arrow

प्रकाशमान सिंहको मन्त्र –‘प्रजातान्त्रिक प्रक्रिया टिकाउन सबै एकजुट हुनैपर्छ’

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
prakashman-singh.jpg.jpeg

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातान्त्रिक प्रक्रिया टिकाउन सबै एकजुट हुनुपर्ने बताएका छन् ।  

नेपाली काँग्रेस काठमाडौँले प्रदेशसभा र प्रतिनिधिसभाको पूर्वसन्ध्यामा बिहिबार यहाँ आयोजना गरेको ‘समृद्ध नेपाल निर्माणको आधारः सङ्घ र प्रदेशमा काँग्रेसको सरकार’ काठमाडौँ जिल्ला अगुवा कार्यकर्ता भेलामा काँग्रेसका नेता सिंहले प्रजातान्त्रिक प्रक्रियाले निरन्तरता पाए मात्र निर्वाचन निरन्तर रुपमा हुने र सबैले अवसर पाउने बताए । 

उनले साम्यवादी व्यवस्था नेपालमा लागू हुन नसक्ने बताए । “मुलुक लोकतान्त्रिक व्यवस्थाबाट अगाडि बढिरहेको बेला साम्यवादी व्यवस्था लागू हुन सक्दैन,” नेता सिंहले भने । 
नेता सिंहले २०७० सालको संविधानसभा निर्वाचनमा आठ क्षेत्र जितेको काँग्रेसले स्थानीय तहमा हार व्यहोर्नु दुःखद घटना भएको बताउँदै प्रजातन्त्रलाई संस्थागत गर्न काँग्रेसलाई जिताउन आवश्यक रहेको विचार व्यक्त गरे । 

काँग्रेस केन्द्रीय सदस्य एवम् सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले लोकतन्त्र रहेमात्र सबै जातजाति, भाषा, धर्म मान्ने व्यक्तिको अधिकार सुरक्षित हुने र लोकतन्त्रको स्थायित्वका लागि सबै एकजुट हुनुपर्ने धारणा राखे । 

काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टीमा दुःख गरेका व्यक्तिलाई नेतृत्वले उच्च मूल्याङ्कन गर्नुपर्ने बताए । 

अर्का केन्द्रीय सदस्य गगनकुमार थापाले मुलुकमा लोकतन्त्र प्राप्ति र संविधान निर्माणमा काँग्रेसले खेलेको भूमिका आम जनतामाझ लगेर जनताको मन जित्न जरुरी रहेको बताए । 

काँग्रेस केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले स्थानीय तहको नतिजालाई आत्मसात् गरी प्रदेश र केन्द्रमा टिकट वितरण गर्नुपर्ने बताए । 

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले काँग्रेस एक ढिक्का भए वाम गठबन्धनले कुनै असर नगर्ने बताए । 

काँग्रेस जिल्ला सभापति सबुज बानियाँले टिकट पाउने व्यक्तिविरुद्ध टिकट नपाउने व्यक्तिको समूह लाग्ने प्रवृत्तिको अन्त्य नभएसम्म काँग्रेसले काठमाडौँमा जित्न नसक्ने स्पष्ट पारे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ