arrow

वाम एकतामा दिल्ली ‘सरप्राइज’

logo
प्रकाशित २०७४ असोज २२ आइतबार
nepal-india-flag.jpeg

नयाँदिल्ली । नेपालमा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच भएको वामपन्थी एकताको सैद्धान्तिक सहमतिले दिल्ली ‘सरप्राइज’ भएको छ । गत अगस्टमा प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भेटघाटअघि नै प्रधानमन्त्री देउवासँग आफ्नो निवासमा भेटेर नेपाल र नेपाली जनतालाई ‘सरप्राइज’ दिएका थिए । 

नेपालको राजनीतिमा वाम दलको रोमाञ्चक ‘मुभ’ले दिल्लीलाई त्योभन्दा पनि ठूलो ‘सरप्राइज’ दिएको छ । नेपालको राजनीतिले फेरि एकपटक कोल्टे फेरेको छ । वाम एकतालाई लिएर नेपाली राजनीति तरंगित भएको छ ।

बदलिएको यो राजनीतिक ध्रुवीकरण भएपछि दिल्ली एक्कासि झस्कियो । यसको पछाडि दुई प्रमुख कारण रहेका छन् । पहिलो, एक्कासि भएको यो परिवर्तनमा चीनको हात रहेको आशंका भारतको छ । 

दोस्रो, आफ्नै सहयोग र समर्थनको सरकारमा संलग्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको वामपन्थी एकतातर्फको ‘मुभ’ले दिल्ली आश्चर्यचकित छ ।
 
हुनत दाहालको पछिल्लो क्रियाकलापबारे दिल्ली एकदमै अनभिज्ञ पनि होइन । अगस्टमा प्रोस्टेटको अपरेसनपछि आराम गरिरहेका नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको स्वास्थ्य स्थिति बुझ्न गएका दाहालले भेटेर बाहिरिएलगत्तै भट्टराईले आफूसँग सहकार्य गर्ने विश्वास व्यक्त गरेका थिए । 

त्यसैगरी, प्रधानमन्त्री देउवाले भारत आउँदा संविधान संशोधनसम्बन्धमा बोलेको विषयमा देउवासँग असन्तुष्ट दाहालले एमाले अध्यक्ष केपी ओलीसँग राजनीतिक छलफल तीव्र बनाएका थिए । दिल्लीले यसलाई नजिकबाट नियालिरहेको थियो ।

त्यसैले दिल्लीले दसैंलगत्तै दाहाललाई भारत डाक्ने तारतम्य मिलाउँदै थियो । तर, त्यसअघि नै एमाले, माओवादी तथा नयाँ शक्ति समेतको पार्टी एकताको सैद्धान्तिक सहमतिले दाहाललाई थुम्थुम्याउने दिल्लीको योजना विफल भयो ।

अर्को, दिल्लीले वास्ता गर्न छाडेपछि राजनीतिक भविष्य खोज्दै यो एकतामा सामेल भएका वाम एकताका तेस्रो नायक नयाँ शक्ति पार्टीका संयोजक डा। भट्टराईसँग भने दिल्लीको खासै गुनासो छैन ।

वाम एकताले झस्किएको दिल्लीले लगत्तै परिवर्तित राजनीतिक घटनाक्रमका कारण राहत महसुस गर्न थालिसकेको छ । कांग्रेसको राष्ट्रिय जनता पार्टी राजपा तथा अन्य राजनीतिक दलसँगको गठबन्धन गर्ने प्रयासले दिल्लीलाई राहत दिएको हो । 

बरु अब प्रदेश तथा संसदीय निर्वाचनमा सिटको हिसाबकिताबतर्फ दिल्लीको ध्यान केन्द्रित हुन थालेको छ ।

नेपालमा भएको वामपन्थी एकताबारे भारतीय राजनीतिज्ञ उत्साहित छैनन् । वामपन्थी एकतालाई नेपालको आन्तरिक मामिला भएको र यसले नेपाल(भारत सम्बन्धमा खासै फरक नपर्ने पुरानै भनाइ दोहोर्‍याइरहेका छन् । 

छिमेकीहरूसँग भारतको सम्बन्धबारे खरो टिप्पणी गर्ने कांग्रेस नेता मणिशंकर अड्ढयरले वामपन्थी एकता नेपालको आन्तरिक राजनीति भएको हुँदा भारतीय राजनीतिज्ञले त्यसमा हस्तक्षेप गर्न नहुने बताए । 

उनले भने, ‘बाह्य शक्तिले नेपालको सार्वभौमसत्ताको सम्मान गर्नुपर्छ, वाम एकता नेपालको इन्टे«स्टमा भएको हो । भारतले यसमा चासो राख्नु हुँदैन ।’

बामे सर्दै गरेको नेपालको लोकतान्त्रिक अभ्यासमा यस किसिमका रोमाञ्चक मुभ सामान्य मानिन्छ । तर, नेपालमा चीनको बढ्दो प्रभाव नजिकबाट नियालिरहेका भारतीय थिंक ट्यांकहरू भने नेपालको वामपन्थी एकतालाई नेपालप्रति भारतले लिएको कमजोर कूटनीतिको परिणामका रुपमा पनि अथ्र्याइरहेका छन् । उनीहरू भारतको प्रभावबाट नेपाल फुत्किसकेको टिप्पणी गरिरहेका छन् ।

इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आईडीएसए)का अनुसन्धानकर्ता डा। निहार नायक भन्छन्, ‘पछिल्लो डेढ वर्षमा भारत माओवादी(कांग्रेसको गठबन्धन सरकार बनाउन सफल भएकोमा रमाएर बस्यो । सँगसँगै नेपालको विकास निर्माणका परियोजना कार्यान्वयन गर्न सकेन ।’ आफैंले सहयोग गरेको माओवादी पार्टीको वाम एकतातर्फको मुभ भारतका लागि झट्का भएको नायक बताउँछन् । 

तर, यसैबीच चीनको उच्च नेतृत्व तहको नेपाल भ्रमण र पछिल्लो समय चीनसँग विकास निर्माण परियोजनासम्बन्धी भएका सम्झौताहरू उल्लेख्य छन् ।

‘चीनले नेपालसँगको कूटनीतिक र आर्थिक सम्बन्ध आक्रामक रूपमा विस्तार गरिरहेको छ । यस्तो अवस्थामा भारतले नेपालमा आफ्नो प्रभाव रहेको छ भन्नु, भ्रम मात्र हो’, निहार भन्छन्, ‘नेपालसँग दिगो सम्बन्धका लागि भारतले दूरदृष्टि राख्नु आवश्यक छ । भारत–नेपाल सम्बन्धलाई नयाँ आयाम दिन आवश्यक भइसकेको छ ।’ (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ