arrow

राहत लिन अंशबन्डा र नामसारीमा भिड

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
चौतारा। सिन्धुपाल्चोक मालपोत र नापी कार्यालयमा दुई महिनादेखि अंशबन्डा, नामसारीलगायत सरकारी सेवा लिन सेवाग्राहीको अत्यधिक भिड लाग्न थालेको छ । 
 
गत वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पबाट घर तथा गोठ पूर्ण रुपमा क्षतिग्रस्त भएपछि सरकारद्वारा दिइने राहत तथा अनुदान पाउने उद्देश्यले सेवाग्राहीको घुइँचो लागेको हो । यसअघि अंशबन्डाको काम बढीमा दैनिक तीन÷चार र नामसारी एक÷दुई मात्र हुने गरेकामा मङ्सिरदेखि अंशबन्डा दैनिक करिब ९० र नामसारी करिब २१ वटा हुने गरेको प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमिल्सिनाले बतउनुभयो । 
 
सेवाग्राहीले भूकम्पबाट घर भत्केर पुरिएको नागरिकता, जग्गा धनीपुर्जा, नामसारी, अंशबन्डा, किनबेच समेत पाँच÷सात वटा काम एकै चोटि लिएर आउने हुँदा कसैलाई एक हप्तासम्म लाग्ने गरेको प्रमुख तिमिल्सिनाको भनाइ छ । 
 
बाबु परलोक भएको धेरै समय बितिसके पनि भूकम्पपछि कानुनी रुपमा अंशबन्डाको प्रमाण पेस गरेपछि मात्र सरकारी सुविधा पाइने हुँदा साँगाचोक–४ का सोमबहादुर तामाङ मालपोत कार्यालयमा तीन दिनदेखि धाइरहेको बताउनुहुन्छ । 
 
तीन भाइको अंशबन्डाको लिखतसहित नामसारी गराउन ८३ वर्षीया आमा सेतीलाई लठ्ठीको सहाराले नभ्याएपछि दुई छोराले पाखुरामा समाई डोर्या‍एर कार्यालयमा लगेका थिए । “वृद्ध आमा हिँडडुल गर्न सक्नुहुन्न”–सोमबहादुरले निरास हुँदै भन्नुभयो, “खै आज त काम सकिएला कि ?” 
 
हिमाली क्षेत्रको पाङ्तान– ७ का ७६ वर्षीय प्रेमबहादुर न्यौपाने भने सात दिनसम्म सदरमुकाम बस्दा खर्चले समेत नधान्ने भएपछि पुर्जा नलिई घर फर्कनुभएको छ । आफ्ना चारभाइ छोरालाई बन्डापत्र गर्दा सात दिनमा काम सकिए पनि पुर्जा लिने काम अझै नसकिएकाले फेरि कुनै दिन आउने गरी घर फर्केको उहाँले बताउनुभयो । 
 
विसं २०६८ को जनगणनानुसार सिन्धुपाल्चोकमा ६६ हजार ६३५ घरधुरी रहेकामा भूकम्पपछि घर सङ्ख्या ८४ हजार ६१९ पुगेको छ । यसमा पनि कतिपयले छुटमा निवेदन दिएको हुँदा करिब तीन हजार निवेदनमाथि छानबिन हुन बाँकी रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ