arrow

उपेन्द्रले भने–‘बल काँग्रेसकै कोर्टमा’ 

logo
प्रकाशित २०७४ असोज २६ बिहिबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावी गठबन्धन हुने वा नहुने भन्ने काँग्रेसकै हातमा रहेको बताएका छन् । 

समाजवादी फोरम र नेपाल कम्युनिष्ट पार्टी संयूक्त मार्क्सवादीबीच भएको पार्टी एकीकरण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन । 

वाम गठबन्धन बन्न लागेपछि काँग्रेस आफुहरुसँग चुनावी तालमेलमा सामेल हुन आग्रह गरेको बताउँदै अध्यक्ष यादवले भने,‘हामीलाई काँग्रेसले चुनावी गठबन्धनमा सामेल हुनको लागि आग्रह गरेको छ, हामीले त्यसलाई सहर्स स्विकार गरेका छौ, तथापि काँग्रेसले सबैलाई मिलाएर लैजाने हो भने हामी तालमेल गर्न तयार छौँ, त्यो जिम्मा काँग्रेसकै भागमा छ, खासमा भन्ने हो भने अब बल कांग्रेसको कोर्टमा छ ।’

उनले आगाडि भने, ‘काँग्रेसको उदारता र मिलाएर लैजाने क्षमतामा भरपर्छ, सरकारमा जाने नजाने कुनैपनि निर्णय भएको छैन, हामीले राजपासँग चुनावी तालमेल गर्ने निर्णय गरेका छौँ, काँग्रेसले राखेको प्रस्तावमाथि गृहकार्य भैरहेको छ ।’

अध्यक्ष यादवले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीचको वैकल्पिक राजीनितक शक्तिको रुपमा विकास गरेर समाजवादी फोरमलाई उत्पीडित, मधेशी, जनजाति, थारुको उत्थान र समान न्याय, समान अधिकार, राष्ट्रिय पहिचान, समृद्धि र स्वाभिमानको महसुस गराउनतर्फ लाग्ने जानकारी दिए । 

उनले भने, ‘सङ्घीय समाजवादी फोरम एउटा वैकल्पिक शक्ति हो, राईट एण्ड लेफ्ट बनेर उभिएका वर्तमान राजीनितक शक्ति भन्दा फरक कोणबाट उत्पीडितहरुको हितका निम्ति काम गर्नेछ ।’

स्वामित्व ग्रहण गर्न लायक नभएको भन्दै उनले विगतमा ६ वटा संविधानहरु जलेको बताए । अध्यक्ष यादवले वर्तमान संविधानलाई संशोधन गर्नुपर्नेमा परिवर्तनकारीहरु उभिएको तर्क पनि गरे । उनले भने, ‘वर्तमान संविधानले उत्पीडित वर्ग, महिला, जनजाति, मुस्लिम, थारु लगायतका समुदायको स्वामित्व ग्रहण गरेको छैन, हामी समाजवादी हौं, लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने हाम्रो धारणा छ, हामी उत्पीडितकै पक्षमा छौँ ।’

संविधानमा प्राप्त हकअधिकारलाई ग्रहण गर्न, प्राप्त अधिकारहरु खोसिन नदिनको लागि निर्वाचनमा आफ्नो पार्टीले भाग लिएको बताए । 

उनले भने, ‘हाम्रो पार्टी समाजका उत्पीडनविरुद्ध छ, वर्तमान संविधानले समाजका तमाम उत्पीडितहरुका अधिकारलाई कुण्ठित गरेको छ, हामी कुनैपनि हालतमा संविधान संशोधन गरेर स्वामित्व प्रदान गर्नको लागि विभिन्न पार्टीहरु एकतामा गोलबन्ध गर्न लागि रहेका छौँ ।’ नेपाल कम्यूनिष्ट पार्टी संयूक्त माक्र्सवादीका महासचिव प्रकाश अधिकारीले वाम गठबन्धन नक्कली भएको बताएका छन् । 

आफ्नो पार्टी लोकतान्त्रिक क्रान्तिको गर्भबाट जन्मेको भन्दै महासचिव अधिकारीले बाँकी आन्दोलन र अधिकारको लडाई फोरमका अध्यक्षसँग मिलेर सफल पार्ने बताए । उनले भने,‘हिजो आज वाम गठबन्धनको हल्ला पिटिएको छ, जुन जनताको लागि होईन, यो वाम गठबन्धन होईन, यो स्वार्थ गठबन्धन हो, जुन सक्ता शक्ति र भक्तिको लागि मच्चाईएको हल्ला हो, जनताको हितका निम्ति वाम एकता गर्न लागिएको होईन ।’

महासचिव अधिकारीले भने,‘समाज परिवर्तन र उत्पीडितका मागहरु सम्बोधन गर्नको लागि लडि रहेको पार्टीसँगको एकताले समाजलाई फाईदा गर्छ, परिर्वतनकारीहरु वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित हुँदैछन, आगामी दिनहरुमा उत्पीडितहरुको पक्षमा उभिनुपर्छ, त्यसैले पनि हामी एक भएका छौँ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ