arrow

तेह्रथुममा काँग्रेस, एमाले, माओवादी केन्द्र र संघीय फोरमका यी हुन् उम्मेदवार 

logo
हाम्रा कुरा
प्रकाशित २०७४ असोज २६ बिहिबार
tehrathum.png

तेह्रथुम । तेह्रथुमबाट दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि धमाधम उम्मेदवार सिफारिश गरिरहेका छन् । अहिलेसम्म नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले उम्मेदवारका आकाङ्क्षीको सूची सिफारिश गरेको जनाएका छन् । 

नाम सिफारिश भएपछि उम्मेदवारीका लागि नेताहरुको दौडधुपसमेत शुरु भएको छ । 

तेह्रथुममा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नेपाली काँग्रेसबाट केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङको नाम सर्वसम्मत सिफारिश भएको छ । 

एमालेले सांसद भवानीप्रसाद खापुङ, पूर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवा र पूर्वसभासद् विष्णुमाया विकको नाम सिफारिश गरिएको छ । माओवादी केन्द्रले निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेलाई सिफारिश गरेको छ । 

संघीय समाजवादी फोरमले केन्द्रीय महासचिव रणध्वज कन्दङवा, डिबी सुब्बा, तीर्थ अधिकारी, इन्द्र सुब्बाको नाम पठाएको जनाएको छ । समानुपातिकतर्फ अझै धेरै आकाङ्क्षी देखिएका छन् । 

काँग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ पूर्वसभासद् तुलसी सुब्बा, पूर्वजिल्ला सभापति रामनारायण ढुंगाना, गुरुप्रसाद भट्टराई र राज्यप्रसाद लिम्बूको नाम सिफारिश गरेको छ । 

नेकपा एमालेले भीमप्रसाद घिमिरे, अर्जुन ढुंगाना र जमुना सुवेदी तथा माओवादी केन्द्रले केन्द्रीय पोलिटब्यूरो सदस्य दुर्गाप्रसाद चापागाईं र पूर्वविधायक फुर्वी शेर्पाको नाम पठाएको छ । 

यस्तै संघीय समाजवादी फोरम नेपालले लोकबहादुर सिंगक, वेदाहाङ कन्दङवा, अस्मिता याख्खा र मानभगत दमाईंको नाम पठाएको जनाएको छ । 

प्रदेश सभा सदस्य निर्वाचनतर्फ क्षेत्र नं १ मा प्रत्यक्षतर्फ काँग्रेसले जिल्ला सभापति गोविन्द ढुंगानाको नाम सर्वसम्मत पठाएको छ भने एमालेले पनि जिल्ला अध्यक्ष लक्ष्मण तिवारी र पूर्वजिविस सभापति किशोरचन्द्र दुलालको नाम सिफारिश गरेको छ । 

माओवादी केन्द्रले जिल्ला संयोजक इन्द्र इम्सङ र सहसंयोजक गणेशकुमार सेनको नाम पठाएको छ । संघीय समाजवादी फोरमले सूर्य मादेनको नाम सर्वसम्मत पठाएको छ । 

यस्तै समानुपातिकतर्फ नेपाली काँग्रेसबाट अर्जुन तुम्बाहाम्फे, अर्जुन माबोहाङ, सन्तोष सुब्बा, विपीन सुब्बा, टेकराज तिगेलालगायत दर्जनभन्दा बढी नेताहरुको नाम सिफारिश भएको छ । 

एमालेबाट प्रदेश कमिटी सदस्य अनुभूतिबम नेपाली, पिताम्बर तिम्सिना, धर्म खुलाल, गणेश सोदेम्बा, तुलसी अधिकारी, रेनुका भट्टराई र तारा गुरुङको नाम पठाइएको पार्टीले जनाएको छ । 

यस्तै माओवादी केन्द्रले दिलकुमारी लिम्बू र तेजेन्द्र कुरुम्बाङको नाम पठाएको छ भने संघीय समाजवादी फोरमले सर्वजित निङलेकु, नारायणमान गुरुङ र सेमिमा तुम्बाहाम्फेको नाम पठाएको छ । 

प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्र नं २ मा प्रत्यक्षतर्फ नेपाली काँग्रेसले नारायणकुमार इङनाम, बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम सिफारिश गरेको छ । एमालेले बाबुराम थापा, सिर्जना लामा र विश्वराज खापुङ तथा माओवादी केन्द्रले सुशिला कन्दङवा, भीमप्रसाद कन्दङवा र ताराप्रसाद भटराईको नाम पठाएको जनाएका छन् । 

संघीय समाजवादी फोरमले भने यो क्षेत्रबाट पनि सर्वसम्मत रुपमा सन्तोष लिम्बूलाई उम्मेदवार बनाउने भएको छ । प्रदेश सभा क्षेत्र नं २ मा नै समानुपातिकतर्फ काँग्रेसले गणेश घिमिरे, केशव भेटुवाल, भीष्म थपलिया, हरिप्रसाद डाँगी, हेमन्त गुरुङ, केदार गहतराज, जमुना वर्देवा लगायतको नाम सिफारिश गरेको जनाएको छ । 

एमालेले रामचन्द्र थपलिया, नेत्र पन्धाक र लक्ष्मी कार्की तथा माओवादी केन्द्रले तेजमान कन्दङवा, बलिराज इङनाम र चुडामणि बरालको नाम पठाएको माओवादी केन्द्रले जनाएको छ । 

संघीय समाजवादी फोरमले कपिलदेव सिंगक, सावित्रा राई, सुवीन्द्र थेगुवा र मानध्वज सम्बाहाम्फेको नाम पठाएको छ । जिल्लाबाट राप्रपा, लिम्बुवान्, नेकपा माले लगायत दलहरुले पनि उम्मेदवारको नाम तय गरिरहेको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ