arrow

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमाथि सुन तस्करी मुद्दा

logo
प्रकाशित २०७४ कार्तिक १९ आइतबार
bhotekoshi.JPG

काठमाडौं । प्रहरीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा चलाएको छ । 

२२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । पौडेल फरार छन् । 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ परेका सात र फरार चारलाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो । पक्राउ परेकामध्ये एकजना पुर्पक्षका लागि जेल चलान भएका छन् भने ६ जना धरौटीमा छुटेका छन् ।

तस्करीमा संलग्न मुख्य नाइके चारैजना फरार छन् । सुनको लगानीकर्ता भोटेकोसी गाउँपालिकाका अध्यक्ष पौडेल भएको प्रहरी निष्कर्ष छ । 

त्यस्तै, न्युरोड क्षेत्रमा बसेर सुन र हुन्डीको कारोबार गर्ने रमेश खड्का, सुन्दर खड्का र कृष्ण खड्काविरुद्ध समेत प्रहरीले मुद्दा दायर गरेको छ । 

१४ किलो सुन शेर्पाको टोखास्थित डेराबाट तथा एक किलो धनुषाबाट बरामद भएको थियो । उनीहरूबाट भक्सवागन कार, ६ सय अमेरिकी डलर पनि बरामद गरेको थियो ।

पक्राउ परेका पेम्बा दोर्जे तस्करीका मुख्य सहयोगी हुन् । सो सुन एक चिनियाँको भएको र आफूले केही पैसा लिएर ओसारपसार एवं बिक्री मात्र गर्दै आएको बताएका छन् । 

पक्राउ परेका अन्य चारजना नेपालका विभिन्न सुन पसलदेखि भारतसम्म पुर्‍याएर तस्करीको सुन बिक्री गर्ने व्यक्तिहरू भएको प्रहरीले जनाएको छ । 

पेम्बा दोर्जेले आफ्नै कन्टेनरमा राखेर सो सुन रसुवा हुँदै काठमाडौं ल्याएका थिए । आफूले दुईपटक चीनबाट सुन ल्याएको उनले बताएका छन् ।

सम्पत्ति शुद्धीकरणमा अनुसन्धान 
तस्करीमा संलग्न सबैमाथि सिआइबीले सम्पत्ति शुद्धीकरणमा मुद्दामा अनुसन्धान अघि बढाएको छ । सुन तस्करीबाट अकुत पैसा कमाएको आशंकामा छानबिन सुरु गरिएको सिआइबीका निर्देशक डिआइजी पुष्कर कार्कीले बताए । 

धरौटीमा छुटेकालाई हिरासतमै राखेर प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान मुद्दामा अनुसन्धान अघि बढाएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर सिआइबीले अनुसन्धान अघि बढाएको हो ।

बरामद सुन १५ केजी, बिगोदाबी २२ केजीको
प्रहरीले १४ भदौमा रसुवाको केरुङ नाकाबाट भित्रिएको १५ किलो सुनसहित सातजनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये सिन्धुपाल्चोक भोटेकोसी घर भई टोखा बस्ने पेम्बा दोर्जे शेर्पा जेल चलान भएका छन् । प्रहरीले उनलाई पाँच वर्ष कैद र १० करोड ४६ लाख रुपैयाँ जरिवाना दाबी गरी मुद्दा दायर गरेको थियो ।

पक्राउ परेका भक्तपुरका दीपेन्द्र थापा, बानेश्वरका सरोज थापा, काभ्रेका विष्णु गौतम, भक्तपुरका राजेन्द्र खत्री, रविन खत्री र धनुषाका दीपककुमार साहलाई धरौटीमा छाड्ने आदेश दिएको हो । 

अनुसन्धानका क्रममा उनीहरूले २२ किलो सुन तस्करी गरेको खुलेको थियो । त्यसकारण प्रहरीले १५ किलो बरामद भए पनि २२ किलो सुन बराबरकै बिगो दाबी गरेको छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ