arrow

वीरगन्ज महानगरपालिका मेयरमा संघीय फोरम, उपमेयरमा काँग्रेस 

logo
प्रकाशित २०७४ असोज ११ बुधबार
bijay-Kumar-sarawagi.jpg

पर्सा। प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्जको प्रमुख पदमा संघीय समाजवादी फोरम विजयी भएको छ। मेयरमा फोरमका ५५ वर्षीय ब्यापारी विजय सरावगी विजयी भएका हुन्। उनी ६ महिना  अघिमात्र फोरममा प्रवेश गरेका थिए। सरावगीले नेपाली कांग्रेसका उम्मेदवार अजय द्धिवेदीलाई २१९६ मतले पछाडि पार्दै मेयर पद चड्काएका हुन्। बुधबार अपरान्ह सार्वजनिक मतपरिणाम अनुसार सरावगीले १९३९३ तथा द्धिवेदीले १७१९७ मत ल्याए। 

रोचक प्रसंग त के भने सुरुआतदेखि राष्ट्रिय जनता पार्टी राजपा नेपालका राजेशमान सिंह र द्धिवेदीबीच अग्रताको टक्कर परे पनि पछिल्ला केही दिन भने फोरमका सरावगीले बाजी मार्दै आएका थिए। असोज २ गते भएको मतदानको मतगणना असोज ३ गतेदेखि सुरु भएको थियो। 

उपमेयरमा भने नेपाली कांग्रेसकी शान्ति कार्की विजयी भएकी छिन्। उनी त्यो क्षेत्रकी सबैभन्दा पाकी नेतृ हुन्। उनी ८७ वर्षकी भइसकिन्। कार्कीले निकटतम् प्रतिस्पर्धी संघीय फोरम नेपालकी पिंकी यादवलाई हराइन्।  यो महानगरपालिकामा नेकपा एमालेका बसरुद्धिन अन्सारी र माओवादी केन्द्रका रहबर अन्सारी भने निकै कमजोर सावित भए।

मेयरमा जित हासिल गरेपछि सरावगीले आफू व्यापारी पृष्ठभूमिबाट आएकाले खान लाउन कुनै चिन्ता नभएको बताउँदै अब ५ वर्षभित्र वीरगञ्जको विकासमा कायापलट गर्ने प्रतिवद्धता जनाएका छन्। 

उनले वीरगञ्जमा धनीका सन्तान बोर्डिङमा पढ्ने भएकाले गरीवका जनताका लागि सरकारी विद्यालयलाई सुदृढ बनाउने बताए। उनले अर्को शैक्षिक सत्रदेखि हरेक सरकारी विद्यालयको पढाइ अंग्रेजीबाट हुने बताएका छन्। 

वीरगञ्जको यो परिणामपछि अब सप्तरीको राजविराज नगरपालिकाको मात्र परिणाम आउन बाँकी  छ। १३६ तहमध्ये काँग्रेसले ४०, संघीय फोरमले २६, राजपाले २४, माओवादी केन्द्रले २१, एमालेले १८, नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाली जनता दलले २ तथा नयाँ शक्ति पार्टी एक स्थानीय तह जितेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ