arrow

कार्यकारी अधिकृतलाई हाजिर गर्न नदिएर निमित्त कार्यकारी नै कुर्सीमा 

चारदिनको हाजिर एकैदिन गरेर फर्कन बाध्य

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
Solududhkunda_Nagarpalika.png

सल्लेरी । सोलुदूधकुण्ड नगरपालिका सोलुखुम्बुका कार्यकारी अधिकृत एकैदिन चार दिनको हाजिर गरेर पुनः मन्त्रालय फर्कन बाध्य भएका छन्। 

स्थानीय विकास मन्त्रालयको गत असोज ६ गते सचिवस्तरको बैठकले उपसचिव राजेश गिरीलाई सोलुदूधकुण्ड नगरपालिकाको कार्यकारी अधिकृतमा काज सरुवा गर्ने निर्णय गरेको थियो । 

सोही निर्णयअनुसार मन्त्रालयको असोज ८ गतेको पत्रका आधारमा गिरी यही कात्तिक ८ गते कार्यालयमा हाजिर हुन आए पनि नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले हाजिर हुन दिएनन्  । 

प्रमुख शेर्पाले आफू अनुकूलको कार्यकारी अधिकृत नभएको भन्दै हाजिर गर्न नदिएको कार्यकारी अधिकृत गिरीको आरोप छ । कार्यकारी अधिकृत आफ्नो कार्यालयमा हाजिर हुन आए पनि कार्यालयमा समेत प्रवेश गर्न दिइएको थिएन । 

कार्यालयमा केही युवासमेत परिचालन गरी आफूलाई धम्कीपूर्ण भाषामा कार्यालयमा हाजिर नभई फर्कन प्रमुख शेर्पाले दबाब दिएको अधिकृत गिरीको भनाइ छ । 

स्थानीय विकास मन्त्रालयका सचिव, मन्त्रीसहितको टेलिफोन वार्तापश्चात् नगरपालिकाका अधिकृत गिरीलाई पुनः मन्त्रालय काज बोलाउने टुंगो भएपछि हाजिर गर्न दिइएको छ । प्रमुखको कार्यकक्षमा बसेर कार्यकारी अधिकृतले चार दिनको हाजिर एकैदिन गरेर नगरपालिकाको पत्र बुझ्दै मन्त्रालय फर्कन बाध्य बनाइएको छ । 

नगरपालिकामा भेला भएका विभिन्न राजनीतिक दलका व्यक्ति, जनप्रतिनिधिसमेतको उपस्थितिमा सोमबार उनलाई हाजिर गराइएको हो । नगरपालिकामा जारी विवादका विषयमा बुझ्न सोमबार नगरपालिकाको कार्यालय पुगेका स्थानीयवासीलाई प्रमुख शेर्पाले गाली गर्न खोजेपछि तनाब उत्पन्न भएको थियो । 

प्रमुखको प्रस्तुतिलाई आपत्ति जनाउने स्थानीयवासीलाई प्रमुख शेर्पाले नेमप्लेट उचालेर हान्न खोजेपछि कार्यालयमा झनै तनाब बढेको थियो । उत्पन्न तनावलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । कार्यालयमा उपस्थित जनताले प्रमुखको कार्यशैलीप्रति आपत्तिसमेत जनाएका छन् । 

निमित्त कार्यकारी कुर्सीमा 

यता, स्थानीय विकास मन्त्रालयबाट काज सरुवाको पत्र आएपनि सोलुदूधकुण्ड नगरपालिकाकी निमित्त कार्यकारी अधिकृत इन्दिरा थापाले कार्यालय छाडेकी छैन्न । अधिकृत थापालाई असोज १ गते नै सरुवा गर्ने निर्णय भएपनि आजसम्म उनलाई भने रमाना दिइएको छैन । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ