arrow

कालीगण्डकी नदीमा जलयात्रा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
542637435.jpeg
रामपुर (पाल्पा)। बागलुङ जिल्लाको मालढुङ्गादेखि पाल्पा र स्याङ्जाको सिमाना राम्दीसम्म कालीगण्डकी नदीमा जलयात्रा गर्नका लागि उत्तम भए पनि जलविद्युत् परियोजनाका कारण अवरुद्ध जलयात्रा पुनः सञ्चालनमा आएको छ। जलयात्राका लागि त्रिशूली, भोटेकोसी नदीमा जानेका लागि लक्षित गरेर राम्दीदेखि धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा स्थापित देवघाटधामसम्म जलयात्राको सुरुवात भएको हो।
 
पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक रु १५ लाख लगानी गरेर चापाकोटका स्थानीय व्यवसायी राम कुँवरले झन्डै दुई महिना अगाडिबाट सुरुवात गर्नुभएको हो।
 
पहिलोपटक नदीमा जलयात्रा तथा र्‍याफ्टिङ १० किमीको दूरीमा सञ्चालन गरेको र निकट भविष्यमा प्याकेजका रुपमा राम्दीदेखि देवघाटसम्मको यात्रा सञ्चालन गर्दा यस क्षेत्रको धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास सँगसँगै प्रचारप्रसार हुने भएकाले यसको सुरुवात गरेको सञ्चालक कुँवर बताउनुहुन्छ ।
 
उहाँ भन्नुहुन्छ, “नयाँ कामको थालनी गर्दा सुरुका अवस्थामा वरपरका छिमेकीले आश्चर्य मानेका थिए, तर यतिखेर भने सबैले आवश्यकताको महसुस गरेको गर्छन् ।” एक वटा बोटबाट सुरुवात गरेको र एक पटकमा १५ जनासम्मले यात्रा गर्न सकिने सञ्चालक कुँवरले बताउनुभयो ।
 
पहिलोपटक जलयात्रा तथा र्‍याफ्टिङ गर्नुभएकी मीरा अर्याल भन्नुहुन्छ, “जलयात्राका लागि त्रिशूली र भोटेकोसी नदी मात्र हो भन्ने भ्रम अब तोडिएको छ, कालीगण्डकी नदीमा पनि र्‍याफ्टिङ हुँदो रहेछ भन्ने आफूले जलयात्रा गरेपछि राम्रो अनुभव लिन पाएको छु।” जलयात्राका लागि कालीगण्डकी नदीमा प्रचुर सम्भावना रहेको छ । यसका लागि प्रचारप्रसार भएको भएको खण्डमा यस क्षेत्रको विकासका लागि ठूलो सघाउ पुग्ने थियो ।
 
दश दिनसम्मको प्याकेज बनाएर देवघाटसम्म जलयात्रा हुन सक्दछ, पाल्पा स्याङ्जा जिल्लाका धार्मिक, पर्यटकी, सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न सकिने भएकाले पर्यटन विकास गर्ने उद्देश्यले यस क्षेत्रमा लगानी गरेको सञ्चालक राम कुँवरले बताउनुभयो। जलयात्रा तथा र्‍याफ्टिङ सुरुवात भएपछि १०० भन्दा बढी विदेशी पर्यटकले यात्रा गरेको र ३०० भन्दा बढी आन्तरिक पर्यटकले जलयात्रा गरिसकेको उहाँले बताउनुभयो।
 
पाल्पाको रामपुर नगरपालिका र स्याङ्जाको चापाकोट नगरपालिका सङ्गमस्थल हुँदै बग्ने कालीगण्डकी नदी जलयात्राका लागि प्रचुर मात्रामा सम्भावना बोकेकाले यसलाई राम्रोसँग उपयोग गर्न सकिएको खण्डमा विदेशी मुद्रा आर्जन गर्न सकिने रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताउनुभयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ