arrow

आठराईको विकासका लागि १५ वर्षे गुरुयोजना

पर्यटन विकास पहिलो प्राथमिकतामा

logo
प्रकाश धौलाकोटी
प्रकाशित २०७४ असोज २८ शनिबार
athrai_gaupalika.JPG

तेह्रथुम ।  तेह्रथुमको पुर्वी ऐतिहासिक आठराई क्षेत्र समेटिएको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारको विकासका लागि गुरुयोजना तयार पारिएको छ । गाउँपालिकाको केन्द्र रहेको संक्रान्तिबजार क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक पुर्वाधार विकासका लागि १५ वर्षे गुरुयोजना तयार पारिएको हो । 

सक्रान्तिबजारलाई स्वच्छ, सफा, हराभरा र भौतिक पुर्वाधारले सुविधायुक्त बनाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने गुरुयोजनाको प्राथमिकता रहेको छ । बजारमा खानेपानी तथा ढल व्यवस्थापन, होमस्टे निर्माणको अवधारणा, व्यवस्थित बसपार्क, सबै वडालाई समेट्ने गरी चक्रपथ निर्माण, सिँचाइका लागि सडक क्षेत्रमा ड्रेन निर्माण लगायत योजनाहरु गुरुयोजनामा समेटिएका छन् । 

गुरुयोजनामा पर्यटक लक्षित सडक विकासकै लागि संक्रान्तिबजार–खाम्लालुङ हुँदै सोबुवा देउरालीदेखि गुफापोखरी सडक निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ । सुख्खायाममा आकाशेपानी संकलन, विद्युत् लाइन विस्तार, प्राविधिक शिक्षालय, कृषि संकलन तथा दूग्ध चिस्यान केन्द्र, हाटबजार क्षेत्रको व्यवस्थापनका साथै बस्ती विकास र भवन निर्माणका मापदण्ड समेत गुरुयोजनामा समेटिएको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले जानकारी दिए ।

आगलागीबाट नष्ट बनेको सक्रान्तिबजारलाई व्यवस्थित र सुन्दर बनाउनका लागि भौतिक योजना तथा शहरी विकास शाखाले गुरुयोजना निर्माण गरेको हो । गुरुयोजनामा गाउँपालिकाले प्राथमिकतामा राखेका योजनाहरु समेत समेटिएकाले आठराईको विकासकालागि गुरुयोजना कोशेढुंगा सावित हुने गाउँपालिकाका अध्यक्ष लिम्बुले बताए ।
 
पहिलो वर्ष याकुम्बा गढीलाई पर्यटकीय गन्तव्य बनाउन लगानी गरिने भएको छ । गढीसम्म पुग्न पैदल मार्गको निर्माण, विश्रामस्थल सहितको भ्यु–टावर लगायत पुर्वाधार निर्माण गरी याकुम्बा गढीलाई आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनाइने र त्यसका लागि गाउँपालिकाको लगत्तै हुने गाउँसभाले बजेट व्यवस्थापन गर्नेछ । 

अन्य पुर्वाधार निर्माण तथा व्यवस्थापनका लागि योजना तयार गरी भौतिक पुर्वाधार तथा शहरी विकास शाखामा पठाइएको समेत अध्यक्ष लिम्बुले बताए । १३ प्रजातिका गुराँस फुल्ने याकुम्बा गढी आठराईकै प्रमुख पर्यटकीय सम्भावना बाकेको क्षेत्र हो । डाँडा नजिकै रहेको पाथीभरा देवीको मन्दिर सम्म पुग्ने सहज पैदल मार्ग समेत छैन । डाडाँ सम्म पुग्ने गरी  खनिएको सडक अहिले झाडीले ढाकेको छ । याकुम्बा गढीबाट पुर्वका विभिन्न स्थानसहित नौ जिल्लाको दृश्यावलोकन समेत गर्न सकिन्छ । गढीबाट तेह्रथुमसहित ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, धनकुटा लगायत जिल्लाको अवलोकन गर्न सकिने स्थानीयबासीले बताउछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ