arrow

शीर्ष नेताको जिल्लामा थपिएका जनता : कुन नेताकोमा कति ?

logo
प्रकाशित २०७४ असोज २५ बुधबार
deuba-oli-dahal.jpg

काठमाडौं। संविधान सभा निर्वाचन २०७० र प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबीचको ४ वर्षे समयावधिभित्र नेपालमा कूल ३२ लाख ७९ हजार ८ सय ६६ मतदाता थपिएका छन्। विभिन्न जिल्लामा थपिएका मतदाताहरुको विवरण विश्लेषण गर्दा सबैभन्दा बढी मतदाताहरु तराईभेगमा थपिएको निर्वाचन आयोगले जनाएको छ। 

हामीले यो तथ्यांकलार्इ वरिष्ठ नेताको गृहजिल्ला अनुसार विश्लेषण गरेका छौं। पूर्वबाट नै सुरु गर्दा पहिलो झापाबाट सुरु गरौं। झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको पनि गृहजिल्ला हो। यो जिल्ला धेरै मतदाता थपिएको जिल्ला मध्ये तेस्रो नम्बरमा परेको छ। यसमा यही पार्टीका धेरै मतदाता थपिए भन्ने यकीन गर्न त गाह्रै पर्ला। तर पनि यो दुर्इ शीर्ष नेताहरुको गृह जिल्लामा पछिल्लो ४ वर्षमा मात्रै १ लाख ३० हजार सात सय ३७ जना मतदाता थपिएका छन्।

त्यस्तै इलाम नेकपा एमालेका दुर्इ प्रभावशाली नेता झलनाथ खनाल र सुवास नेम्वाङ तथा नेपाली काँग्रेसका नेता कूल बहादुर गुरुडको गृह जिल्ला हो। अहिले दुर्इ क्षेत्र रहेको इलाममा अहिले कडा प्रतिस्पर्धा हुने देखिन्छ। तर इलाम मतदाता थपिएको हिसावमा भने धेरै अगाडि छैन। यहाँ यो ४ वर्षे समयावधिमा ४० हजार ४ सय ९६ मतदाता बढेका छन्। 

त्यसपछि कोइराला नगरी मोरङतिर। मोरङ सबैभन्दा बढी मतदाता थपिएको जिल्ला हो। मोरङ जिल्लामा मात्रै यो अवधिमा १ लाख ४९ हजार ३ सय ५२ मतदाता थपिएका छन्। यो प्रजातान्त्रिक आन्दोलन सुरु भएको र नेपाली काँग्रेस नेता शेखर कोइरालाको गृहजिल्ला पनि हो। त्यस्तैगरी अर्का शीर्षनेताको गृहजिल्ला हो रौतहट। यो नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला हो। ४९ हजार ९ सय ८९ जना मतदाता थपिएका छन् भने नेपाली काँग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधिको गृहजिल्ला धनुषामा ६६ हजार ९ सय ४१ मतदाता रहेका छन्। 

त्यस्तै धेरै शीर्ष नेता रहेको काठमाडौं धेरै मतदाता थपिएको १० जिल्लामध्ये १० औ नम्बरमा परेको छ। यहाँ नेपाली काँग्रेसका प्रकाशमान सिंह लगायतका नेताहरु रहेका छन् भने एमालेका इश्वर पोखर्ल लगायतका नेताहरु रहेका छन्। काठमाडौं २ त एमाले वरिष्ठ नेता नेपालले पनि चुनाव जितेको क्षेत्र हो। मुलुकको राजधानी समेत रहेको काठमाडौंमा यो ४ वर्षमा ७१ हजार ५ सय १० मतदाता थपिएका छन्।

त्यस्तै माओवादीका अध्यक्ष प्रचण्डको गृहजिल्ला मानिने चितवनमा यो समयावधिमा ८० हजार २ सय ३२ मतदाता थपिएका छन्। यहीबाट प्रचण्डले चुनाव लड्ने घोषणा गरिसकेका छन्। उनको जिल्ला धेरै मतदाता बढेको जिल्लको सूचीमा ८ औं स्थानमा छ। त्यस्तै राप्रपाका अध्यक्ष कमल थापाको गृहजिल्ला हो मकवानपुर। मकवानपुरमा यो ४ वर्षको अवधिमा ६३ हजार ३ सय ५९ मतदाता थपिएका छन् भने बाबुराम भट्टरार्इको गोरखामा यो ४ वर्षे अवधिमा ५० हजार ७ सय ८१ मतदाता थपिएका छन्।

नेपाली काँग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहूमा ४ वर्षमा ४८ हजार ४ सय ८८ मतदाता  थपिएका छन्। भर्खरै सम्पन्न स्थानीय चुनावमा पनि १० सिट मध्ये कांग्रेसले ६ सिट जितेको थियो। 

दोस्रो तहका धेरै पार्टीका नेताहरु रहेको रुपन्देहीमा यो ४ वर्षमा १ लाख ३४ हजार २ सय ८१ मतदाता थपिएका छन्। १ लाख १२ हजार १ सय ७० मतदाता थपिएको नवलपरासी शशांक कोइरालाको गृह जिल्ला हो। त्यस्तैगरी, अहिलेका गृहमन्त्री जनार्दन शर्माको गृहजिल्ला रुकुममा २५ हजार ४ सय २५ मतदाता थपिएका छन् भने कृष्णबहादुर महराको रोल्पामा ३३ हजार २ सय ९ मतदाता थपिएका छन्।  खुमबहादुर खड्का श‌ंकर पोखरेल लगायतका नेताहरुको दाङमा एक लाख एक सय ७७ मतदाता थपिएका छन्।  त्यस्तै बामदेव गौतमको वर्दियामा ५६हजार ८९ मतदाता थपिएका छन् भने भीम रावलको अछाममा २४ हजार ७३ मतदाता बढेका छन्। 

प्रधानमन्त्री शेर बहादुर देउवा उठ्ने भनेको डडेल्धुरामा १५ हजार ८ सय २४ मतदाता बढेका छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार तराईका जिल्लामा सबैभन्दा धेरै मतदाताहरु थपिएका छन् भने हिमाली क्षेत्रका जिल्लाहरुमा मतदाता घटेका छन्। आयोगले दिएको तथ्यांक अनुसार २०७० सालको निर्वाचनको तुलनामा २०७४ सालको निर्वाचनमा सबैभन्दा धेरै मोरङ जिल्लामा मतदाता बढेका छन्। मोरङ जिल्लामा मात्रै यो अवधिमा १ लाख ४९ हजार ३ सय ५२ मतदाता थपिएका छन्। त्यस्तै, धेरै मतदाता थपिएको जिल्ला मध्ये १० औं स्थानमा परेको छ काठमाडौं। 

यसरी बढी मतदाता थपिएका जिल्लाहरुमा क्रमश रुपन्देहीमा १ लाख ३४ हजार २ सय ८१, झापामा १ लाख ३० हजार सात सय ३७, कैलालीमा १ लाख २६ हजार नौ सर १९, नवलपरासीमा १ लाख १२ हजार एक सय ८७, सुनसरी एक लाख २ हजार एक सय ४६, दाङमा एक लाख एक सय ७७ र चितवनमा ८० हजार २ सय ३२ र कपिलवस्तुमा ७२ हजार नौ सय ५ मतदाता थपिएका छन्। यो १० मध्ये ९ जिल्ला तराईमा पर्ने जिल्लाहरु हुन् भने काठमाडौं मात्रै राजधानी शहर भएकोले पहाडी जिल्लामा पनि मतदाता थपिएको देखिन्छ। 

त्यस्तै थोरै मतदाता थपिएका जिल्लाहरुमा मनाङ सबैभन्दा अगाडि रहेको छ । यो जिल्लामा यो चार वर्षमा एक हजार ८५ मतदाता थपिएका छन्। त्यस्तै, दोस्रोमा २१ सय ८५ मतदाता मुस्ताङ जिल्लामा थपिएका छन्। यसरी कम मतदाता थपिएकाहरुमा क्रमशः तेस्रो स्थानमा डोल्पामा ३९ सय ७, चौथो स्थानमा रहेको हुम्लामा ५३ सय १९, पाँचौ स्थानमा रहेको मुगुमा ६१ सय १४, रसुवामा ८७ सय ८९, बाजुरामा ११ हजार २४, जुम्लामा ११ हजार ६ सय १३ र दशौं स्थानमा रहेको दार्चुलामा १२ हजार ४ सय १३ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ। यसरी कम मतदाता बढेका सबै जिल्लाहरुमा प्रतिनिधि सभाका लागि एउटामात्रै निर्वाचन क्षेत्र रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ