arrow

सप्तरीमा पूर्वमन्त्रीसहित नौ निवर्तमान सांसद चुनावी मैदानमा

logo
अरुणकुमार यादव,
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
saptari-district.png

राजविराज ।  यही मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा एक पूर्वमन्त्रीसहित नौ निवर्तमान सांसदले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला मुख्य निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यका लागि पूर्वमन्त्रीसहित छ र प्रदेशसभा सदस्यका लागि तीन जना निवर्तमान सांसदले उम्मेदवारी दर्ता गराएका हुन् ।  सप्तरी क्षेत्र नं १ बाट वाम गठबन्धनका तर्फबाट नेकपा(माओवादी केन्द्र)का अशोक मण्डल, सोही क्षेत्रको प्रदेशसभा सदस्य १ (क)बाट नेपाली काँग्रेसका तर्फबाट डा सुबोध पोखरेल र वाम गठबन्धनका तर्फबाट नेकपा(एमाले)का सत्यनारायण मण्डलले उम्मेदवारी दिएका छन् ।

क्षेत्र नं २ बाट वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पूर्वसिंचाइमन्त्री उमेशकुमार यादव, फोरम– राजपा गठबन्धनबाट सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र काँग्रेसका तर्फबाट सकलदेव सुतिहारले उम्मेदवारी दिए । सोही क्षेत्रको प्रदेशसभा सदस्य १(क)बाट काँग्रेसका रञ्जित कर्णले समेत उम्मेदवारी दर्ता गराएका थिए ।

त्यसैगरी क्षेत्र नं ३ बाट वाम गठबन्धनका तर्फबाट एमालेका ताराकान्त चौधरी र क्षेत्र नं ४ बाट काँग्रेसका तर्फबाट वर्तमान युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले उम्मेदवारी दिएका छन् । यता प्रतिनिधिसभा सदस्यका लागि सप्तरी क्षेत्र नं २ मा समाजवादी फोरमका अध्यक्ष यादवले उम्मेदवारी दिए पनि सो क्षेत्रमा राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ