arrow

कृष्णप्रसाद सिटौलाले चुनाव नलड्ने भनी चलाइएको हल्ला निराधार : झापा कांग्रेस

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
krishna-prasad-sitoula.jpg.jpeg

सुरुङ्गा। झापा क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव नलड्ने भनी चलाइएको हल्ला निराधार रहेको झापा काँग्रेसले जनाएको छ। झापा क्षेत्र नम्बर ३ राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाडेर सिटौला समानुपातिकबाट उम्मेदवार बन्ने भनेर चलाइएको हल्ला निराधार रहेको पार्टी सभापति उद्धव थापाले बताएका छन्।

उनले पत्रकारसँग मंगलबार कुराकानी गर्दै सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट नै प्रत्यक्षतर्फ प्रतिनिधि सभाको चुनाव लड्ने दाबी गरे। कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कुराकानी गर्दै गठबन्धनमा सहभागी हुन चाहनेले माग राख्नु स्वभाविक भए पनि कार्यदलको बैठकले झापाको क्षेत्र नम्बर ३ राप्रपालाई छाड्ने विषयमा निर्णय गरेको छैन भने। काँग्रेसका उम्मेदवार छनोट गर्ने र टिकट वितरण गर्ने संसदीय बोर्ड नै गठन नभएको अवस्थामा क्षेत्र नै छाडेको भनेर चलाइएको हल्लाको भ्रममा नपर्न सिटौलाले आम मतदातालाई अपिल गरेका छन्।

२०५० सालको उपनिर्वाचन, २०५६ को आम निर्वाचन र २०७० को संविधानसभा निर्वाचनमा सिटौला झापा क्षेत्र नम्बर ३ बाट लगातार तीनपटक निर्वाचित भएका थिए। लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणका लागि नेपाली काँग्रेसलाई गणतान्त्रिक बाटोमा लैजान र विद्रोही माओवादीलाई १२ बुँदे सहमति गर्दै विस्तृत शान्ति प्रक्रियामा ल्याउन सिटौलाले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।

राष्ट्रिय राजनीतिमा सिटौलाले निर्वाह गरेको महत्वपूर्ण भूमिका र स्थानीय विकास निर्माणमा र झापाको विकासमा सिटौलाले पुर्‍याएको योगदानलाई यहाँका जनताले कहिल्यै भुल्न नसक्ने ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेलले बताए। झापा काँग्रेसले सिटौलालाई जोडेर चलाइएको हल्लाको भ्रममा नपर्न आम झापाली मतदातालाई अपिल पनि गरेको छ। सिटौलालाई काँग्रेस ३ नम्बर क्षेत्र र जिल्ला समितिले प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर ३ को सर्वसम्मत उम्मेदवारका रुपमा केन्द्रीय समितिमा नाम सिफारिस गरिसकेको छ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ