arrow

चुनावका अपराजीत हस्तिहरु, जो यो चुनावमा समेत 'सेफ साईड'मा छन् 

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ असोज २४ मंगलबार
non_looser_leader.png

काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा कुन दलले कति सिटमा बाजी मार्लान् भन्ने अनेक टीका टिप्पणीहरु सुरु हुन थालिसकेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचनमा सहभागी हुने दलहरु यावत गठबन्धनमा जोडिने क्रममा पनि छन् । यही अवस्थामा हामीले भने नेपालमा प्रजातन्त्रको पुनस्र्थापनापछि अहिलेसम्म अपराजीत नेताहरु यो निर्वाचनमा विजयी हुने सम्भावना कति भन्ने हिसावले विश्लेषण गर्ने प्रयास गरेका छौं । 

वि सं २०४८ सालदेखि अहिलेसम्म ५ वटा संसदीय निर्वाचनहरु सम्पन्न भईसकेको छ । कुनैको नाम संसदीय, मध्यावधिक त कुनै संविधानसभाको गरी २०५९ सालमा घोषणामात्रै भएको निर्वाचनलाई हिसाव नगर्दा अहिलेसम्मको यो ५ निर्वाचन सम्पन्न भएको छ । जसमध्ये जम्मा ४ जना नेताहरु यस्ता जनप्रिय देखिएका छन् कि जसले अहिलेसम्म कुनैपनि निर्वाचनमा पराजीत हुनु परेको छैन । ती नेताहरुले अघिल्लो निर्वाचनमा ल्याएको मतको आधारमा हामीले विश्लेषण गर्दा तिनीहरु यो निर्वाचनमा समेत सुरक्षित स्थानमा देखिएका छन् । 

हामीले स्थानीय तहको निर्वाचन मत परिणामलाई यसमा सामेल गराएका छैनौं । हामीले विगतका स्थानीय तहको निर्वाचन मत परिणाम हेर्दा स्थानीय तहको निर्वाचनमा एउटा पार्टीले जितेको भएपनि प्रतिनिधि सभामा अर्काे पार्टीका उम्मेदवार विजयी भएको दृष्टान्तलाई आधार मान्दै हामीले स्थानीय तहलाई भने केही प्रतिशत मात्रै आधार बनाएका छौं । एउटै निर्वाचन क्षेत्रमा धेरै स्थानीय तहहरु पर्ने र स्थानीय तहको निर्वाचन स्थानीय सरकार सञ्चालनको लागि हुने र प्रतिनिधिसभा निर्वाचन केन्द्र सरकारको लागि हुने भएकोले यो दुई निर्वाचन नितान्त भिन्न छ भन्न सकिन्छ । स्थानीय तहको निर्वाचनमा छानिने उम्मेदवार र प्रतिनिधिसभाको निर्वाचनमा छानिने उम्मेदवारबीच धेरै फरक रहेकोले हामीले यस अघिको प्रतिनिधिसभाको निर्वाचनलाई नै आधार मानेका छौं । 

अहिलेसम्म भएका यी ५ तहको निर्वाचनमा अहिलेका प्रधानमन्त्री शेर बहादुर देउवा पनि यस्ता पात्रहरु हुन् जसले यी कुनैपनि निर्वाचनमा पराजीत हुनु परेन । २०४८ सालदेखि उनी अहिलेसम्म निरन्तर डडेल्धुरामा रहेको एउटै मात्र निर्वाचन क्षेत्रबाट चुनाव लडिरहेका छन् र त्यहाँबाट जितिपनि रहेका छन् । एक पटक २०७० सालको निर्वाचनमा भने उनी कैलाली ६ बाट पनि निर्वाचनमा विजयी भएका थिए । तर, पछि उनले डडेल्धुरा नै रोजेर अहिले उनी त्यहीँबाट संसद्मा प्रतिनिधि छन् । 

उनको २०७० सालको निर्वाचन मतान्तरको हिसावले हेर्दा उनी यो चुनावमा पनि सुरक्षित देखिन्छन् । २०७० सालको निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी थिए माओवादीका खगराज भट्ट । उनले यो निर्वाचनमा १२ हजार ४ सय ९३ मत ल्याएका थिए । त्यस्तै, तेस्रो हुने नेकपा एमालेका उम्मेदवार तारा प्रसाद जोशीले ७ हजार एक सय ९० मत ल्याएका थिए । अहिले बाम गठबन्धन बन्दाखेरी यी दुई दलको पूरै मत जोडिएर आयो भनेपनि १९ हजार ६ सय ८३ मत हुन आउँछ । जबकि यो निर्वाचनमा देउवा एक्लैले २३ हजार नौ सय २० मत ल्याएर विजयी भएका थिए । जुन ४ हजार २ सय ३७ मतले बढी हो । फेरि नेपाली काँग्रेसले पनि गठबन्धनको निर्णय गरिसकेको र उसको पनि गठबन्धनमा जोडिने दलहरुको मत र बाम गठबन्धनमा जोडिने साना दलहरुको मतान्तर जोडिएको छैन । 

त्यस्तै, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि २०४८ सालदेखि अहिलेसम्मका अपराजीत उम्मेदवारको रुपमा चिनिन्छन् । २०४८ सालमा तनहुँ क्षेत्र नं १ मा र त्यसपछिका सबै निर्वाचनहरुमा तनहुँ क्षेत्र नं २ बाट चुनाव लडेका नेता पौडेलको पनि यसपटकको निर्वाचनमा समेत त्यस्तो अवस्था देखिँदैन । बाम गठबन्धनले कडा टक्कर दिने भनिएको उनको क्षेत्रमा पनि उनी सुरक्षित रहेको मान्न सकिन्छ । उनले ०७०को निर्वाचनमा १८ हजार १ सय ४९ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्णकुमार श्रेष्ठले ११ हजार ७ सय ३९ मत ल्याउँदा तेस्रो हुने माओवादीका ओमराज आलेले ४ हजार ४ सय ९३ मत ल्याए । यसरी बाम गठबन्धन भित्रका यी दुई उम्मेदवारको मत जोड्दा पौडेलको भन्दा १९ सय १७ मत कम हुन्छ । यस्तो स्थितीमा पौडेल पनि आफ्नो क्षेत्रमा सुरक्षित रहेको मान्न सकिन्छ । 

अर्का अपराजीत पात्र हुन् भक्तपुरका नारायणमान विजुच्छे । उनी पनि २०४८ सालदेखि अहिलेसम्मका सबै संसदीय निर्वाचनहरुमा अपराजीत हुँदै आएका छन् । २०४८ सालदेखि अहिलेसम्म निरन्तर भक्तपुर १ बाट उम्मेदवार बनेका विजुच्छेँको पनि मतान्तर एकदमै सुरक्षित रहेको छ । पछिल्लो पटकको निर्वाचनमा उनी २० हजार ४ सय ४६ मत सहित विजयी भएका हुन् भने उनको निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका कृष्णलाल भण्डेलले १२ हजार ८ सय २६ मत ल्याएका थिए । सो समयमा अहिलेको बाम गठबन्धनमा जोडिएका माओवादी र एमालेको कूल मत जोड्दा ११ हजार ८ सय ८४ मत मात्रै पुग्छ । यसरी काँग्रेस गठबन्धनमा जोडिने दलहरुले ल्याएको सबै मत जोड्दा पनि एक हजारको हाराहारीमा नपुग्ने र गठबन्धनका सबै दलले ल्याएको मत थपिन्छ नै भन्ने ग्यारेन्टी पनि नभएकोले पनि यो विजुच्छेँ उम्मेदवार बनेको खण्डमा उनको पनि सम्भभावना  बढी देखिन्छ । 

चौथा अपराजित पात्र हुन् फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार । उनी पनि अहिलेसम्मका ५ वटै निर्वाचनमा अपराजीत छन् । तर, उनको पछिल्लो निर्वाचन भने त्यति सुखद् देखिँदैन । उनी पछिल्लो पटक २०७० सालमा निकै झिनो मतान्तरले विजयी भएका सांसद् हुन् । उनले १७ हजार ५ सय २४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भगवती चौधरीको १७ हजार १ सय ६२ मत आएको थियो । त्यस्तै माओवादी केन्द्रको एक हजार ९९ मत आएको थियो । अहिलेको स्थितीमा यी दुई दलको मत जोड्दा त गच्छदार पराजीत हुने सम्भावना देखिन्छ । तर, नेपाली काँग्रेससँग तालमेलको अन्तिमम तयारीमा रहेका उनी आफ्नै लागि पनि काँग्रेससँग तालमेल गर्ने पक्षमा छन् । नेपाली काँग्रेसकी उम्मेदवार गोपाकुमारी पराजुलीले त्यतिबेला ७ हजार ८ सय ६५ मत ल्याएकी थिईन् । त्यसैले काँग्रेससँग तालमेल गरेको खण्डमा उनी पनि सुरक्षित देखिन्छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ