arrow

कतै कर्मचारीको खडेरी, काठमाडौं महानगरमा भने किन बढ्यो यतिधेरै क्रेज ?

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
mahanagar123.jpg

काठमाडौं । कर्मचारी अभावले मुलुकका अधिकांश स्थानीय तहमा कामकाज प्रभावित भईरहँदा काठमाडौं महानगरपालिकामा जान भने कर्मचारीहरुको क्रेज बढेको छ । दरबन्दी नै नभएको पदमा समेत कर्मचारी पठाउने थालिएपछि महानगरपालिकाका स्थानीय कर्मचारीहरुले केही दिन अघि बैठक नै बसेर यस विषयमा मन्त्रालय र महानगरपालिका कार्यालयलाई ध्यानाकर्षण गराउन पत्राचार गर्ने निर्णयमा पुगेका छन् । महानगरपालिकाका विभिन्न पदका तीन दर्जन बढी कर्मचारीहरुको असोज ३१ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मुलुकको राजधानी रहेको महानगरपालिका आर्थिक रुपमा समेत सुदृढ स्थानीय तह हो । यसैले पनि अन्य स्थानीय तहमा जान नचाहने कर्मचारी समेत यहाँ शक्तिकेन्द्रमा भनसुन गरेरै भएपनि आउने गरेका छन् । अहिले कर्मचारी समायोजन गरेर विभिन्न विषयगत कार्यालयका कर्मचारीहरुलाई स्थानीय तहमा पठाउने भनिएपनि अहिले महानगरपालिकाको पनि लेखा शाखा तिर धेरै कर्मचारीहरुको क्रेज बढेको स्थानीय कर्मचारीहरुको आरोप छ । यसो हुनुमा महानगरपालिकाको स्रोतमाथि धेरै हालिमुहाली गर्न पाईन्छ भन्ने सोचाई प्रमुख रहेको आशंका गरिएको छ ।

अहिले संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले लेखा शाखाको उपसचिव सहित लेखाको अधिकृतहरु र सहायक कार्यकारी अधिकृत महानगरमा पठाएको छ । त्यस्तै, विषयगत कार्यालयहरु मध्ये शिक्षा र स्वास्थ्यका कर्मचारीहरु महानगरपालिकामा पठाईएको छ । विषयगत कार्यालयका कर्मचारीहरु अब स्थानीय तहमा आउनुलाई सामान्य मानिएपनि उनीहरुको पनि कर्मचारीमात्रै आएको र जिम्मेवारी र बजेटसँगै पुराना दस्तावेजहरु केही पनि आएको छैन । सहायक कार्यकारी अधिकृतको त महानगरपालिकामा दरबन्दी नै छैन ।

महानगरपालिकाका कार्यकारी अधिकृत धनिराम शर्माले विषयगत कार्यालयहरुबाट कर्मचारी र बजेट दुबै पठाएको प्रतिक्रिया दिए । सहायक कार्यकारी अधिकृतको दरबन्दी नै नभएको अवस्थामा किन कर्मचारी पठाईयो भन्ने प्रश्नमा उनले अहिले कर्मचारी समायोजन गर्ने समयमा दरबन्दी कुनैपनि पदमा नहुने स्पष्ट पारे ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८९ ले स्थानीय तहको माग बमोजिम नेपाल सरकारले उपयुक्त देखेमा आवश्यक कर्मचारी पठाउने सक्ने व्यवस्था गरेको छ । तर, महानगरपालिकामा चाहिने कर्मचारी भन्दा पनि अनावश्यक कर्मचारीहरु बढी थुपारेर महानगरपालिकाको आर्थिक व्ययभार बढाउने काम मात्रै गरिएको आरोप महानगरपालिकाका कर्मचारीहरुको छ ।

अहिले जिल्ला शिक्षा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय आदिले आफ्नो काम गरिरहेको भएपनि महानगरपालिकामा शिक्षाका कर्मचारी आईसकेका छन् । महानगरमै पनि अरु विषयगत मन्त्रालयका कर्मचारीहरुको अभाव रहेको भएपनि लेखाका कर्मचारीहरु भने अनावश्यक रुपमा थुपारिएको आरोप स्थानीय कर्मचारीहरुको छ । जसले पछिल्लो समय महानगरपालिकाको कार्य वातावरण नै विग्रिन थालेको छ ।

महानगरपालिकाका अनुसार अहिले विषयगत कार्यालय अन्तर्गत् पनि मालपोत कार्यालयले कर्मचारी पठाएको छैन । यस अघि २०५७ सालमा कर्मचारी समायोजन गर्दा स्थानीय तहमा केन्द्रीय कर कार्यालयहरुबाट आएका कर्मचारीहरुले केही दिन कार्यालयमा नै बसेर सबै काम गर्न आफैंले सिकाएर फर्किएका थिए । तर, अहिले केही विषयगत कर्मचारीहरु पठाएको भएपनि त्यसको कुनै फाईलहरु ल्याईएको छैन ।

अहिले यसरी आएका कर्मचारीहरु कहाँ बस्ने र कुन् जिम्मेवारी सम्हाल्ने भन्ने पनि केही निश्चित छैन । महानगरका एक कर्मचारी भन्छन् कति कर्मचारी त बाहिर बाहिरै हाँजिर गरेर निस्कने गरेका छन् । साना कर्मचारी भएपनि कतै कुनातिर व्यवस्थापन गरौं भन्न हुन्थ्यो हाकिमहरु आउँछन् । सानदार कोठा र गाडी खोज्छन् कसरी व्यवस्थापन गर्नु ?

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ