दा काँग्रेस घाटामा छ ।’ यही असर प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा देखिने उनले बताएका छन् ।

त्यसबाट बच्न काँग्रेसले अहिलेनै सोच्नुपर्ने उनको तर्क छ । उनले भने, ‘काँग्रेस अरुको संगठन बलियो भएका कारण नभए आफ्नै आन्तरिक कारण घाटा व्यहोरिरहेको छ । काँग्रेस टिकट वितरण र आन्तरिक व्यवस्थापनमा पटक–पटक गल्ती गर्दै आएको छ । तत्काल यो सुधार नभए आगामी चुनावमा काँग्रेसको भविष्य ठिक छैन ।’ अहिले काँग्रेसको पकड रहेको धनुषामा नयाँ उदायको राजपाले धक्का दियो ।

संगठनको हिसावले मधेसमा निर्विकल्प रहेको काँग्रेस आफ्नै कारण चुकेको बताउँदै उनले एमालेको अवस्था पहिले भन्दा खस्किएकोमा चिन्ता जनाए । उनले भने, ‘काँग्रेसले मात्रै पकड क्षेत्र गुमाएन । एमालेको अवस्था पनि नाजुक रहयो । संगठन राम्रो भएको संघीय समाजवादी पनि त्यति खासै हुर्किएन ।’ तर, ६ दल मिलेर बनेको राजपालाई संगठन विस्तारले तीब्रता नपाउँदै चिठ्ठा परेको छ ।

विगतमा छुट्टा–छुट्टै हुँदा ति दललाई धौ–धौ परिरहेको थियो, उनले भने, ‘नाम चलेकै नेताहरु समेत सांसद बन्न सकेनन् ।’ संविधान संशोधनको विरुद्धमा लागेको आरोपकै कारण एमालेको हालत विग्रियो । उनले अगाडि भनेका छन्, ‘आन्दोलन गर्ने दललाई फाइदा भयो । आन्दोलनबारे टिप्पणी गर्नेलाई घाटा भो ।’ अर्कोतिर सत्तामा बस्नेहरुलाई पनि घाटा भयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ